भक्तपुर । यहाँको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारलाई शुक्रबार दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।
होल्डर सेन्टरमा सूचना टाँस्दै प्रशासनले विस्थापित परिवारलाई तोकिएको समयभित्र बाहिरिन निर्देशन दिएको हो ।
‘होल्डिङ सेन्टर खाली गर्नेसम्बन्धी सूचना’ शीर्षकमा जारी सूचनामा काठमाडौं उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीबाट विस्थापित भई कृषि विकास बैंकको तालिम केन्द्र, बोडेमा बसिरहेका परिवारको विषय उल्लेख छ । प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर रहेको उक्त सूचना भूमि समस्या समाधान समिति, काठमाडौंले ९ मंसिर (बुधबार) मा पठाएको पत्रका आधारमा जारी गरिएको हो ।
होल्डिङ सेन्टरमा आश्रित विस्थापित गिर्वाणिका थापाका अनुसार बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालय भक्तपुरको टोली सेन्टरमा पुगेर सूचना टाँसेको थियो । टोलीसँग केहीबेर छलफल भए पनि आफूहरूलाई अन्यत्र जाने व्यवस्था नभएको उनले बताइन् ।
प्रशासनले जारी गरेको सूचनामा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय तहबाट प्राप्त विवरणका आधारमा केही परिवारका घरमूली वा सदस्यको नाममा जग्गा देखिएको उल्लेख छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२क र ५२ख अनुसार त्यस्ता ७ परिवार भूमिहीनको सूचीमा नपर्ने सूचनामा जनाइएको छ ।
त्यस्तै, जग्गा नदेखिएका १२ परिवारका हकमा सम्बन्धित स्थानीय तहमा जग्गा उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाइएको र त्यसको निस्सा प्राप्त भइसकेको प्रशासनको भनाइ छ । ती परिवारलाई सम्बन्धित स्थानीय तहबाट प्राप्त निस्सा लिएर होल्डिङ सेन्टर छाड्न सूचनामा भनिएको छ ।
‘जग्गा नदेखिएका परिवारका हकमा नेपाल सरकारले घरभाडास्वरूप तोकिदिएको सुविधासमेत बुझिलिनु हुन अनुरोध छ,’ सूचनामा उल्लेख छ ।
बोडेको होल्डिङ सेन्टरमा थापाथलीबाट ल्याइएका १९ परिवारका ५९ जना बसिरहेका छन् । तीमध्ये १७ जना बालबालिका छन् ।
थापाथली, मनोहरा र सिनामंगललगायतका नदी किनारका बस्तीमा गत १२ वैशाखमा डोजर चलाइएको थियो ।
त्यसपछि विस्थापित भएका परिवारलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ । विस्थापित परिवारका अनुसार त्यसबेला सरकारले १५ दिनभित्र वैकल्पिक व्यवस्था गर्ने प्रतिबद्धता जनाएको थियो । तर, ८ महिना बितिसक्दा पनि उनीहरूले पुनःस्थापनाको टुंगो पाएका छैनन् ।
