काठमाडौं । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘भिजिट नेपाल’ अभियान सुरु गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा अभियानको औपचारिक सुरुवात गरिएको हो। टिकटकमार्फत नेपालको संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउँदै नेपाललाई विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा चिनाउने अभियानको उद्देश्य रहेको छ।
अभियानअन्तर्गत टिकटकले युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाबाट नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरलाई नेपाल ल्याएको छ। उनीहरू अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म नेपालका विभिन्न स्थानको भ्रमण गरी आफ्ना अनुभव टिकटकमार्फत विश्वभरका दर्शकमाझ साझा गरिरहेका छन्।
यसबाट नेपालका चर्चित पर्यटकीय गन्तव्यसँगै कम परिचित पर्यटकीय स्थलहरूको पनि अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार हुने अपेक्षा गरिएको छ।
टिकटकले पर्यटनसम्बन्धी सामग्रीको पहुँच बढाउन छुट्टै ‘भिजिट नेपाल’ ह्यासट्याग पेज पनि सुरु गरेको छ। टिकटकको कोल्याब फिचरमार्फत नेपाल पर्यटन बोर्डले नेपाली सेलिब्रेटी तथा स्थानीय कन्टेन्ट क्रिएटरसँग सहकार्य गरेको छ।
अभियानअन्तर्गत नेपालका लोकप्रिय पर्यटकीय गन्तव्यबाट लाइभस्ट्रिमसमेत सञ्चालन गरिएको छ। यसबाट विश्वभरका दर्शकले भर्चुअल रूपमा नेपालको अनुभव लिन र भविष्यमा भ्रमण गर्न चाहेका स्थानबारे जानकारी प्राप्त गर्न सक्ने टिकटकको अपेक्षा छ। अभियान सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना सहभागी थिए। उनले डिजिटल प्लेटफर्मले पर्यटकीय गन्तव्यबारे जानकारी लिने र यात्रा गर्ने निर्णयमा प्रभाव पार्न थालेको बताए।
उनले एउटा स्थानको कथा अर्को ठाउँका मानिसलाई त्यहाँ भ्रमण गर्न प्रेरित गर्न सक्ने उल्लेख गर्दै टिकटकसँगको सहकार्यलाई नेपालको पर्यटन, संस्कृति, सिर्जनशीलता र युवालाई विश्वसँग जोड्ने दीर्घकालीन साझेदारीका रूपमा लिएको बताए।
टिकटकका मध्यपूर्व, युरेसिया तथा अफ्रिका (एमईए) क्षेत्रका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति प्रमुख एमिर गेलेनले नेपाल सरकार र नेपाल पर्यटन बोर्डसँगको सहकार्यबाट नेपालको पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने लक्ष्य राखिएको बताए।
उनले यस सहकार्यले पर्यटकलाई नेपाल भ्रमणका लागि प्रेरित गर्नुका साथै नेपाली क्रिएटरलाई अवसर प्रदान गर्ने, साना व्यवसायलाई सहयोग गर्ने र डिजिटल अर्थतन्त्रबाट सर्वसाधारणले लाभ लिन सक्ने अवसर सिर्जना गर्ने बताए।
टिकटक र नेपाल पर्यटन बोर्डबीचको यो अभियान यसअघिको सहकार्यको निरन्तरता हो। यसअघि डिजिटल स्टोरीटेलिङ सीप विकाससम्बन्धी कार्यशालामार्फत ३०० भन्दा बढी नेपाली पर्यटन उद्यमी तथा क्रिएटरलाई तालिम प्रदान गरिएको टिकटकले जनाएको छ।
नेपाल सरकार, निजी क्षेत्र, सञ्चारमाध्यमका साझेदार र क्रिएटर समुदायको सहभागितामा नेपालको पर्यटन क्षेत्रलाई दीर्घकालीन रूपमा सहयोग गर्ने उद्देश्यले यो सहकार्य अघि बढाइएको हो।