काठमाडौँ । सरकारले अमेरिकी सहायता परियोजना (एमसीसी) अन्तर्गतका आयोजनाको कार्यान्वयन हुने अवधि एकवर्ष थप गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले केही साताअघि नै मिलेनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गतका ती आयोजनाको म्याद थप्ने गर्ने निर्णय गरेको जनाइएको छ ।
यद्यपि, बैठकपछि सरकारका प्रवक्ताले गर्ने निर्णय सार्वजनिकीकरण (ब्रिफिङ)मा भने यसबारे उल्लेख गरिएको छैन । एक मन्त्रीले एमसीसीका आयोजनाको अवधि एकवर्ष थप्ने निर्णय भैसकेको कुरा संचारकर्मीलाई दिइसकेका छन् ।
यसका लागि थप खर्च नलाग्ने र आयोजनाको प्रभावकारी कार्यान्वयन अवधि पाँच वर्ष नै कायम रहने उनको भनाइ छ ।
म्याद थपका लागि एमसीए नेपालले पहल गर्दै आएको थियो । नेपालमा एमसीसी परियोजनाको बजेट ७४ करोड ७० लाख अमेरिकी डलर रहेको छ ।
एमसीसीअन्तर्गत ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण र पूर्व–पश्चिम महेन्द्र राजमार्गको एक खण्ड स्तरोन्नति गर्ने आयोजना छन्।
सरकारको उक्त निर्णय आगामी महिना बस्ने एमसीसी बोर्ड बैठकमा पेस गरिने भएको छ । बोर्डको अर्को बैठक डिसेम्बर ८ मा बस्दै छ भने अमेरिकी विदेशमन्त्री मार्को रुबियो एमसीसी बोर्डका अध्यक्ष छन्।
