काठमाडौं (सीएनएन) । नासाको चर्चित अन्तरिक्ष यान भ्वाएजर-१ पृथ्वीबाट एक प्रकाश-दिनको दूरीमा पुगेको छ। मानव निर्मित कुनै पनि वस्तु यसअघि यो दूरीमा पुगेको थिएन। यो अन्तरिक्ष अन्वेषणको इतिहासमा एउटा महत्वपूर्ण उपलब्धि हो।
एक प्रकाश-दिन भन्नाले प्रकाशको गतिमा यात्रा गर्ने रेडियो सिग्नललाई एउटा स्थानबाट अर्को स्थानसम्म पुग्न २४ घण्टा लाग्ने दूरी हो। यो दूरी करिब १६ अर्ब माइल अर्थात् २६ अर्ब किलोमिटर हुन्छ।
सन् १९९८ मा नासाकै अर्को अन्तरिक्ष यान पायोनियर-१० लाई उछिनेपछि भ्वाएजर-१ मानव निर्मित सबैभन्दा टाढाको वस्तुको कीर्तिमानमा छ।
नासाको जेट प्रोपल्सन ल्याबोरेटरीका भ्वाएजर मिसन म्यानेजर करीम बदरुद्दिनले यसलाई असाधारण उपलब्धि बताएका छन्।
‘यस्तो घटना यसअघि कहिल्यै भएको छैन र सम्भवतः फेरि कहिल्यै नहुन सक्छ। यो त्यस्तै असाधारण उपलब्धि हो’, उनले भने।
सन् १९७७ को सेप्टेम्बरमा प्रक्षेपण भएयता भ्वाएजर-१ ले थुप्रै उपलब्धि हासिल गरेको छ। यसको जुम्ल्याहा अन्तरिक्ष यान भ्वाएजर-२ त्यसको एक महिनापछि प्रक्षेपण गरिएको थियो।
यी दुवै यान सुरुमा पाँच वर्षसम्म सञ्चालन हुने र बृहस्पति तथा शनिग्रहको अन्वेषण गर्ने उद्देश्यले निर्माण गरिएका थिए। तर अपेक्षा गरिएभन्दा झन्डै १० गुणा लामो समयदेखि यी यानले आफ्नो मिसन जारी राखेका छन्।
आयोवा विश्वविद्यालयका अनुसन्धान वैज्ञानिक विलियम कुर्थले १९७४ मा स्नातकोत्तर विद्यार्थीका रूपमा भ्वाएजर परियोजनामा काम सुरु गरेका थिए। अहिले उनी भ्वाएजरको प्लाज्मा वेभ साइन्स अनुसन्धानको नेतृत्व गर्छन्।
‘४९ वर्षपछि पनि यी यान वैज्ञानिक रूपमा उपयोगी हुने गरी सञ्चालनमा रहनु तिनको डिजाइन र निर्माण गर्ने तथा अहिले पनि सञ्चालनमा खटिएका व्यक्तिहरूको समर्पण र प्रतिभाको प्रमाण हो’, उनले भने।
हाल दुवै भ्वाएजर यान अन्तरतारकीय अन्तरिक्षको अध्ययन गरिरहेका छन्। सूर्यको चुम्बकीय क्षेत्रबाट उत्पन्न विशाल सुरक्षात्मक क्षेत्र हेलियोस्फियर पार गर्दै भ्वाएजर-१ सन् २०१२ मा र भ्वाएजर-२ सन् २०१८ मा त्यसबाहिर पुगेका थिए।
बदरुद्दिनका अनुसार यी यानलाई मूलतः ग्रहहरूको अन्वेषणका लागि बनाइएको थियो। अहिले भने तिनलाई अन्तरतारकीय माध्यमको अध्ययनका लागि सञ्चालन गर्नुपरेको छ।
‘हामीले यी यन्त्रहरूलाई ग्रहहरूको अन्वेषण गर्न बनाएका थियौँ। अहिले अन्तरतारकीय माध्यमको अध्ययनका लागि कसरी सञ्चालन गर्ने भन्ने आफैँले सिक्नुपरेको छ। हामी त्यस्तो कामका लागि डिजाइन नगरिएका निकै पुराना यन्त्र प्रयोग गरिरहेका छौँ,’ उनले भने।
