Paywear Banner Desktop
Paywear Banner Desktop

बेलायतमा विद्यार्थी भिसाका लागि आर्थिक मापदण्ड बढ्दै, नोभेम्बर ३० देखि लागू हुने

काठमाडौं । बेलायतमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीले विद्यार्थी भिसाका लागि देखाउनुपर्ने जीवनयापन खर्च बढ्ने भएको छ ।

बेलायतको गृह मन्त्रालयले ३० नोभेम्बर २०२६ देखि विद्यार्थी भिसा आवेदनका लागि आवश्यक न्यूनतम आर्थिक मापदण्ड बढाउने भएको हो । नयाँ व्यवस्थाअनुसार लन्डनबाहिर अध्ययन गर्ने विद्यार्थीले जीवनयापन खर्चका लागि प्रतिमहिना १ हजार २०३ पाउन्ड देखाउनुपर्नेछ । यसअघि यस्तो रकम १ हजार १७१ पाउन्ड थियो ।

यसअनुसार लन्डनबाहिर अध्ययन गर्ने विद्यार्थीले नौ महिनाको जीवनयापन खर्चका लागि १० हजार ८२७ पाउन्ड रहेको प्रमाण पेस गर्नुपर्नेछ । यसअघि यस्तो रकम १० हजार ५३९ पाउन्ड थियो ।

त्यस्तै, लन्डनमा अध्ययन गर्ने विद्यार्थीका लागि पनि जीवनयापन खर्चको न्यूनतम रकम बढाइएको छ । लन्डनमा अध्ययन गर्ने विद्यार्थीले प्रतिमहिना १ हजार ५७० पाउन्ड देखाउनुपर्नेछ । यसअघि यस्तो रकम १ हजार ५२९ पाउन्ड थियो ।

जीवनयापन खर्चबाहेक विद्यार्थीले आफ्नो पाठ्यक्रमको पहिलो शैक्षिक वर्षको शुल्क तिर्न पर्याप्त रकम रहेको प्रमाण पनि पेस गर्नुपर्ने हुन सक्छ । सामान्यतया आवश्यक रकम लगातार २८ दिनसम्म बैंक खातामा रहेको प्रमाण देखाउनुपर्छ ।

नयाँ आर्थिक मापदण्ड ३० नोभेम्बर २०२६ देखि विद्यार्थी भिसाका लागि आवेदन दिनेहरूमा लागू हुनेछ । यद्यपि, केही आवेदकले आर्थिक प्रमाण पेस गर्नुपर्ने नियममा छुट पाउन सक्छन् ।

बेलायतमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीले भिसा आवेदन दिनुअघि नयाँ आर्थिक मापदण्ड र आवश्यक कागजातबारे बेलायत सरकारको आधिकारिक वेबसाइटमा जानकारी लिनु उपयुक्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!