म्याड्रिड (एपी) । स्पेनमा आइतबार हुने आमनिर्वाचनमा लाखौँ मतदाताले मतदान गर्दैछन् । आवासको बढ्दो मूल्य र अति दक्षिणपन्थी दलको सम्भावित प्रभाव निर्वाचनका प्रमुख मुद्दा बनेका छन् । यो निर्वाचनले स्पेनको तानाशाही शासनपछिको लोकतान्त्रिक इतिहासमा पहिलोपटक अति दक्षिणपन्थी दललाई राष्ट्रिय सरकारमा सहभागी हुने अवसरसमेत दिन सक्ने देखिएको छ ।
निर्वाचनलाई वर्तमान प्रधानमन्त्री पेद्रो सान्चेजको शासनमाथिको जनमतसंग्रहका रूपमा हेरिएको छ । वामपन्थी सोसलिस्ट पार्टीका नेता सान्चेजले विभिन्न राजनीतिक तथा आर्थिक संकटका बीच आठ वर्षदेखि स्पेनको शासन सम्हाल्दै आएका छन् । यस अवधिमा देशले आर्थिक वृद्धि पनि हासिल गरेको छ । तर, धेरै मतदाताका लागि जीवनयापनको बढ्दो खर्चले आर्थिक वृद्धिको प्रभावलाई ओझेलमा पारेको छ ।
पछिल्ला वर्षमा स्पेनी नागरिकलाई किफायती आवासको अभावले जति प्रभावित पारेको छ, त्यति अन्य कुनै मुद्दाले पारेको छैन । सहर र पर्यटकीय क्षेत्रमा घर तथा भाडाको मूल्य तीव्र रूपमा बढेपछि व्यापक असन्तुष्टि देखिएको छ । विशेषगरी युवा पुस्ता यसबाट बढी प्रभावित छ ।
गत महिना संसद्मा दक्षिणपन्थी दलहरूले सान्चेज नेतृत्वको वामपन्थी सरकारले आवाससम्बन्धी समस्या कम गर्न ल्याएका प्रस्ताव अस्वीकार गरेपछि उनले नोभेम्बर २९ का लागि अग्रिम निर्वाचन घोषणा गरेका थिए ।
सान्चेजले मतदातालाई दक्षिणपन्थी सरकार बनेमा उनीहरूको जीवनयापन सहज नहुने चेतावनी दिँदै आएका छन् । दक्षिणपन्थी सरकार आए स्पेन पछाडि फर्कने उनको भनाइ छ ।
म्याड्रिडमा ८७ वर्षीया महिलालाई उनको अपार्टमेन्टबाट हटाइएको घटनापछि देशभर प्रदर्शन भएका थिए । त्यसपछि सान्चेजले निर्वाचन घोषणा गरेका थिए । करिब पाँच करोड जनसंख्या रहेको स्पेनका विभिन्न क्षेत्रमा ती प्रदर्शन भएका थिए ।

सान्चेजको शासनमाथि विपक्षीको प्रश्न
सान्चेजका प्रमुख प्रतिस्पर्धी तथा कन्जरभेटिभ पिपुल्स पार्टी (पीपी) का विपक्षी नेता अल्बेर्तो नुनेज फेइजोले उनको शासनकालको कडा आलोचना गरेका छन् । उनले मतदातासमक्ष राजनीतिक स्थिरता र सुशासनको प्रतिबद्धता जनाएका छन् ।
फेइजोले आठ वर्षसम्म सत्तामा रहँदा पनि सान्चेज सरकारले आवास समस्याको समाधान गर्न नसकेको आरोप लगाएका छन् । यस वर्ष स्पेनको उच्च गतिको रेल सञ्जालमा भएका दुई घातक दुर्घटना, सन् २०२५ अप्रिलमा देशव्यापी विद्युत् अवरोध र उत्तर अफ्रिकास्थित स्पेनको एउटा भूभागमा देखिएको सीमा संकटलाई पनि उनले सरकारको कमजोरीका रूपमा प्रस्तुत गरेका छन् ।
सन् २०२३ मा अति वामपन्थी तथा पृथकतावादी दलहरूको समर्थनमा सत्ता कायम राखेका सान्चेजले झन्डै चार वर्षदेखि संसद्मा बजेट पारित गराउन नसकेको भन्दै फेइजोले आलोचना गरेका छन् ।
म्याड्रिडको दक्षिणमा अक्टोबरमा भएको रेल दुर्घटनामा ६९ जनाको मृत्यु भएपछि फेइजोले भनेका थिए, ‘समस्या स्पेन असफल हुनु होइन, यसको सरकार हो ।’
