काठमाडौं । सरकारले सञ्चारगृहभित्रै प्रहरी परिचालन गरी पत्रकारलाई पक्राउ गरेको र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको विरोधमा पत्रकार महासंघका पूर्वपदाधिकारीले शनिबार काठमाडौँको माइतीघर मण्डलामा मौन धर्ना दिने भएका छन् ।
स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि शनिबार बिहान ८ बजेदेखि ९ बजेसम्म एक घण्टा माइतीघर मण्डलामा मौन धर्ना कार्यक्रमको आह्वान गरिएको हो। उक्त धर्नामा सहभागी हुन सम्पूर्ण पत्रकार, नागरिक समाज, मानवअधिकारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधरहरूलाई पूर्वपदाधिकारीहरूले हार्दिक आह्वान गरेका छन् ।
विज्ञप्ति जारी गर्दै महासंघका पूर्वपदाधिकारीले सञ्चार माध्यमको समाचार कक्षमै पुगेर त्रास सिर्जना गर्ने र पत्रकारहरूलाई धमाधम नियन्त्रणमा लिने सरकारको कदमप्रति घोर आपत्ति जनाएका छन् ।
प्रहरीले विश्वमणि सुवेदीसहितका केही पत्रकारलाई कार्यालयबाटै पक्राउ गरेको थियो । केही पत्रकारलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी परिचालन गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
सरकारको यो शैलीलाई ‘नव तानाशाही’ र शाहीकालीन व्यवहारको संज्ञा दिँदै पूर्वपदाधिकारीहरूले पक्राउ परेका पत्रकारहरूलाई तत्काल रिहा गर्न र सञ्चार जगतलाई आतंकित नबनाउन माग गरेका छन् ।
प्रकाशित समाचारप्रति असहमति भए प्रेस काउन्सिल वा अदालत जाने वैधानिक बाटो हुँदाहुँदै राज्यले दमनको बाटो रोज्नु स्वीकार्य हुन नसक्ने उनीहरूको भनाइ छ।
संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्य, निवर्तमान वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, पूर्वउपाध्यक्षहरू खिलबहादुर भण्डारी र उदय जिएम, निवर्तमान महासचिव रोसन पुरी, पूर्वमहासचिवहरू पोषण केसी र उजिर मगरलगायत पूर्वकेन्द्रीय पदाधिकारी तथा सदस्यहरू रहेका छन् ।