Paywear Banner Desktop
Paywear Banner Mobile

भिटामिन डीको कमीले वृद्धवृद्धाको निद्रामा असर पार्न सक्ने अध्ययनको निष्कर्ष

शरीरमा भिटामिन डीको कमीले वृद्धवृद्धाको निद्रामा असर पार्न सक्ने एक अध्ययनले देखाएको छ। रगत परीक्षण र निद्राको निगरानी गर्ने उपकरणबाट संकलित तथ्यांकको विश्लेषणमा भिटामिन डीको मात्रा बढी भएका वृद्धवृद्धा अरूको तुलनामा हरेक रात झन्डै २० मिनेट बढी सुत्ने गरेको पाइएको हो।

अमेरिकाको जोन्स हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताको नेतृत्वमा गरिएको अध्ययनअनुसार भिटामिन डीको मात्रा बढी भएका व्यक्तिमा राति निद्राबाट ब्युँझिएर जागै रहने समय पनि कम देखिएको छ। यसको कमी भएका व्यक्तिमा निद्राको अवधि अझ बढी घटेको पाइएको छ।

अध्ययनका निष्कर्षले उमेर बढ्दै जाँदा निद्राको स्वास्थ्यमा भिटामिन डीले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने संकेत गरेका छन्। यद्यपि, भिटामिन डीको मात्रा बढाउँदा सीधै निद्रामा सुधार हुन्छ भन्ने निष्कर्षमा पुग्न भने अध्ययनले नसक्ने अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन्।

अध्ययनका वरिष्ठ लेखक तथा ब्लुमबर्ग स्कुलको मानसिक स्वास्थ्य विभागका प्राध्यापक एडम स्पिराले भिटामिन डीको मात्रा बढाउँदा निद्राको स्वास्थ्यमा सुधार हुन्छ कि हुँदैन भन्ने विषयमा थप अनुसन्धान गर्नुपर्ने बताएका छन्।

उनले भनेका छन्, ‘यी निष्कर्षले भिटामिन डीको मात्रा बढाउँदा निद्राको स्वास्थ्यमा सुधार हुन्छ कि हुँदैन भन्ने विषयमा अझ गहिरो अनुसन्धान गर्नुपर्ने देखाउँछन्।’

भिटामिन डीको कमी र कम निद्राबीच सम्बन्ध

अनुसन्धानकर्ताहरूले अमेरिकाको नेसनल इन्स्टिच्युट अन एजिङका वैज्ञानिकसँग सहकार्य गर्दै बाल्टिमोर लङ्गिट्युडिनल स्टडी अफ एजिङअन्तर्गत सन् २०१२ देखि २०१९ सम्म संकलित तथ्यांक विश्लेषण गरेका थिए।

अध्ययनमा औसत उमेर करिब ७१ वर्ष भएका ४६० महिला तथा पुरुष सहभागी थिए। उनीहरूको रगतको नमुना परीक्षण गरी भिटामिन डीको मात्रा मापन गरिएको थियो। त्यस्तै, नाडीमा लगाइने एक्टिग्राफ उपकरणमार्फत उनीहरूको निद्रा र ब्युँझिने समयको निगरानी गरिएको थियो।

उमेर, जातीय पृष्ठभूमि, लिङ्ग र अन्य सम्भावित प्रभाव पार्ने पक्षलाई समेत हिसाबमा राखेर विश्लेषण गर्दा अनुसन्धानकर्ताहरूले भिटामिन डीको उच्च मात्रा, लामो निद्रा र राति लामो समयसम्म ब्युँझिएर बस्ने अवधिमा कमीसँग सम्बन्ध देखेका थिए।

क्लिनिकल मापदण्डका आधारमा सहभागीलाई भिटामिन डीको कमी, अपर्याप्त मात्रा र सामान्य मात्रा भएका तीन समूहमा विभाजन गरिएको थियो। त्यसक्रममा भिटामिन डीको कमी भएका व्यक्तिहरू सामान्य मात्रा भएका व्यक्तिको तुलनामा औसतमा २३ मिनेट कम सुत्ने गरेको पाइएको थियो।

