काठमाडौँ । चक्रवात ‘अर्नब’ कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि त्यसको प्रभावले नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ । मौसमविद् विनोद पोखरेलका अनुसार आज दिउँसोदेखि वर्षा सुरु हुने र भोलि भारी वर्षाको सम्भावना बढी छ ।
उनका अनुसार आज रातिदेखि शनिबार बिहानसम्म सतर्क रहनुपर्ने देखिएको छ । नेपालमा चक्रवातको प्रभावस्वरूप बादल देखिन थाले पनि बिहीबार बिहानसम्म वर्षा सुरु भइसकेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पनि आजदेखि चक्रवातको प्रभाव क्रमशः बढ्ने सम्भावना छ । महाशाखाले कार्तिक १२ देखि १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक(दुई स्थानमा पनि भारी वर्षा तथा हिमपात हुन सक्नेछ ।
मौसमविद् पोखरेलले हिजोको तुलनामा आजको पूर्वानुमानमा जोखिममा रहेका जिल्लाको संख्या घटे पनि न्यूनचापीय प्रणालीले ठूलो क्षेत्र ओगटेकाले माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखासँगको अन्तरक्रियाका कारण धेरै स्थानमा भारी वर्षा हुन सक्ने बताए ।
वर्षाको स्थान, समय र मात्रा परिवर्तन हुन सक्ने भएकाले नियमित मौसम अपडेट र आधिकारिक सूचनामा ध्यान दिन उनले आग्रह गरेका छन् ।