निर्वाचनपछि फेइजोले अति दक्षिणपन्थी भोक्स पार्टीसँग गठबन्धन बनाउने प्रयास गर्ने अपेक्षा गरिएको छ । दाह्री पालेका र बलिष्ठ शरीरका पार्टी नेता सान्टियागो अबास्कालले मुख्य रूपमा आप्रवासन नियन्त्रणलाई चुनावी मुद्दा बनाएका छन् ।
भोक्सले आफ्नो कडा आप्रवासन नीतिले मतदाताको समर्थन प्राप्त गर्ने र पीपीसँगको सत्ता समीकरणमा निर्णायक भूमिका खेल्न सक्ने अपेक्षा गरेको छ ।
युरोपको पनि चासो
पछिल्ला वर्षमा स्पेनले मुख्य रूपमा ल्याटिन अमेरिका, अफ्रिका र युरोपका अन्य क्षेत्रबाट लाखौँ आप्रवासीलाई स्वागत गरेको छ । जनगणनाको तथ्यांकअनुसार स्पेनका प्रत्येक पाँच बासिन्दामध्ये एक जनाको जन्म स्पेनबाहिर भएको हो ।
यसै वर्ष स्पेन सरकारले आवश्यक अनुमति नलिई देशमा बसिरहेका झन्डै १२ लाख आप्रवासीको बसोबासलाई कानुनी मान्यता दिएको थियो ।
फेइजो र अबास्काल दुवैले सान्चेज सरकारको आप्रवासनमैत्री नीतिले सर्वसाधारण स्पेनी नागरिकलाई नोक्सान पुर्याएको दाबी गर्दै आएका छन् । उनीहरूले आप्रवासनको विषयलाई आवासको माग र आपूर्तिबीचको असन्तुलन तथा सार्वजनिक सेवामा परेको दबाबसँग जोड्ने गरेका छन् । दुवै नेताले आप्रवासीलाई कानुनी मान्यता दिने सरकारी निर्णयको विरोध गरेका छन् ।
पीपीसँग कनिष्ठ साझेदारका रूपमा भोक्स नयाँ सरकारमा सहभागी भएमा सन् १९७५ मा स्पेनका सैन्य तानाशाह जनरल फ्रान्सिस्को फ्रान्कोको मृत्युपछि पहिलोपटक अतिराष्ट्रवादी अति दक्षिणपन्थी दल सत्तामा फर्कनेछ ।
सन् २०२७ मा फ्रान्स, इटाली, ग्रिस र पोल्यान्डमा निर्वाचन हुनुअघि स्पेनको परिणामलाई युरोपभर चासोका साथ हेरिनेछ ।
फ्रान्समा अति दक्षिणपन्थी नेसनल र्याली पार्टी सत्तामा पुग्ने लक्ष्यसहित अघि बढिरहेको छ भने इटालीमा प्रधानमन्त्री जर्जिया मेलोनी नेतृत्वको दक्षिणपन्थी गठबन्धन अर्को कार्यकालका लागि प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।
३ करोड ८० लाख मतदाता
स्पेनमा प्रधानमन्त्रीको चयन संसद्ले गर्छ । पहिलो चरणको संसदीय मतदानमा प्रधानमन्त्रीका उम्मेदवारलाई पूर्ण बहुमत अर्थात् कम्तीमा १७६ सांसदको समर्थन आवश्यक पर्छ । यसका लागि प्रायः गठबन्धन सम्झौता वा अन्य दलको समर्थन लिनुपर्ने हुन्छ ।
पहिलो मतदानमा पूर्ण बहुमत प्राप्त गर्न नसके दोस्रो मतदान हुन्छ । त्यसमा विपक्षमा भन्दा पक्षमा बढी मत प्राप्त गरे उम्मेदवार प्रधानमन्त्री बन्न सक्छन् ।
आइतबारको निर्वाचनअघि गरिएका विभिन्न जनमत सर्वेक्षणमा सान्चेजको सोसलिस्ट पार्टी पीपी र भोक्सको संयुक्त समर्थनभन्दा पछाडि देखिएको थियो । सरकार गठनका लागि सान्चेजले सोसलिस्ट पार्टीभन्दा वामपन्थी विचारधारा नजिकका साना दलको समर्थन लिनुपर्ने हुन सक्छ ।
तर, निर्वाचनअघि ती दलबीच देखिएको आन्तरिक विवादले सन् २०२३ मा गठन गरिएको जस्तै प्रगतिशील गठबन्धन बनाउने सान्चेजको प्रयास कमजोर हुन सक्ने अपेक्षा गरिएको छ ।
