काठमाडौं । आगामी मंसिर ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘जलाकी’को ट्रेलरले दर्शकमाझ राम्रो चर्चा पाएको छ। ट्रेलर सार्वजनिक भएलगत्तै यसले सामाजिक सञ्जाल र युट्युबमा दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। युट्युबको मुभिज ट्रेन्डिङ सूचीमा समेत छैटौँ स्थानमा पुगेको छ।
ट्रेलर हेरेपछि धेरै दर्शकले निर्देशक अशोक थापा मगरको अघिल्लो सफल फिल्म ‘खुस्मा’को झल्को पाएको प्रतिक्रिया दिएका छन्। ‘खुस्मा’मा जस्तै यसमा पनि मगर समुदायको मौलिक संस्कृति, ग्रामीण परिवेश र भावनात्मक प्रेमकथा समेटिएको छ। यही कारण दर्शकले यसलाई यस वर्षका प्रतीक्षित प्रेमकथात्मक फिल्ममध्ये एकका रूपमा हेरेका छन्।
विशेषगरी मुख्य कलाकार उपासनासिंह ठकुरी र सोनम तोप्देनको जोडीलाई दर्शकले रुचाएका छन्। ट्रेलरमा देखाइएको उनीहरूबीचको कलेज रोमान्स र आपसी केमेस्ट्रीले दर्शकको ध्यान खिचेको छ। यसै सिनेमाबाट नेपाली रजतपटमा डेब्यू गरेकी सहारा हाङमा लिम्बुको अभिनयले पनि चर्चा पाउन थालेको छ। पहिलो सिनेमा भए पनि ट्रेलरमा देखिएको उनको स्वाभाविक अभिनय र पर्दामा उपस्थितिले दर्शकको ध्यान तानेको छ।
पोखरा, म्याग्दी र रोल्पाका दृश्य समेटिएको ट्रेलरमा सोनम र उपासनाबीचको कलेज जीवन, कक्षाकोठा र पुस्तकालयका आत्मीय पलसँगै पछिल्लो समय आउने विछोड र भावनात्मक उतारचढावलाई प्रस्तुत गरिएको छ।
ट्रेलर सार्वजनिक हुनुअघि सिनेमाका तीन गीत ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ तथा टिजरले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका थिए।
फिल्मको शीर्षक ‘जलाकी’ले मगर समुदायमा आस्था र स्मृतिको प्रतीक मानिने परम्परागत ढुङ्गाको स्तम्भलाई जनाउँछ। निर्देशक मगरले यसलाई फिल्ममा प्रेम र विश्वासको बलियो आधारका रूपमा प्रस्तुत गरेका छन्।
उपासना, सोनम र सहारासँगै फिल्ममा शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायतले अभिनय गरेका छन्। क्याप्टेन विजय लामा विशेष भूमिकामा देखिनेछन्। बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर छन्।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर ९बबिता राना०, मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन्।
सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन्।