Paywear Banner Desktop
Paywear Banner Mobile

‘सारथी’ लाई लिएर उत्साहित छन् उत्तम र निरुता, शुक्रबारदेखि हुँदैछ रिलिज

काठमाडौं । अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहलाई ‘दर्पणछायाँ’ जोडीका रूपमा चिनिन्छ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको उक्त फिल्मको त्रिकोणात्मक प्रेमकथालाई दर्शकले निकै रुचाएका थिए । फिल्मको सफलतासँगै निरुता, उत्तम र अर्का अभिनेता दिलीप रायमाझीको व्यस्तता पनि बढेको थियो ।

निरुता र उत्तमले त्यसपछि ‘लहना’, ‘उपहार’, ‘चीत्कार’ लगायत फिल्ममा एकसाथ काम गरे । यो जोडीले पछिल्लो पटक २२ वर्षअघि ‘सन्तान’ फिल्ममा अभिनय गरेको थियो । लामो समयपछि उनीहरू शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘सारथी’ मार्फत पर्दामा एकसाथ देखिँदैछन् ।

यो जोडीलाई पुनः एकसाथ पर्दामा ल्याउने काम निर्देशक कुमार गजुरेलले गरेका हुन् । उनले फिल्मको कथासँगै दुवै कलाकारलाई उनीहरूको करिअरकै फरक भूमिका प्रस्ताव गरेका थिए । आफूले यसअघि निर्वाह नगरेको पात्रमा अभिनय गर्न पाउने र पुरानो सहकर्मीसँग पुनः काम गर्ने अवसर पाएपछि दुवैले फिल्ममा काम गर्न सहमति जनाए ।

अभिनेत्री निरुताले ‘सारथी’ मा आफूले कलाकारिता यात्रामा अहिलेसम्म निर्वाह नगरेको भूमिका पाएको बताइन् । ‘यो पात्रलाई मैले कुनै फिल्ममा निर्वाह गरेकी रहेनछु । त्यसैले पनि यो फिल्म गर्ने सहमति दिएँ । हुन त मैले सक्रिय भएर काम गर्दा यस्तो पात्र बन्दैनथ्यो, नत्र मलाई पक्कै अफर हुन्थ्यो होला । यो फिल्ममा म आमाको भूमिकामा छु । यस्तो किसिमको देखिने भूमिका धेरै फिल्ममा गरेकी छु, तर फिल्म हेरेपछि मलाई अहिलेसम्म नदेखेको भूमिकामा देख्नुहुनेछ’, उनले भनिन् ।

निरुताले २२ वर्षपछि उत्तम प्रधानसँग काम गर्न पाउँदा खुसी लागेको पनि बताइन् । ‘उत्तमजीसँग धेरैपछि काम गर्न पाएँ, म निकै खुसी छु । हामीले पुराना दिनलाई सम्झियौँ’, उनले भनिन् ।

अभिनेता उत्तमले पनि फिल्ममा अभिनय गर्नुको कारण कथासँगै निरुता रहेको बताए । ‘मलाई केही फिल्म प्रस्ताव भए। केहीको कथा सुनेर मैले नगर्ने निर्णय लिएँ। तर, यसमा मैले निरुताजीले जस्तै अभिनय यात्राकै फरक भूमिका पाएँ । निरुताजी फिल्ममा हुनुहुन्छ भन्ने थाहा पाएपछि काम गर्ने उत्साह झनै बढ्यो। यसपटक केही फरक महसुस गर्नुका साथै धेरै कुरा सिक्ने अवसर पाएँ’, उनले भने ।

फिल्ममा अवकाशप्राप्त सैनिकको भूमिकामा देखिएका उत्तमलाई दुई फरक उमेर समूहमा प्रस्तुत गरिएको छ ।

‘सन्तान’पछि निरुता र उत्तमलाई विभिन्न फिल्ममा अभिनयका लागि प्रस्ताव गरिए पनि एकसाथ पर्दामा ल्याउन निर्देशक तथा निर्माताले उपयुक्त कथा तयार गर्न सकेका थिएनन्। आफूहरूलाई सुहाउँदो भूमिका प्रस्ताव नभएकै कारण पुनर्मिलन हुन २२ वर्ष लागेको निरुताको भनाइ छ ।