बुधबार पूर्वी अमेरिकी समयअनुसार बिहान ५ बजेर १६ मिनेट गएको केही समयपछि भ्वाएजर-१ एक प्रकाश-दिनको दूरीमा पुगेको हो। अहिले यो यान पृथ्वीबाट १७ प्रकाश–वर्षभन्दा बढी टाढा रहेको तारा ग्लिज ४४५ तर्फ अघि बढिरहेको छ।
नासाले डीप स्पेस नेटवर्क नामक विशाल जमिनमा आधारित रेडियो एन्टेनाहरूको सञ्जाल प्रयोग गरेर भ्वाएजर-१ मा निर्देशन पठाउने र त्यहाँबाट तथ्यांक प्राप्त गर्ने काम गरिरहेको छ। तर यानसँगको सञ्चार भने निकै समय लाग्ने प्रक्रिया हो।
बदरुद्दिनले यसलाई टेलिफोन संवादसँग तुलना गरेका छन्। पृथ्वीको अर्को छेउमा रहेका व्यक्तिलाई फोन गर्दा प्रकाशको गतिमा यात्रा गर्ने सिग्नल पुग्न एक सेकेन्डको १० भागभन्दा कम समय लाग्छ। त्यसैले सामान्य अवस्थामा दुवै व्यक्तिले एउटै कोठामा बसेजस्तै संवाद गर्न सक्छन्।
तर, भ्वाएजर-१ सँगको सञ्चार फरक छ।
‘हामीले पठाउने सिग्नल पनि प्रकाशकै गतिमा यात्रा गर्छ। तर त्यसलाई अन्तरिक्ष यानसम्म पुग्न पूरा २४ घण्टा लाग्छ। यसले नै यान हामीबाट कति टाढा छ भन्ने देखाउँछ,’ उनले भने।
सिग्नल यानसम्म पुगेपछि त्यसको जवाफ पृथ्वीमा आइपुग्न थप २४ घण्टा लाग्छ। सञ्चार प्रणाली र यानका उपकरणले अपेक्षाअनुसार काम गरेको अवस्थामा पनि प्रश्न पठाएर जवाफ प्राप्त गर्न कम्तीमा दुई दिन लाग्छ।
कुर्थका अनुसार दुई दिनको आवतजावत सञ्चार समय भएको यन्त्र सञ्चालन गर्न अन्य कुनै पनि परिस्थितिभन्दा बिल्कुलै फरक सोच आवश्यक हुन्छ।
केही साताअघि दुई दिनसम्म भ्वाएजर-१ बाट कुनै सिग्नल प्राप्त नभएपछि नासाका वैज्ञानिकहरू चिन्तित भएका थिए। यानसँगको सम्पर्क पुनः स्थापित भए पनि त्यस घटनाले यसको सञ्चालनमा रहेका चुनौती उजागर गरेको थियो।

भ्वाएजरको ‘बिग ब्याङ’
अपेक्षा गरिएभन्दा दशकौँ लामो समयसम्म भ्वाएजर यान सञ्चालनमा राख्न नासाका इन्जिनियरहरूले विभिन्न उपाय अपनाउँदै आएका छन्।
बदरुद्दिनले आफ्नो टोलीको प्रयासलाई भौतिकशास्त्रका नियम छल्ने प्रयाससँग तुलना गरेका छन्।
‘म यसलाई समुद्री डाँकुहरूले देशका नियम छल्ने प्रयास गरेजस्तै ठान्छु। हामी आफ्नो यात्रा जारी राख्न भौतिकशास्त्रका नियम छल्ने प्रयास गरिरहेका छौँ,’ उनले भने।
यी यान सञ्चालनमा सबैभन्दा ठूलो चुनौती तिनमा उपलब्ध विद्युत् शक्तिमा निरन्तर भइरहेको कमी हो।
प्रत्येक यानमा प्लुटोनियम प्रयोग गर्ने तीनवटा थर्मोइलेक्ट्रिक जेनेरेटर छन्। रेडियोधर्मी तत्व प्लुटोनियम क्षय हुँदा उत्पन्न हुने तापलाई विद्युत् शक्तिमा रूपान्तरण गरेर यी जेनेरेटरले काम गर्छन्।
