Paywear Banner Desktop
Paywear Banner Desktop

सिक्किमको पाल्जोर स्टेडियममा गुञ्जिँदै हुँदै ‘नेपथ्य’

सिक्किमका पहाडमा पनि झ्याउरे, दोहोरी, सेलो, मारुनी, चुट्का र सोरठीजस्ता भाकाहरू गुन्जने गरेका छन् । त्यहाँ पालाम गाउने, च्याब्रुङ बजाउने र नाच्ने पनि गरिन्छ ।

काठमाडौँ । लोकरक ब्यान्ड ‘नेपथ्य’ सिक्किमको राजधानी गान्तोकमा हुने प्रस्तुतिको तयारीमा जुटेको छ । त्यहाँस्थित पाल्जोर स्टेडियममा यसै अक्टोबर ३१ (कात्तिक १४) मा ब्यान्ड गुन्जन लागेको छ ।

सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो । भारतको ८० औं गणतन्त्र दिवसको मुख्य समारोहकै बीच मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले कन्सर्टको टिकट र यसै आयोजनालाई केन्द्रित गरेर तयार पारिएको नेपथ्य अङ्कित टिसर्ट सार्वजनिक गरेका थिए ।

नेपथ्य सिक्किममा चौंथो पटक प्रस्तुत हुन लागेको हो । राजधानीकै मुख्य स्टेडियममा आयोजना हुन लागेको हिसाबले कन्सर्ट भव्य र सिक्किममा नेपथ्यको उपस्थितिका हिसाबले विशेष हुने विश्वास आयोजकले लिएका छन् । निकै अघिदेखि फुटबल प्रतियोगिता आयोजना हुँदै आएको पाल्जोर स्टेडियम तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलामद्वारा उद्घाटन गराएर बहुउद्देश्यीय स्टेडियमका रूपमा विकास गरिएको हो ।

‘कन्सर्ट आयोजनादेखि साधनस्रोतसम्म जुटाउन चौतर्फी हिसाबले व्यापक तयारी अघि बढिसकेको छ,’ आयोजक पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्कका विकेश कायस्थले प्रतिक्रिया दिए, ‘मैदानको व्यवस्थापन र सुरक्षालाई विशेष प्राथमिकतामा राखेका छौँ ।’

सिक्किमवासीले पछिसम्मै याद राख्ने हिसाबले कन्सर्टको तयारी भइरहेको उनले जानकारी दिए । हिमाली राज्यको सुन्दरताको प्रवर्धन र तन्नेरी पुस्ताको मनोबल उकास्ने अवसरका हिसाबले पनि कन्सर्टलाई अघि बढाइएको उनको भनाइ छ ।

कार्यतालिका अनुसार ३१ तारिखको बेलुकी ठीक ५ बजे पाल्जोर स्टेडियमका ढोकाहरू खुला गरिनेछन् भने बेलुकी ठीक ७ बजे कन्सर्ट सुरु हुनेछ ।

सिक्किममा नेपाली, भुटिया र लेप्चा लोक परम्पराबाट विकास भएका सङ्गीत आम रूपमा प्रचलित छन् । नेपालमा जस्तै मादल, सारङ्गी, डम्फु, टुङ्नादेखि नौमतीसम्मका वाद्ययन्त्रको व्यापक प्रयोग गर्ने त्यहाँको समाजले तामाङ सेलो सर्वाधिक रुचाउँछ । सिक्किमका पहाडमा पनि झ्याउरे, दोहोरी, सेलो, मारुनी, चुट्का र सोरठीजस्ता भाकाहरू गुन्जने गरेका छन् ।

त्यहाँ पालाम गाउने, च्याब्रुङ बजाउने र नाच्ने पनि गरिन्छ । नेपालसँग ठ्याक्कै मिल्ने गरी रोपाइँदेखि मेलापात र चाडपर्व सङ्गीतकै भाकामा सम्पन्न हुँदै आएका छन् ।

यस्तोमा नेपालका ग्रामीण भेगहरू डुलेर सङ्कलन गरिएका नेपथ्यका गीतहरूलाई सिक्किमका श्रोताले धेरै पहिलेदेखि मन पराउँदै आएका छन् । त्यहाँका रेडियोहरूमा नेपथ्यका गीतहरू उत्तिकै घन्किने गरेका छन् । कन्सर्टका निम्ति पुगेका बेला गायक अमृत गुरुङका अन्तर्वार्ता पनि बज्ने गरेका छन् ।

‘सिक्किमका रेडियोमा बज्ने नेपथ्यका गीतहरू सुनेर प्रभावित श्रोताले पठाउने गरेका मायालु सन्देश मैले बेलाबेला पाउने गरेको छु,’ ब्यान्डका अगुवासमेत रहेका गायक अमृत भन्छन्, ‘यो पाला रङ्गशालामै आयोजना हुन लागेको कन्सर्टलाई लिएर उत्साहपूर्ण समाचारहरू प्राप्त भइरहँदा हौसला झनै बढेको छ ।’

अमृतका अनुसार नेपथ्य ब्यान्डको स्थापनालगत्तै सबैभन्दा पहिले कन्सर्टका लागि निम्तो दिनेमा सिक्किम-दार्जिलिङ भेगकै दर्शक थिए।

‘अन्तर्राष्ट्रिय भेन्युदेखि साना गाउँहरूसम्म ब्यान्डलाई उत्तिकै स्तरमा प्रस्तुत गर्ने काम केही वर्षदेखि सफलतापूर्वक सम्पन्न हुँदै आएको छ,’ ब्यान्डलाई प्रवर्धन एवं परिचालन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘एक महिनायता मात्रै दक्षिण कोरिया, दुबई र काठमाडौँको भव्य आयोजनाका बीच दर्शकबाट जेजस्तो उत्साहप्रद प्रतिक्रिया पाएका थियौँ, त्यस्तै प्रतिक्रिया सिक्किममा पनि पाउने विश्वास लिएका छौँ ।’

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

सिक्किमपछि नेपथ्य पूर्वी नेपालका दुई सहरमा प्रस्तुत हुनेछ । कात्तिक १८ मा इटहरी र कात्तिक २१ मा झापाको चारआलीमा नेपथ्यले लोकरक गुन्जाउनेछ । तिहारपछि ब्यान्डले फेरि मुलुकका चार साना तथा मझौला सहरको साङ्गीतिक यात्रा गर्नेछ । त्यसपछि नेपथ्यले डिसेम्बरमा अस्ट्रेलियाको यात्रा गर्ने छ ।

यी सबै कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने बन्दोबस्त मिलाएको छ । नेपथ्यको वेबसाइट धधध।लभउबतजथब।अयm।लउ बाट आफ्नो सिट सुरक्षित बनाउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया १

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!