पटना । भारतको बिहारमा विधायक अनन्त सिंहकी छोरी शिवांगी सिंहको विवाहमा लाखौँ मानिस सहभागी भएपछि १० किलोमिटरसम्म सवारी जाम भएको छ। अत्यधिक भीडका कारण विवाह समारोहमा आयोजित चर्चित घोडा दौड प्रतियोगिताको फाइनलसमेत स्थगित गरिएको छ।
बिहारको पूर्वी पटना जिल्लास्थित अनन्त सिंहको पुर्ख्यौली गाउँ नदवानमा बुधबार विवाह समारोह आयोजना गरिएको थियो। बिहार र झारखण्डका विभिन्न स्थानबाट मानिसहरू विवाह हेर्न तथा घोडा दौडको प्रतिस्पर्धा अवलोकन गर्न पुगेका थिए।
गाउँसम्म पुग्ने दुई लेनको सडक र बेगुसराय-पटना चार लेनको राजमार्गमा समेत सवारीसाधनको चाप अत्यधिक बढेको थियो। विवाहमा सहभागी हुन आएका र फर्किंदै गरेका मानिस तथा सवारीसाधन एउटै सडकमा जम्मा भएपछि आवागमन ठप्प भएको थियो।
भीड यति धेरै थियो कि घोडा दौड हेर्न केही दर्शक विद्युत् प्रसारणका टावरमा समेत चढेका थिए। आयोजकले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै प्रतियोगिताको फाइनल रोक्ने निर्णय गरेका हुन्।
बिहारका विधानसभा सभामुख प्रेम कुमारको सवारी टोलीसमेत ट्राफिक जाममा परेको थियो। अनन्त सिंहको विधानसभा सदस्यता सम्बन्धी निर्णयमा सभामुखको भूमिका रहने भएकाले उनको उपस्थितिलाई पनि चासोका साथ हेरिएको थियो।
बिहारमा ‘छोटे सरकार’ र ‘दादा’ उपनामले परिचित अनन्त सिंहले छोरीको विवाहमा सबैलाई खुला निमन्त्रणा दिएका थिए। ठूलो संख्यामा मानिस सहभागी हुने अनुमान गर्दै उनले चार लाखभन्दा बढीलाई खाना खुवाउने व्यवस्था गरेका थिए। विवाह समारोहको प्रमुख आकर्षणका रूपमा घोडा दौड प्रतियोगिता आयोजना गरिएको थियो, जसको विजेतालाई महिन्द्रा थार गाडी दिने घोषणा गरिएको थियो।
विवाहको तयारी केही सातादेखि भइरहेको थियो। यसै साता भएको बेमौसमी वर्षाले तयारीमा केही असर पुर्याएको थियो। तर बुधबार नदवानमा जम्मा भएको अत्यधिक भीड आयोजकका लागि सबैभन्दा ठूलो चुनौती बन्यो।
यद्यपि ट्राफिक जामका कारण विवाहको जन्ती निर्धारित समयभन्दा ढिलो पुगेको थियो। पश्चिमी पटनाको दानापुरबाट निस्किएको बेहुला ऋषिकेश कुमारको जन्ती बुधबार राति करिब १० बजे नदवान पुगेको थियो। सभामुख प्रेम कुमार पनि विवाहस्थल पुगेका थिए।
अनन्त सिंहको विवाह समारोहमा उत्तर प्रदेशका पूर्वभाजपा सांसद बृजभूषण शरण सिंहसहित विभिन्न राजनीतिक व्यक्तित्व सहभागी भएका थिए।

१० किलोमिटर जाम, सडकमा भीडको चाप
बिहार तकका पत्रकार अनिकेत कुमारका अनुसार बुधबार दिउँसो नदवान पुग्ने सडकमा १० किलोमिटरभन्दा लामो जाम भएको थियो। उनी आफैँ पनि भीडमा फसेका थिए।
अनन्त सिंहको घरबाट करिब पाँच किलोमिटर टाढा पुग्दा नै अवस्था भागदौड हुन सक्ने जस्तो बनेको उनले बताएका छन्।
‘म यो भीडमा करिब पाँच किलोमिटर हिँडिसकेको छु। अब थप अगाडि जाने आँट छैन,’ उनले भनेका थिए।
विवाहमा सहभागी हुन जाने र फर्किने मानिस एउटै सडकमा जम्मा हुँदा पैदलयात्री र सवारीसाधन दुवैको आवागमन ठप्प भएको थियो।
‘यो भागदौडको अवस्थाभन्दा कम छैन। म उभिएको ठाउँबाट समेत अगाडि बढ्न सकेको छैन,’ कुमारले भनेका थिए। पटना-बेगुसराय राजमार्ग पुग्न आफूले एक घण्टादेखि प्रयास गरिरहेको उनले बताएका थिए।
आफूले पार गरेको सडकखण्डमा कुनै पनि प्रहरी कर्मचारी नदेखेको पनि उनले उल्लेख गरेका थिए।
यसैबीच, बिहार विधानसभा सभामुख प्रेम कुमारको सवारी टोली पनि जाममा परेको थियो। दानापुरबाट निस्किएको बेहुलाको जन्ती बुधबार राति करिब १० बजे मात्रै नदवान पुगेको थियो।
अनन्त सिंहलाई राजनीतिक र कानुनी चुनौती
छोरीको विवाहको तयारी भइरहेका बेला अनन्त सिंह राजनीतिक र कानुनी चुनौतीमा समेत परेका छन्।
