काठमाडौं । युरोपियन युनियन फिल्म महोत्सवको १५औँ संस्करण काठमाडौं र जनकपुरमा आयोजना हुने भएको छ। महोत्सवमा ११ देशका २९ फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ।
नेपालस्थित युरोपियन युनियनले आयोजना गर्ने महोत्सव काठमाडौंमा नोभेम्बर २१ र २२ तथा जनकपुरमा नोभेम्बर २८ र २९ मा सञ्चालन हुनेछ।
काठमाडौंमा क्यूएफएक्स छाया सेन्टरमा आयोजना हुने महोत्सवको औपचारिक उद्घाटन शुक्रबार हुनेछ । जनकपुरमा भने नोभेम्बर २७ मा उद्घाटन समारोह आयोजना गरी गिरिजा चलचित्र मन्दिरमा फिल्म प्रदर्शन सुरु गरिनेछ।
महोत्सवमा १२ वटा युरोपेली फिचर फिल्म, ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्ट्स (बाफ्टा) का ६ वटा छोटा फिल्म, नेपाली विद्यार्थीका ९ फिल्म, इन्सेसन्ट रेनको नेपाली एनिमेटेड छोटो फिल्म र नेपाली फिचर फिल्म ‘एलिफेन्ट्स इन द फग’ प्रदर्शन गरिनेछ।
प्रदर्शन हुने युरोपेली फिचर फिल्ममा लक्जेम्बर्गका ‘अ बोट इन द गार्डेन’ र ‘ब्रेथिङ अन्डरवाटर’, आयरल्यान्डका ‘फोर मदर्स’ र ‘अ क्वाइट लभ’, डेनमार्क, जर्मनी, चेक गणतन्त्र र बेलायतको संयुक्त निर्माण ‘मिस्टर नोबडी अगेन्स्ट पुटिन’, फिनल्यान्डको ‘लङ गुड थर्सडे’, फ्रान्सको ‘राइड अवे’ तथा अस्ट्रियाको ‘रोज’ छन्।
त्यस्तै, आयरल्यान्ड, लक्जेम्बर्ग र फ्रान्सको संयुक्त निर्माण ‘वुल्फवाकर्स’, जर्मनीका ‘२२ लेन्थ्स’ र ‘साइलेन्ट फ्रेन्ड’ तथा स्पेन र फ्रान्सको संयुक्त निर्माण ‘सिरात’ पनि महोत्सवमा देखाइनेछ।
बाफ्टा सर्ट्स शोकेसअन्तर्गत ‘दिस इज इन्डोमेट्रिओसिस’, ‘टु ब्ल्याक ब्वाइज इन प्याराडाइज’, ‘म्यागिडरजफर’, ‘सोल्स्टिस’, ‘कार्डबोर्ड’ र ‘नोस्टाल्जी’ प्रदर्शन हुनेछन्।
नेपाली विद्यार्थी फिल्मतर्फ ‘अ म्याटर अफ च्वाइस’, ‘पाथ टु प्रस्पेरिटी’, ‘सीमा’, ‘रुमानी सपना’, ‘छट्टी’, ‘मितक्पा’, ‘मेमोरी रिस्टोर स्टेसन’, ‘अ लेटर इन विन्टर’ र ‘द बस टु बागबजार’ समावेश छन्। इन्सेसन्ट रेनको नेपाली छोटो फिल्म ‘क्ले बर्ड’ पनि प्रदर्शन गरिनेछ।
नेपाली फिचर फिल्म ‘एलिफेन्ट्स इन द फग’ भने जनकपुरमा मात्रै प्रदर्शन हुनेछ।
महोत्सवसँगै फिल्म र सांस्कृतिक विषयमा छलफल कार्यक्रम पनि आयोजना गरिनेछ। काठमाडौंमा नोभेम्बर २१ मा ‘द फिल्म्स वी वर नट सपोज्ड टु वाच’ शीर्षकमा प्यानल छलफल हुनेछ। शशांक श्रेष्ठले सहजीकरण गर्ने छलफलमा विश्वास तिम्सिना, इशा थापा, आस्था श्रेष्ठ र एलेना गुरुङ सहभागी हुनेछन्।
छलफलमा हलिउड, बलिउड, कोरियन ड्रामा, प्रतिबन्धित फिल्म तथा अनलाइन स्ट्रिमिङमा उपलब्ध सामग्रीले प्रेम, लैंगिकता, संस्कृति र सम्बन्धबारे मानिसको बुझाइमा पारेको प्रभावबारे चर्चा गरिने आयोजकले जनाएको छ।
जनकपुरमा नोभेम्बर २८ मा नेपाली विद्यार्थी फिल्म प्रदर्शनका तीन विजेता फिल्मकर्मीसँग छलफल हुनेछ। उनीहरूले आफ्नो सिर्जनात्मक यात्रा, फिल्म निर्माण प्रक्रिया र नेपाली फिल्म उद्योगमा काम गर्दाका अनुभव सुनाउने कार्यक्रम रहेको छ।
यसअघि काठमाडौंमा अक्टोबर ३१ र नोभेम्बर १ मा युवा फिल्मकर्मीका लागि प्रतिलिपि अधिकार, बौद्धिक सम्पत्ति, फिल्म सम्झौता, वितरण तथा इजाजतपत्र र अनुदान सम्झौतासम्बन्धी कार्यशाला आयोजना गरिएको थियो। प्रियञ्जना भट्टराईले सहजीकरण गरेको कार्यशालामा शान्ता नेपाली अतिथि वक्ताका रूपमा सहभागी भएकी थिइन्।
महोत्सवका युरोपेली फिल्महरू शिक्षाविद् प्रज्ञान थापा घिमिरे र फिल्मकर्मी प्रज्ञा डंगोलले छनोट गरेका हुन्। नेपाली विद्यार्थी फिल्मको छनोट प्रभात गुरुङ, सुजना श्रीष र रजिला श्रेष्ठ सम्मिलित निर्णायक मण्डलले गरेको आयोजकले जनाएको छ।
नेपालका लागि युरोपेली संघका राजदूत चार्ल्स ह्वाइटलीले महोत्सवले युरोपेली तथा नेपाली फिल्मकर्मीको सिर्जनशीलता प्रस्तुत गर्ने, नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने र सांस्कृतिक संवादका अवसर सिर्जना गर्ने बताएका छन्।
महोत्सवले युरोपेली र नेपाली सिनेमाबीचको सम्बन्ध विस्तार गर्नुका साथै नेपाली दर्शकलाई विभिन्न देशका फिल्म र नयाँ कथासँग परिचित गराउने आयोजकको उद्देश्य छ।
