नयाँ दिल्ली । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म भारत र उज्बेकिस्तानको भ्रमण गर्ने भएका छन् । भारतमा उनले मुम्बई र जामनगरको भ्रमण गरी ऊर्जा, व्यापार, लगानी र रणनीतिक सहकार्यबारे छलफल गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
भारत आउनुअघि रुबियोले उज्बेकिस्तानमा हुने ‘सी-५ प्लस वान’ मन्त्रिस्तरीय बैठकमा सहभागी भई मध्यएसियाका पाँच देशका अधिकारीहरूसँग वार्ता गर्नेछन् । उनीसँगै २०० भन्दा बढी अमेरिकी व्यावसायिक प्रतिनिधि पनि सहभागी हुनेछन् ।
यसैबीच, भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले रक्षा, सूचना प्रविधि र स्वास्थ्य सेवामा दुई देशबीच सहकार्य विस्तार भइरहेको बताउनुभएको छ । उनका अनुसार हालैको सैन्य अभ्यासमा ५०० भन्दा बढी सैनिक सहभागी भएका थिए भने राजस्थानमा पहिलोपटक अमेरिकी एफ-३५ लडाकू विमान सहभागी भएको थियो ।
गोरले भारतबाट अमेरिकाले ठूलो परिमाणमा जेनेरिक औषधि आयात गरिरहेको र दुवै देशका कम्पनीले एकअर्काको बजारमा लगानी विस्तार गरिरहेको बताए । उनले प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत साता भएको कुराकानीले द्विपक्षीय सहकार्यका थप अवसर खुल्ने अपेक्षा व्यक्त गरे ।
रुबियोको यो वर्षको दोस्रो आधिकारिक भारत भ्रमण हुनेछ । यसअघि उनले मे २३ देखि २६ सम्म भारत भ्रमण गरेका थिए ।