काठमाडौं । मिटरब्याजमा ऋण लगाएर सर्वसाधारणलाई आर्थिक तथा मानसिक शोषण गर्ने व्यक्तिलाई सात वर्षसम्म कैद सजाय गर्ने प्रस्तावसहित सरकारले नयाँ कानूनको मस्यौदा तयार गरेको छ ।
गृह मन्त्रालयले तयार पारेको ‘अनुचित लेनदेन (मिटरब्याज) नियन्त्रण तथा नियमन ऐन, २०८३’ को विधेयक मस्यौदामा मिटरब्याजसम्बन्धी विभिन्न गतिविधिलाई कसुरका रूपमा परिभाषित गर्दै तीनदेखि सात वर्षसम्म कैद र ३० हजारदेखि ७० हजार रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको छ ।
सरकारले विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम उक्त विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारणसँग राय तथा सुझाव मागेको छ । इच्छुक व्यक्ति तथा संस्थाले मस्यौदामाथि आफ्नो सुझाव दिन सक्नेछन् ।
प्रस्तावित विधेयकमा ऋण असुलीका क्रममा ऋणीलाई शारीरिक वा मानसिक हानि हुने गरी धम्की दिने, हिंसा तथा शोषण गर्ने र अनुचित लेनदेनका आधारमा ऋणीको चल तथा अचल सम्पत्ति आफ्नो नाममा हस्तान्तरण गराउने कार्यलाई गम्भीर कसुरका रूपमा राखिएको छ ।
विधेयकको दफा १३ मा ऋण असुलीका क्रममा धम्की, हिंसा वा शोषण गर्ने व्यक्तिलाई तीनदेखि सात वर्षसम्म कैद र ३० हजारदेखि ७० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रस्ताव छ ।
त्यस्तै, दफा १४ मा अनुचित लेनदेनका आधारमा ऋणीको चल तथा अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने व्यक्तिलाई पनि समान सजाय प्रस्ताव गरिएको छ । यस्तो कसुरबाट गैरकानूनी रूपमा प्राप्त गरिएको सम्पत्ति पीडितलाई नै फिर्ता गर्नुपर्ने व्यवस्था मस्यौदामा छ ।
एउटै कारोबारमा घरजग्गा पास, तमसुक, करार सम्झौता र चेकलगायत धितोका लागि एकभन्दा बढी लिखत तयार गर्ने कार्यलाई पनि कसुर मानिएको छ । यस्तो कार्यमा संलग्न व्यक्तिलाई तीनदेखि सात वर्षसम्म कैद र ३० हजारदेखि ७० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने प्रस्ताव छ ।
विधेयकको दफा १५ मा यसरी तयार पारिएका एकभन्दा बढी लिखत स्वतः बदर हुने व्यवस्था गरिएको छ ।
खाली चेक र झुटा तमसुक बनाउनेलाई पनि कैद
प्रस्तावित विधेयकले मिटरब्याजको कारोबारमा प्रयोग हुने अन्य गैरकानूनी अभ्यासलाई पनि कसुरका रूपमा समेटेको छ ।
लेनदेन नै नभएको रकम दिएको भनी वा वास्तविक कारोबारभन्दा बढी रकम उल्लेख गरेर लिखत तयार गर्ने व्यक्तिलाई तीनदेखि पाँच वर्षसम्म कैद र ३० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ ।
यस्तो झुटा लिखतका आधारमा कसैले सम्पत्ति जफत गरेको अवस्थामा बिगोबराबरको थप जरिवानासमेत हुने व्यवस्था मस्यौदामा छ ।
त्यसैगरी, ऋण दिएकै समयमा ब्याजलाई साँवामा जोडेर लिखत बनाउने वा ब्याजलाई साँवामा जोडेर नयाँ लिखत तयार गर्ने कार्यलाई पनि कसुर मानिएको छ । यस्तो कार्य गर्ने व्यक्तिलाई तीनदेखि पाँच वर्षसम्म कैद र ३० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने प्रस्ताव छ ।
वास्तविक ऋण र ब्याजको हिसाब छुट्टाछुट्टै गरिने
मिटरब्याजबाट पीडित भएका व्यक्तिलाई न्याय दिलाउन वास्तविक ऋण, कानूनबमोजिम लाग्ने ब्याज र अनुचित रूपमा असुल गरिएको रकमको छुट्टाछुट्टै हिसाब तयार गर्न सकिने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ ।
विधेयकको दफा २१ अनुसार ऋणीले तिरेको रकमको प्रमाण साहुसँग नभएको अवस्थामा बैंक विवरण, साक्षी, विद्युतीय अभिलेख, पक्षहरूको स्वीकारोक्ति तथा अन्य विश्वसनीय प्रमाणका आधारमा भुक्तानीको यकिन गर्न सकिनेछ ।
प्रस्तावित व्यवस्थाअनुसार अनुचित लेनदेनबाट मर्कामा परेको व्यक्तिले त्यस्तो विषय थाहा पाएको छ महिनाभित्र सम्बन्धित निकायमा उजुरी दिनुपर्नेछ । अपाङ्गता भएका व्यक्ति, असक्षम तथा ज्येष्ठ नागरिकको हकमा उजुरीको हदम्याद थप छ महिना बढाउन सकिने व्यवस्था छ ।
पीडितसँग आवश्यक लिखत वा प्रमाण नभएको अवस्थामा पनि उजुरी अस्वीकार गर्न नपाइने प्रस्ताव गरिएको छ । साहुले लिखत आफ्नो नियन्त्रणमा राखेको, लुकाएको वा नष्ट गरेको कारण पीडितसँग प्रमाण नभएमा त्यसैलाई उजुरी अस्वीकार गर्ने आधार बनाउन नपाइने मस्यौदामा उल्लेख छ ।
त्यस्तै, पीडित तथा साक्षीलाई धम्की, दबाब र प्रतिशोधबाट सुरक्षा दिनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ । आर्थिक रूपमा विपन्न वा अन्य कारणले कानूनी सहायता प्राप्त गर्न नसक्ने पीडितलाई निःशुल्क कानूनी सहायता उपलब्ध गराउने प्रावधानसमेत विधेयकमा राखिएको छ ।