विभिन्न समुदायमा निद्रासम्बन्धी प्रभाव फरक हुन सक्ने

वृद्धवृद्धामा भिटामिन डीको कमी र निद्रामा समस्या दुवै व्यापक रूपमा देखिने समस्या हुन्। पर्याप्त निद्रा नपुग्दा डिमेन्सिया, मधुमेह, मुटुसम्बन्धी रोग र अन्य दीर्घकालीन स्वास्थ्य समस्याको जोखिम बढ्न सक्ने विभिन्न अध्ययनले देखाएका छन्।

यसअघिका अध्ययनहरूले पनि शरीरमा भिटामिन डीको मात्रा कम हुँदा निद्राको गुणस्तर कमजोर हुन सक्ने सम्बन्ध देखाएका थिए। तर भिटामिन डीका पूरक (सप्लिमेन्ट) सेवन गर्दा निद्रामा हुने प्रभावबारे गरिएका क्लिनिकल परीक्षणमा सहभागीको संख्या तुलनात्मक रूपमा कम र उनीहरूको जनसांख्यिकीय विविधता सीमित थियो।

नयाँ अध्ययनमा भिटामिन डीको मात्रा र निद्राबीचको सम्बन्ध अश्वेत सहभागीमा सबैभन्दा बलियो देखिएको थियो।

अध्ययनकी पहिलो लेखक तथा ब्लुमबर्ग स्कुलको इपिडिमियोलोजी विभागकी विद्यावारिधि अनुसन्धानार्थी डाइफेइ चेनका अनुसार अमेरिकामा अश्वेत वयस्कमा श्वेत वयस्कको तुलनामा भिटामिन डीको कमी र निद्रासम्बन्धी समस्या बढी देखिन्छ।

उनले भिटामिन डीको मात्रा बढाउँदा अश्वेत समुदायका व्यक्तिलाई बढी फाइदा पुग्न सक्ने बताएकी छन्।

भिटामिन बी १२ को नतिजा भने मिश्रित

अनुसन्धान टोलीले निद्रामा प्रभाव पार्न सक्ने भनिएको भिटामिन बी १२ को अवस्थासमेत अध्ययन गरेको थियो।

अध्ययनमा भिटामिन बी १२ को मात्रा बढी भएका महिलाहरू सुरुमा निदाएपछि कम समय जागै रहने गरेको देखिएको थियो। तर पुरुषमा भने यसको मात्रा बढी हुँदा राति बढी समय जागै रहने प्रवृत्ति देखिएको थियो।

यद्यपि, यी दुवै प्रवृत्तिलाई पुष्टि गर्ने पर्याप्त सांख्यिकीय प्रमाण प्राप्त नभएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

सहभागीहरूले भिटामिन डी मुख्य रूपमा घाम, खानपान वा सप्लिमेन्टमध्ये कुन स्रोतबाट प्राप्त गरेका थिए भन्ने कुरा पनि अनुसन्धानकर्ताहरूले छुट्याउन सकेनन्। आगामी अध्ययनमा यी फरक स्रोतले निद्रामा पार्ने प्रभावबारे अनुसन्धान गर्न सकिने उनीहरूको भनाइ छ।

भिटामिन डी बढाउँदा निद्रामा सुधार हुन्छ ?

यो अध्ययन समयक्रममा फरक समयमा संकलित तथ्यांकका छुट्टाछुट्टै अवस्थाको विश्लेषणमा आधारित थियो। अर्थात्, अनुसन्धानकर्ताहरूले समयसँगै भिटामिन डीको मात्रा परिवर्तन हुँदा त्यसले पछिल्लो निद्रामा कस्तो प्रभाव पार्छ भन्ने प्रत्यक्ष रूपमा अध्ययन गरेका थिएनन्।

त्यसैले भिटामिन डीको कमी पूरा गर्दा वृद्धवृद्धाको निद्रामा उल्लेखनीय सुधार हुन्छ कि हुँदैन भन्ने निष्कर्ष निकाल्न थप अनुसन्धान आवश्यक रहेको अध्ययनले औँल्याएको छ।

विशेषगरी ठूलो संख्यामा सहभागी समेटिएका क्लिनिकल परीक्षण र लामो समयसम्म भिटामिन डीको मात्रा तथा निद्रामा हुने परिवर्तनको निगरानी गर्ने अध्ययन आवश्यक पर्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!