(एपी)। चर्चित भिडियो गेम शृङ्खला ‘ग्रान्ड थेफ्ट अटो ६’ (जीटीए ६) ले सार्वजनिक भएको पहिलो दिनमै ३.७९ अर्ब अमेरिकी डलरको खुद्रा बिक्री गर्दै कीर्तिमान बनाएको छ।
गेम निर्माता कम्पनी रकस्टार गेम्सले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार बिहीबार सार्वजनिक भएको गेमले पहिलो दिनमै विश्वभर उक्त रकम बराबरको बिक्री गरेको हो। यसले १३ वर्षपछि आएको यो लोकप्रिय गेमको नयाँ संस्करणप्रति रहेको विशाल मागलाई देखाएको छ।
कम्पनीका अनुसार सार्वजनिक हुनुअघि नै विभिन्न प्लेटफर्ममा गेमका ३ करोड २५ लाख प्रति बिक्री भएका थिए। यो पनि कीर्तिमान हो।
रकस्टार गेम्सका अध्यक्ष तथा संस्थापक साम हाउजरले विज्ञप्तिमा भनेका छन्, ‘विश्वभरका खेलाडीबाट प्राप्त प्रतिक्रियाप्रति हामी अत्यन्त आभारी छौँ। यो क्षण तपाईँहरूसँग बाँड्न पाउँदा हामी निकै उत्साहित छौँ।’
अघिल्लो संस्करणभन्दा निकै ठूलो सुरुवात
‘जीटीए ६’ को सुरुवात यसअघिको संस्करण ‘ग्रान्ड थेफ्ट अटो ५’ (जीटीए ५) को तुलनामा निकै ठूलो देखिएको छ।
सन् २०१३ मा सार्वजनिक भएको ‘जीटीए ५’ ले पहिलो तीन दिनमा १ अर्ब अमेरिकी डलरको खुद्रा बिक्री गरेको थियो। प्रकाशक कम्पनी टेक–टु इन्टरएक्टिभका अनुसार उक्त गेम अहिलेसम्मकै सर्वाधिक बिक्री हुने भिडियो गेममध्ये एक बनेको छ।
विश्वभर बिक्री भएका जीटीए शृङ्खलाका ४७ करोडभन्दा बढी गेममध्ये २३ करोडभन्दा बढी प्रति ‘जीटीए ५’ का छन्।
यसअघि शुक्रबार बजार अनुसन्धान गर्ने कम्पनी सेन्सर टावरले ‘जीटीए ६’ का करिब २ करोड ४६ लाख प्रति बिक्री हुँदा २ अर्ब ३६ करोड अमेरिकी डलर आम्दानी भएको अनुमान सार्वजनिक गरेको थियो।
तर, रकस्टार गेम्सले पछि सार्वजनिक गरेको ३.७९ अर्ब डलरको तथ्याङ्क कम्पनीको आफ्नै अनुमानमा आधारित छ। यो विश्वव्यापी पहिलो दिनको खुद्रा बिक्रीको विवरण हो।
अमेरिकामा गेमको सामान्य संस्करणको मूल्य करिब ८० अमेरिकी डलर छ।
यसै महिनाको सुरुवातमा प्लेस्टेसनको ब्लगले ‘जीटीए ६’ आफ्नो स्टोरको इतिहासमै सबैभन्दा बढी अग्रिम अर्डर भएको गेम बनेको जनाएको थियो। अत्यधिक मागलाई ध्यानमा राख्दै प्लेस्टेसनले रकस्टार गेम्ससँग सहकार्य गरेर गेम सार्वजनिक हुनुभन्दा नौ दिनअघि नै डाउनलोड गर्न सकिने व्यवस्था गरेको थियो। यसले खेलाडीलाई सार्वजनिक भएकै दिन गेम खेल्न तयार हुन सहयोग गरेको थियो।
१३ वर्षको प्रतीक्षापछि नयाँ संस्करण
‘जीटीए ६’ अत्यधिक हिंसात्मक खुला संसारमा आधारित भिडियो गेम शृङ्खलाको नयाँ संस्करण हो। यस शृङ्खलाले न्युयोर्क र लस एन्जलसका काल्पनिक रूपमार्फत अमेरिकी संस्कृति र समाजमाथि व्यङ्ग्य गर्दै आएको छ। नयाँ संस्करणमा भने मियामीबाट प्रेरित काल्पनिक सहर भाइस सिटीमा कथा फर्किएको छ।
१३ वर्षपछि आएको यस संस्करणको कथा लुसिया कामिनोस र जेसन डुभालमा केन्द्रित छ। अपराधको माध्यमबाट आफ्नो जीवनस्तर सुधार्ने प्रयासमा रहेका यी दुई पात्रको कथा काल्पनिक राज्य लियोनिडामा अघि बढ्छ।
गेमका प्रारम्भिक समीक्षाहरूमा यसपटक हिंसात्मक लुटपाट, बैंक डकैती र अराजकताभन्दा पात्रहरूबीचको सम्बन्ध निर्माणलाई बढी महत्त्व दिइएको उल्लेख गरिएको छ। यस्ता गतिविधि यसअघि लामो समयदेखि यो गेम शृङ्खलाको मुख्य विशेषता रहँदै आएका थिए।
गेम सार्वजनिक भएसँगै यसका कलाकारबारे वर्षौंदेखि कायम गोपनीयता पनि अन्त्य भएको छ।
लुसियाको भूमिकामा मन्नी एल पेरेज र जेसनको भूमिकामा डिलन राउर्क छन्। यसबाहेक बबी मोयनिहान, स्टेफन रुट, ट्यारिन म्यानिङ, रोजलिन सान्चेज र र्यापर डेन्जेल करी पनि गेमका कलाकार तथा अन्य योगदानकर्ताको लामो सूचीमा समावेश छन्।
मनोरञ्जन उद्योगकै सबैभन्दा ठूलो ब्रान्डमध्ये एक बनेको यो गेम शृङ्खलाको नयाँ संस्करण एक दशकभन्दा लामो प्रतीक्षापछि सार्वजनिक भएको हो।