अन्तरिक्ष यानमा सामान्यतया प्रयोग हुने सौर्य प्यानलभन्दा फरक, यी जेनेरेटरलाई सूर्यको प्रकाश आवश्यक पर्दैन। तर समयसँगै प्लुटोनियम क्षय हुने र उपकरणहरू पुराना हुँदै जाने भएकाले तिनको विद्युत् उत्पादन क्षमता घट्दै जान्छ।
प्रक्षेपणका बेला भ्वाएजर-१ का जेनेरेटरले ४७० वाट विद्युत् उत्पादन गर्थे। यो एउटा सानो घरेलु उपकरण, जस्तै ब्लेन्डरले खपत गर्ने विद्युत् शक्तिजस्तै हो।
तर यानले प्रत्येक वर्ष करिब ४ वाट विद्युत् क्षमता गुमाउँदै आएको छ। अहिले यसले करिब २१० वाट विद्युत् उत्पादन गरिरहेको छ।
भ्वाएजर-१ मा रहेका १० वैज्ञानिक उपकरणमध्ये अहिले दुईवटा मात्र सञ्चालनमा छन् र तिनले पृथ्वीमा तथ्यांक पठाइरहेका छन्। नासाले विद्युत् बचत गर्न बाँकी उपकरणहरू क्रमशः बन्द गर्दै आएको छ।
सञ्चालनमा रहेका दुई उपकरणमध्ये म्याग्नेटोमिटरले चुम्बकीय क्षेत्रको विश्लेषण गर्छ भने प्लाज्मा वेभ सबसिस्टमले आवेशित कणहरूको घनत्व अध्ययन गर्छ। अन्तरतारकीय अन्तरिक्षको अध्ययनका लागि दुवै उपकरण उपयोगी छन्।
हाल भ्वाएजर-१ प्रतिघण्टा ३८ हजार माइल अर्थात् ६१ हजार १५५ किलोमिटरको गतिमा यात्रा गरिरहेको छ।
हालै नासाले यानमा विद्युत् वितरण प्रणालीमा ठूलो परिवर्तन गरेको थियो। विद्युत् खपत बढी गर्ने केही गैरवैज्ञानिक उपकरण बन्द गरेर कम विद्युत् खपत गर्ने अन्य उपकरण सञ्चालनमा ल्याइएको थियो। यसको उद्देश्य आवश्यक तापक्रम कायम राख्दै विद्युत् बचत गर्नु थियो।
यानभित्रका कम्प्युटर सञ्चालनका लागि पर्याप्त ताप आवश्यक हुन्छ। त्यस्तै, यानलाई दिशा परिवर्तन गर्न प्रयोग हुने इन्धन जमेर ठोस नहोस् भन्नका लागि पनि पर्याप्त ताप कायम राख्नुपर्छ। इन्धन जम्यो भने पृथ्वीतर्फ तथ्यांक पठाउन एन्टेना घुमाउनेजस्ता महत्वपूर्ण काम गर्न सकिँदैन।
‘यसै गर्मीयाममा हामीले विद्युत् धेरै खपत गर्ने तीनवटा उपकरण बन्द गर्यौँ र तिनको तुलनामा कम विद्युत् खपत गर्ने अन्य तीनवटा उपकरण सञ्चालनमा ल्यायौँ। बन्द र सञ्चालन गरिएका उपकरणहरू यानका विभिन्न भागमा रहेका थिए। त्यसैले सबै इन्धन पाइपमा तरल पदार्थ जम्न नदिई पर्याप्त ताप कायम राख्न सकियो,’ बदरुद्दिनले भने।
उनका अनुसार यो ठूलो परिवर्तन थियो।
‘हामीले यसलाई बिग ब्याङ नाम दिएका थियौँ, किनभने सबै परिवर्तन एकैपटक गरिएको थियो,’ उनले भने।
यो परिवर्तनले भ्वाएजर-१ का बाँकी वैज्ञानिक उपकरणलाई अघिल्लो व्यवस्थाको तुलनामा अझ लामो समयसम्म सञ्चालन गर्न सहयोग गर्नेछ।
