काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘ककाकिकी’ को ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकारलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै फैलिएको प्रचारबारे निर्माण पक्षले प्रहरीलाई स्पष्टीकरण पेश गरेको छ ।
सञ्चारमाध्यममा कलाकार पक्राउ परेको भन्दै सामग्री सार्वजनिक भएपछि निर्देशक बिक्की अग्रवालले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र लेख्दै त्यो वास्तविक पक्राउ नभई चलचित्रको प्रचारका लागि तयार पारिएको पूर्वयोजित काल्पनिक दृश्य मात्र भएको प्रस्ट पारेका हुन् ।
शनिबार आयोजित ट्रेलर रिलिज कार्यक्रमको अन्तिमतिर पत्रकारले प्रश्न सोधिरहेकै बेला अचानक चार–पाँच जना प्रहरी बर्दीसहितका व्यक्तिहरू हलभित्र प्रवेश गरेका थिए । उनीहरूले कार्यक्रम रोक्दै निर्देशक बिक्की अग्रवाल, कलाकारहरू गौरी मल्ल, मनोज गजुरेल र शिशिर वाङ्देललाई हातमा समातेर हल बाहिर राखिएको प्रहरी भ्यानमा राखेर लगेका थिए ।
त्यसबेला, आयोजकले फिल्म प्रचारका लागि सामग्री बनाएको जानकारी दिएपनि विभिन्न माध्यममा कलाकार पक्राउ परेको भिडियो भाइरल भएको थियो ।
यसै विषयलाई लिएर माया इन्टरटेनमेन्ट स्टुडियो प्रालिका तर्फबाट जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुखलाई पठाइएको पत्रमा सो दृश्य फिल्मको कथावस्तु अनुसार प्रचारप्रसारका लागि मात्र मञ्चन गरिएको उल्लेख छ ।
निर्देशक अग्रवालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “चलचित्रको छायाङ्कन तथा प्रचारप्रसारको सिलसिलामा प्रहरीसँग आवश्यक समन्वय र अनुमति लिई चलचित्रको कथावस्तु अनुसार कलाकारहरूलाई प्रहरीले नियन्त्रणमा लिई लगेको दृश्य तयार गरिएको व्यहोरा अनुरोध गर्दछु । उक्त दृश्य चलचित्रको कथामा समावेश रहेको घटनालाई जीवन्त रूपमा प्रस्तुत गर्ने तथा चलचित्रको प्रचारप्रसारलाई प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको हो ।”
निर्माण पक्षले सो दृश्यलाई वास्तविक प्रहरी कारबाहीको रूपमा नबुझिदिन आग्रह गरेको छ । घटनापछि उत्पन्न अन्योल र भ्रमप्रति सचेत रहेको जनाउँदै निर्माण टिमले आगामी दिनमा यस्ता प्रचार रणनीति अपनाउँदा सम्बन्धित निकायहरूसँग थप समन्वय गरी आवश्यक स्पष्टता अपनाउने प्रतिबद्धतासमेत पत्रमार्फत व्यक्त गरेको छ ।
फिल्मका मिडिया संयोजक गोपीकृष्ण चापागाइँले पनि सामाजिक सञ्जालमा देखिएका दृश्यलाई वास्तविक पक्राउका रूपमा नभई चलचित्रको प्रचार सामग्रीका रूपमा लिन आग्रह गरेका छन् ।
नयाँ प्रचारशैलीका नाममा गरिएको यो हर्कतलाई लिएर चलचित्र वृत्त र सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । यो चलचित्र ११ मंसिरदेखि प्रदर्शनमा आउँदैछ ।

