Paywear Banner Desktop
Paywear Banner Desktop

भारी हिमपात र वर्षाले जोमसोम-कोरला सडकखण्ड अवरुद्ध, कोरला नाका ठप्प

मुस्ताङ । अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । हिमपातका कारण कोरला नाका ठप्प भएको छ भने वर्षासँगै पहिरो खस्दा जोमसोम-कोरला सडकखण्ड अवरुद्ध भएको छ ।

शुक्रबार रातिदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिमपात भइरहेको प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले जानकारी दिए । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङदेखि तल्लो क्षेत्रमा पनि शुक्रबार रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ ।

भारी हिमपात र वर्षाका कारण मुस्ताङ भ्रमणमा रहेका पर्यटक, सर्वसाधारण तथा कोरला नाकामा मालसामान ढुवानीका लागि पुगेका कन्टेनर चालकलाई सुरक्षा सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

नेपाल–चीन सीमास्थित कोरला नाका र आसपासका क्षेत्रमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको लोमान्थाङ गाउँपालिका-४ न्हेचुङस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी)ले जनाएको छ ।

बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार हिमपातका कारण जोखिम बढेपछि कोरलातर्फको सडकमा सवारीसाधन तथा पर्यटकको आवागमन रोकिएको छ । न्हेचुङबाट कोरला नाका जाने र न्हेचुङबाट जोमसोम झर्ने भन्सार जाँचपास भइसकेका कन्टेनर तथा विद्युतीय सवारीसाधनलाई समेत आवागमन नगर्न भनिएको छ ।

मौसम सामान्य नभएसम्म नेपाल-चीन सीमा व्यापार तथा निकासी-पैठारी कारोबार सञ्चालन नगर्न अनुरोध गरिएको सशस्त्र प्रहरी निरीक्षक धितालले बताउनुभयो ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी गुरुङले शुक्रबार रातिदेखि सुरु भएको भारी हिमपात अझै जारी रहेको बताए । कात्तिक महिनामै पहिलोपटक यति बाक्लो हिमपात भएको हो । उपल्लो मुस्ताङका बस्ती, खर्क, पाटन र उच्च लेकका क्षेत्र हिउँले ढाकिएका छन् । हिमपातसँगै चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित भएको उनले बताए ।

यसैबीच, वर्षाका कारण जोमसोम-कोरला सडकखण्ड पनि अवरुद्ध भएको छ । घरपझोङ गाउँपालिका-४ जोमसोमदेखि माथिको सडक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!