यो परीक्षण सफल हुन सक्नेमा विश्वस्त हुन टोलीले करिब एक वर्ष तयारी गरेको थियो। त्यसपछि पनि इन्जिनियरहरू निकै चिन्तित थिए। किनभने यसका लागि प्रयोग गरिएका सातवटा विद्युत् आदेश यसअघि अन्तरिक्ष उडानमा कहिल्यै प्रयोग गरिएका थिएनन्।
बदरुद्दिनका अनुसार नयाँ व्यवस्थाले १० वाट विद्युत् बचत गर्नेछ। यसले यानलाई थप करिब साढे दुई वर्ष सञ्चालनमा राख्न सक्नेछ।
‘कुनै वैज्ञानिक उपकरण बन्द नगरी १० वाट विद्युत् बचत गर्नु निकै राम्रो उपलब्धि हो। मलाई यो टोपीबाट खरायो निकाल्नुसरह लाग्छ। अब हामीले हात टोपीभित्रै राखेर अर्को खरायो खोजिरहेका छौँ,’ उनले भने।
सञ्चार सम्पर्कमा अवरोध
अक्टोबरको अन्त्यतिर, उपकरणहरूको विद्युत् व्यवस्थापनमा गरिएको ठूलो परिवर्तनको केही सातापछि भ्वाएजर-१ मा अर्को समस्या देखियो। यानसँगको सञ्चार अस्थायी रूपमा अवरुद्ध भयो।
४८ घण्टापछि सम्पर्क पुनः स्थापित भए पनि यो घटनाले यानको सञ्चालन अब अनिश्चित अवस्थामा रहेको सम्झाएको थियो।
‘यो निकै अप्रत्याशित घटना थियो। के भएको थियो भन्ने बुझ्ने प्रयास हामी अझै गरिरहेका छौँ। हामीसँग सञ्चालनका लागि निकै सीमित स्रोत बाँकी छन् भन्ने थाहा छ। यस्ता घटना अब झन् धेरै पटक हुन सक्छन्,’ बदरुद्दिनले भने।
भ्वाएजर-१ अझै कति समय सञ्चालनमा रहन्छ भन्ने अनुमान गर्न कठिन छ। मिसन व्यवस्थापकहरूले दशकौँदेखि यसको मिसन थप तीनदेखि पाँच वर्षसम्म चल्न सक्ने अनुमान गर्दै आएका छन्।
तर बदरुद्दिनका अनुसार अर्को कुनै उपाय पत्ता लागेमा यो अवधि अझ लम्बिन सक्छ।
हाल सौर्यमण्डलभन्दा बाहिर जाने मार्गमा पाँचवटा अन्तरिक्ष यान छन्। भ्वाएजर-१ र भ्वाएजर-२ तीमध्ये दुई हुन्।
भ्वाएजर-२ ले सन् २०३५ मा एक प्रकाश-दिनको दूरी पार गर्ने अपेक्षा गरिएको छ। तर त्यतिबेलासम्म दुवै यान सञ्चालनमा रहनेछन् वा पृथ्वीसँग सञ्चार गर्न सक्नेछन् भन्ने निश्चित छैन।
अन्य दुई यान पायोनियर-१० र पायोनियर-११ पनि सौर्यमण्डलभन्दा बाहिर जाने मार्गमा छन्। तर तिनले धेरै पहिले नै पृथ्वीसँगको सञ्चार बन्द गरिसकेका छन्।
पाँचौँ यान न्यू होराइजन्स अहिले वरुण ग्रहको कक्षभन्दा बाहिर रहेको बरफयुक्त वस्तुहरूको विशाल क्षेत्र क्वाइपर बेल्ट हुँदै यात्रा गरिरहेको छ।
कुनै दिन भ्वाएजर यानहरूले काम गर्न छाड्ने समय खगोलविद् र अनुसन्धानकर्ताहरूका लागि कठिन हुने बदरुद्दिनको भनाइ छ।
‘यी अन्तरिक्ष यानलाई उडाइराख्न हामीसँग भएका सबै उपाय प्रयोग गरिरहेका छौँ। अन्ततः ती सबै प्रयास पर्याप्त नहुने दिन आउँदा त्यसलाई स्वीकार गर्न कठिन हुनेछ’ उनले भने।