‘सायद, हामीलाई यो फिल्म जुरेको रहेछ, त्यसैले यत्रो समय लाग्यो। यो हामी नेपालीले भन्ने अर्गानिक फिल्म बनेको छ । हामीले स्थानीय समाजलाई पनि फिल्ममार्फत उजागर गर्ने कोसिस गरेका छौँ’, उनले भनिन् ।

म्याग्दीको दुर्गम गुर्जा गाउँको ग्रामीण परिवेश र जीवनशैलीलाई समेटिएको ‘सारथी’मा आमाछोराबीचको मर्मस्पर्शी संघर्षलाई मुख्य कथाका रूपमा प्रस्तुत गरिएको छ । जीवनयात्राका क्रममा आइपर्ने हरेक उतारचढावमा छोराको सारथी बनेकी आमाको भूमिकामा निरुता सिंह देखिएकी छन् भने छोराको भूमिकामा गिरि विश्वकर्माको अभिनय रहेको छ ।

गिरी र गायत्रीको डेब्यू

पत्रकार सम्मेलनमा डेब्यू कलाकारद्वय गिरी विश्वकर्मा र गायत्री जोशीले डेब्यू अनुभव बाँडे । गिरीले कथाको रहस्यमय पक्षले दर्शकलाई तान्न सक्ने विश्वास व्यक्त गरे । उनको आफ्नै गाउँ गुर्जामा छायांकन भएकाले पनि उनी फिल्मलाई लिएर उत्साहित सुनिए ।

फिल्मले म्याग्दीको पर्यटन प्रवर्धन गर्ने आशा पनि उनले व्यक्त गरे । गिरी यतिबेला आफ्नो गाउँमा यो फिल्मको विशेष प्रदर्शन गर्ने तयारीमा जुटेका छन् । यो फिल्ममा थुप्रै गाउँलेले पनि अभिनय गरेकाले उनीहरूमाझ फिल्म देखाउन लागिएको हो ।

नाटक अभिनयको पृष्ठभूमि रहेकी गायत्रीको यो डेब्यू फिल्म हो । फिल्मको केन्द्रमा आफू रहेकाले दर्शकले आफूलाई सारथीकै रुपमा देख्न पाउने उनको भनाइ छ । उनले यसपछि पनि अभिनयलाई निरन्तरता दिने बताइन् । ‘नाटक र चलचित्रलाई सँगै लैजान्छु’ उनले भनिन् ।

‘सारथी’ के हो ?

निर्देशक गजुरेलकै कथा, पटकथा तथा संवाद रहेको फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गिरि विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय रहेको छ ।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो । फिल्मको छायांकन संकल्प भुजेलले गरेका छन् ।

तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् । अमिर केसी लाइन प्रोड्युसर रहेको फिल्ममा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको छ । राजु खतिवडा मुख्य सहायक निर्देशक रहेको फिल्ममा यमुना आचार्य र आशिष श्रेष्ठले सहायक निर्देशन गरेका छन् ।

शीर्ष गीत सार्वजनिकसँगै हलमा बुकिङ खुल्यो

बाबुल गिरीको स्वर रहेको यस गीतमा निर्देशक कुमार गजुरेल र बाबुल गिरीकै शब्द रहेको छ । गीतमा संगीत पनि बाबुलले नै भरेका छन् ।

मार्मिक भाव बोकेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार गिरी र गायत्री फिचर्ड छन् । कथावस्तु र पात्रको भावनात्मक सम्बन्धलाई झल्काउने प्रयास गरिएको छ ।

गीत सार्वजनिक भएसँगै देशभरका प्रमुख मल्टिप्लेक्स हलमा बुकिङसमेत खुलाइएको छ । प्रारम्भिक चरणमै ‘सारथी’ले ५० भन्दा बढी शो प्राप्त गरेको छ ।

क्यूएफएक्स, आईएनआई सिनेमाज, वान सिनेमाज, बिग मुभिजलगायतका हलमा बुकिङ खुलाइएको हो । प्रारम्भिक चरणमै ५० भन्दा बढी शो प्राप्त गरेको छ । सुरुवाती चरणमै पाएको शो संख्याले निर्माण टिममा उत्साह थपेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!