काठमाडौं । कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा समूहले गर्न लागेको समानान्तर महाधिवेशन रोक्न निर्वाचन आयोगमा औपचारिक निवेदन दिने निर्णय गरेको छ ।
सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले पार्टीको नाम, झण्डा र चुनाव चिह्नको दुरुपयोग हुन नदिन आयोगमा जाने निर्णय गरेको हो ।
बैठकपछि महामन्त्री अजयबाबु शिवाकोटीले एउटै पार्टीको नाम र झण्डा प्रयोग गरेर समानान्तर गतिविधि भइरहेको भन्दै त्यसलाई रोक्न निर्वाचन आयोगमा औपचारिक निवेदन दिने निर्णय भएको जानकारी दिए ।
पार्टीको झण्डा र चुनाव चिह्नको सुरक्षाका लागि आवश्यक कारबाही गर्न आयोगसमक्ष पहल गर्ने निर्णय भएको उनले बताए ।
कांग्रेसले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९ मा रहेको व्यवस्थालाई आधार बनाएर निर्वाचन आयोगमा निवेदन दिन लागेको हो । उक्त दफामा दफा ४ बमोजिम दर्ता भएको दलको नाम, झण्डा र चिह्न अरू कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने व्यवस्था छ ।
कांग्रेसले यही कानुनी व्यवस्थाअनुसार आफ्नो पार्टीको नाम, झण्डा र चुनाव चिह्न प्रयोग गरेर समानान्तर महाधिवेशन गर्ने गतिविधि रोक्न आयोगसँग माग गर्न लागेको हो ।
