काठमाडौं । चलचित्र ‘कबड्डी : आफ्टर द फाइनल म्याच’ ले मंगलबारसम्म विश्वब्यापी १० करोड रुपैयाँ ग्रस नजिकको आम्दानी गरेको छ । निर्माता कम्पनी बाँसुरी फिल्म्स र अन्तर्राष्ट्रिय वितरक सेभेन सिज इन्टरनेसनलले कोलिग्रामसँग आम्दानी विवरणको पुष्टि गरेका छन् ।
निर्माता कम्पनी बाँसुरी फिल्म्सले प्रदर्शनको पाँचौ दिन मंगलबारसम्म फिल्मले घरेलु बक्सअफिसमा ७ करोड रुपैयाँ ग्रस कमाइ गरेको जनाएको छ ।
सेभेन सिज इन्टरनेसनलका अनुसार, फिल्मले प्रदर्शनको चौंथो दिनसम्म अमेरिकी बजारमा १ करोड रुपैयाँ ग्रस र मध्यपूर्वमा ७५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।
उक्त अन्तर्राष्ट्रिय वितरण कम्पनीका वितरक प्याट्रिक सुवेदीका अनुुसार, यो फिल्म बिहीबारदेखि अस्ट्रेलिया र न्यूजिल्यान्डमा प्रदर्शन तयारीमा छ । अस्ट्रेलियामा भने स्थानीय समायनुसार बिहान १० बजेसम्म ३५ लाख रुपैयाँ बराबर ग्रसको अग्रिम टिकट बिक्री भएको छ ।
अमेरिकाको न्यूयोर्क सिटी, टेक्सासको ड्यालस र क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा मात्र ३००० हजार जनाभन्दा धेरै दर्शकले फिल्म हेरेका छन् ।
कबड्डीको पाँचौ श्रृंखला २३ अमेरिकी राज्यका ४० हलमा प्रदर्शन भैरहेको छ । दोस्रो सातादेखि हल र शोज संख्या वृद्धि हुने सुवेदीले बताए । रोचक के छ भने, सुवेदीले ‘कबड्डी’को पहिलो भागदेखि नै अमेरिकामा फिल्म वितरण थालेका हुन् ।
यसबाहेक, बेलुकासम्म अस्ट्रेलियामा एड्भान्स टिकट सेल्स अझै राम्रो हुनसक्ने उनको भनाइ छ । सुवेदीले कोलिग्रामसँग भने, ‘अहिलेसम्म १५०० वटा टिकट बिक्री भैसकेको छ, जुन उत्साहजनक हो ।’
केही युरोपेली मुलुक र जापानसहितका पूर्वी एसियाली मुलुकको कलेक्सन जोड्दा फिल्मको कुल कमाइ १० करोड रुपैयाँ ग्रस पुग्न आउँछ । अमेरिका र मध्यपूर्वको पाँचौ दिन तथा अस्ट्रेलिया र न्यूजिल्यान्डको ओपनिङको प्रक्षेपण हेर्दा कमाइ अझै माथि जान सक्छ ।
सेभेन सिज इन्टरनेसनलले सम्भवतः आगामी सप्ताहन्तमा कमाइको औपचारिक विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ । रामबाबु गुरुङ निर्देशित यो फिल्ममा दयाहाङ राई, सिर्जना गुरुङ लगायतको शीर्ष भूमिका छ ।