क्याटालोनिया, बास्क क्षेत्र, गालिसिया र क्यानरी टापुका परम्परागत क्षेत्रीय दलहरूले पनि निर्वाचन परिणाम नजिकको प्रतिस्पर्धामा रहेमा सरकार गठनमा भूमिका खेल्न सक्छन् ।
स्पेनमा सामान्यतया विद्यालय, सामुदायिक केन्द्र, नगर भवन तथा अन्य स्थानीय सरकारी सुविधामा मतदान केन्द्र राखिन्छन् । मतदाताले हुलाकमार्फत पनि मतदान गर्न सक्छन् । यद्यपि, प्रत्यक्ष मतदानको तुलनामा हुलाकमार्फत मतदान कम लोकप्रिय छ ।
यस निर्वाचनमा करिब ३ करोड ८० लाख नागरिक मतदानका लागि योग्य छन् । स्थानीय समयअनुसार बिहान ९ बजे सुरु हुने मतदान मुख्य भूभागमा राति ८ बजे सकिनेछ । पश्चिम अफ्रिकाको तट नजिक रहेको स्पेनको क्यानरी टापुमा भने एक घण्टापछि मतदान बन्द हुनेछ ।
मतगणना छिटो हुने भएकाले सामान्यतया केही घण्टाभित्रै निर्वाचनको परिणाम थाहा हुने गर्छ ।
दुई फरक राजनीतिक पृष्ठभूमिका प्रमुख प्रतिस्पर्धी
म्याड्रिडमा जन्मिएका र अर्थशास्त्रका पूर्वप्राध्यापक सान्चेज विश्वभरका वामपन्थी वृत्तमा लोकप्रिय नेता बनेका छन् । गाजामा इजरायल र हमासबीचको युद्धलाई उनले नरसंहारको संज्ञा दिँदै आफ्नो सरकारले इजरायलको विरोध गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति पनि उनले विरोध जनाउँदै आएका छन् ।
इरान युद्धका विषयमा पनि उनले अमेरिका र इजरायलको कडा आलोचना गरेका छन् । प्यालेस्टाइनलाई स्वतन्त्र राज्यका रूपमा औपचारिक मान्यता दिने पश्चिमी युरोपका प्रमुख नेतामध्ये उनी अग्रणी थिए ।
उनको सरकारले जलवायु प्रतिबद्धतालाई तीव्रता दिँदै सन् २०५० सम्म देशको सम्पूर्ण ऊर्जा नवीकरणीय स्रोतबाट उत्पादन गर्ने लक्ष्य राखेको छ । स्पेनले अहिले नै आफ्नो कुल विद्युत् उत्पादनको आधाभन्दा बढी हिस्सा कार्बन उत्सर्जन नगर्ने स्रोतबाट उत्पादन गर्दै आएको छ ।
सान्चेजले बहुपक्षीयता र अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्थाको पक्षमा नियमित रूपमा आवाज उठाउँदै आएका छन् । उनले कृत्रिम बुद्धिमत्ता (एआई) को नियमनलाई पनि जोड दिएका छन् । अंग्रेजी भाषामा सहज रूपमा बोल्ने उनी स्पेनका पहिलो प्रधानमन्त्री हुन् ।
तर, सान्चेजको पार्टी र उनको निकट राजनीतिक वृत्तका सदस्यहरू भ्रष्टाचारसम्बन्धी कानुनी मुद्दामा मुछिएका छन् । ती मुद्दामा पूर्वमन्त्री र उच्च अधिकारीसमेत जोडिएका छन् । यसले सान्चेज र सोसलिस्ट पार्टीप्रतिको जनविश्वास कमजोर बनाएको छ ।
यसको विपरीत फेइजो उत्तरपश्चिमी स्पेनको ग्रामीण क्षेत्र गालिसियाका हुन् । उनी लामो समय सरकारी सेवामा रहेपछि राजनीतिमा आएका हुन् । अंग्रेजी नबोल्ने उनी आफूलाई व्यावहारिक, मध्यमार्गी र प्रभावकारी प्रशासकका रूपमा प्रस्तुत गर्छन् ।
२७ लाख जनसंख्या रहेको गालिसिया क्षेत्रको १३ वर्ष नेतृत्व गर्दा उनले लगातार निर्वाचन जितेका थिए । प्रधानमन्त्री निर्वाचित भएमा उनले अमेरिका र इजरायलसँगको सम्बन्ध सुधार गर्ने अपेक्षा गरिएको छ ।