‘तर भ्वाएजर मिसन मानवले गरेका महान् काममध्ये एक हो। यो पृथ्वीका सबै मानिसका लागि अर्थपूर्ण छ। यसको एउटा हिस्सा हुन पाउनु आफैँमा विनम्र बनाउने अनुभव हो,’ उनले थपे।
भ्वाएजर यानहरूले अन्तरिक्ष विज्ञानमा महत्वपूर्ण योगदान छाड्नेछन्। तिनले बृहस्पति र शनिग्रहका नयाँ उपग्रह पत्ता लगाएका छन्। बृहस्पतिको उपग्रह आयोमा सक्रिय ज्वालामुखी रहेको तथ्य पत्ता लगाएका छन् भने शनिको सबैभन्दा ठूलो उपग्रह टाइटनको वायुमण्डलबारे महत्वपूर्ण जानकारी दिएका छन्।
भ्वाएजर-१ ले खिचेको प्रसिद्ध ‘पेल ब्लु डट’ तस्बिरले विशाल अन्तरिक्षमा पृथ्वीको स्थान र आकारबारे मानिसलाई नयाँ दृष्टिकोण दिएको थियो।
हाल दुवै यानले कुनै पनि टेलिस्कोपले पृथ्वीबाट गर्न नसक्ने तरिकाले अन्तरतारकीय अन्तरिक्षबारे तथ्यांक संकलन गरिरहेका छन्।
बदरुद्दिनका अनुसार पृथ्वीबाट टेलिस्कोप प्रयोग गरेर अन्तरतारकीय माध्यमको अध्ययन गर्न सकिन्छ। तर आफूले अध्ययन गरिरहेको स्थानमै उपकरण पुर्याएर प्रत्यक्ष तथ्यांक संकलन गर्नु र टाढाबाट त्यसको अध्ययन गर्नुमा ठूलो अन्तर हुन्छ।
भ्वाएजर-१ र भ्वाएजर-२ दुवैले आफ्नो साथमा गोल्डेन रेकर्ड पनि बोकेका छन्। यो १२ इन्चको सुनको जलप लगाइएको तामाको डिस्क हो। यसमा तस्बिर, प्राकृतिक आवाज, संगीत र ५५ भाषामा रेकर्ड गरिएका अभिवादन समावेश छन्।
डिस्कमा अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टर र संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कुर्ट वाल्डहाइमका सन्देश पनि छन्।
यी यानको विद्युत् शक्ति पूर्ण रूपमा समाप्त भए पनि तिनीहरू अहिलेको गतिमै अन्तरिक्षमा यात्रा गरिरहनेछन्। तिनले मानव सभ्यताका यी सांस्कृतिक सन्देश बोकेर आफ्नो यात्रा जारी राख्नेछन्।
भ्वाएजर-१ ले ग्लिज ४४५ ताराको सबैभन्दा नजिक पुग्न करिब ४० हजार वर्ष लाग्नेछ। त्यतिबेला यो तारा पृथ्वीबाट करिब १।७ प्रकाश-वर्षको दूरीबाट पार हुनेछ।
कुर्थका अनुसार भ्वाएजर यानहरूले करिब ५० वर्षसम्मको अन्तरिक्ष यात्राका क्रममा आकाशगंगाको हाम्रो छिमेकी क्षेत्रबारे जानकारी दिने क्षमता कायम राखेका छन्।
‘भ्वाएजरहरूलाई पछ्याउँदै अन्तरतारकीय अन्तरिक्षमा पुग्ने कुनै पनि प्रयासका लागि दशकौँको विकास र उडान समय आवश्यक पर्नेछ,’ उनले भने।
‘यी यानले मौन भएर आकाशगंगाको आफ्नो यात्रामा अघि बढ्नुअघि हामीले तिनबाट प्राप्त गर्न सक्ने सबैभन्दा धेरै जानकारी संकलन गर्न आवश्यक छ।