मुख्यमन्त्री नितिश कुमार नेतृत्वको जनता दल युनाइटेड (जेडीयू) ले अनन्त सिंह र उनकी पत्नी तथा पूर्वविधायक नीलम देवीलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ।
बिहार विधान परिषद्को निर्वाचनमा जेडीयूका उम्मेदवार नीरज कुमारविरुद्ध जनसुराजका उम्मेदवार अनुज कुमार सिंहको पक्षमा प्रचार गरेको भन्दै पार्टीले उनीहरूलाई निष्कासन गरेको हो।
त्यसपछि जेडीयूले दलत्यागसम्बन्धी कानुनअन्तर्गत अनन्त सिंहको विधानसभा सदस्यता खारेज गर्न माग गरेको थियो। त्यसक्रममा विधानसभा सचिवालयले नोभेम्बर २ मा उनलाई कारण देखाऊ सूचना जारी गरेको थियो।
अर्कोतर्फ, सर्वोच्च अदालतले अक्टोबर ३० मा दुलारचन्द यादव हत्या प्रकरणमा अनन्त सिंहलाई दिइएको जमानत रद्द गर्दै डिसेम्बर १ भित्र आत्मसमर्पण गर्न निर्देशन दिएको थियो।
जनसुराजका समर्थक यादवको सन् २०२५ अक्टोबरमा बिहार विधानसभा निर्वाचनको प्रचारका क्रममा हत्या भएको थियो। उक्त निर्वाचनमा अनन्त सिंहले जेलबाटै चुनाव लडेका थिए र जितेका थिए।
घोडा दौड हेर्न एक लाखभन्दा बढी दर्शक

विवाह समारोहको मुख्य आकर्षण मानिएको घोडा दौड प्रतियोगिता हेर्न एक लाखभन्दा बढी दर्शक पुगेको आज तकले जनाएको छ।
प्रतियोगिता हेर्न दर्शकको अत्यधिक उत्साह देखिएको थियो। राम्रो दृश्य देख्नका लागि कतिपय मानिस विद्युत् प्रसारणका टावरमा समेत चढेका थिए।
बिहार तकका अनुसार पहिलो चरणको दौडमा ३५ नम्बरको कालो घोडा विजयी भएको थियो। उक्त घोडाले सेमिफाइनल पनि जितेको थियो। दोस्रो चरणमा भने २७ नम्बरको घोडा विजयी भएको थियो। दोस्रो चरणमा अनन्त सिंहको घोडा पछाडि परेको देखिएको थियो।
प्रतियोगिताका क्रममा अनन्त सिंह र उत्तर प्रदेशका पूर्वभाजपा सांसद बृजभूषण शरण सिंह सँगै दौडस्थल पुगेका थिए।
तर दर्शकको अत्यधिक भीड र सुरक्षासम्बन्धी चिन्ता बढेपछि आयोजकले प्रतियोगिता रोकेर मैदान खाली गराउन थालेका थिए। प्रतियोगिताको फाइनल बिहीबार, नोभेम्बर २६ का लागि सारिएको छ।
प्रतियोगिताको विजेताले महिन्द्रा थार गाडी पाउनेछ। पहिलो उपविजेतालाई मोटरसाइकल र दोस्रो उपविजेतालाई स्कुटर पुरस्कार दिने घोषणा गरिएको छ।
५०० भान्से, ३०० खाना पकाउने स्थान
विवाहमा खानपानको तयारी पनि निकै ठूलो स्तरमा गरिएको थियो। अनन्त सिंहका अनुसार चार लाखभन्दा बढी मानिसलाई खाना खुवाउने व्यवस्था मिलाइएको थियो।
आज तकका अनुसार भोज तयार गर्न करिब ५०० भान्से र कामदार खटिएका थिए। खाना पकाउन ३०० भन्दा बढी स्थानको व्यवस्था गरिएको थियो।
शाकाहारी परिकारको सूचीमा मिठाईलाई विशेष प्राथमिकता दिइएको थियो। रसगुल्ला, गुलाब जामुन, राजभोग, कालाजामुन, मालपुवा, जिलेबी, गाजरको हलुवा र मखाना खीरसहित कम्तीमा आठ प्रकारका मिठाई राखिएका थिए।
बिहारको चर्चित लिट्टी-चोखासँगै चाट, गोलगप्पा, आलु टिक्की, डोसा, चिल्ला र चाउमिन पनि भोजमा समावेश थिए।
त्यस्तै, कश्मीरी पुलाउ, चार प्रकारका तरकारी तथा लच्छा पराठा र रुमाली रोटीलगायत भारतीय रोटीका परिकार पनि राखिएका थिए।
घोडा दौड, न्युजिल्यान्ड, चीन र थाइल्यान्डबाट ल्याइएका फूलले सजाइएको जयपुरको दरबारबाट प्रेरित विवाह मण्डप तथा विशिष्ट र सर्वसाधारण पाहुनाका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको थियो।
छोरी शिवांगीको विवाहलाई भव्य बनाउन अनन्त सिंहले कुनै कसर बाँकी राखेका थिएनन्। तर सबैलाई खुला निमन्त्रणा दिँदा अपेक्षाभन्दा धेरै मानिस पुगेपछि उनको विस्तृत तयारीसमेत भीड व्यवस्थापनका लागि पर्याप्त हुन सकेन।
हजारौँ मानिस नदवान प्रवेश गर्न र बाहिरिन संघर्ष गरिरहेका बेला बेहुला ऋषिकेश कुमार भने बुधबार राति जन्तीसहित गाउँ पुग्न सफल भएका थिए।
