वासिङ्टन (बीबीसी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई निरन्तरता दिँदै चीनसहित १४ देश तथा व्यापारिक क्षेत्रमाथि नयाँ भन्सार शुल्क घोषणा गरेका छन्।
अमेरिकामा आयात हुने वस्तुमा लगाइने नयाँ शुल्कले चीन, युरोपेली संघसहित अमेरिकाका प्रमुख व्यापारिक साझेदारलाई प्रभावित गर्नेछ। प्रस्तावित शुल्कअनुसार चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म कर लाग्नेछ। भियतनाममाथि ३५ प्रतिशतसम्म र अन्य देशमाथि २० वा २५ प्रतिशतसम्म शुल्क लगाउने प्रस्ताव गरिएको छ।
यद्यपि, नयाँ शुल्क अर्को वर्षदेखि मात्रै लागू हुने अपेक्षा गरिएको छ।
यसअघि अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले घोषणा गरेको ‘लिबरेसन डे’ भन्सार शुल्कलाई गैरकानुनी ठहर गरेपछि ह्वाइट हाउसले मार्चमा अन्य देशको व्यापारिक अभ्यासबारे अनुसन्धान थालेको थियो। पछिल्लो शुल्क घोषणा त्यही अनुसन्धानपछि आएको हो।
नयाँ प्रस्तावित शुल्क चीन, युरोपेली संघ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश, जापान र भारतमाथि लागू हुनेछ।
तर, ट्रम्पले सहमति जनाएका भन्सार शुल्कको अधिकतम सीमाका कारण केही देशका हकमा प्रस्तावित दर प्रभावकारी रूपमा कम हुनेछ। त्यस्तै, प्रत्येक देशले फरक दरको शुल्क सामना गर्नुपर्नेछ।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले नयाँ शुल्कले अमेरिकी श्रमिकका लागि प्रतिस्पर्धाको मैदान समान बनाउने र विश्व अर्थतन्त्रलाई थप दिगो दिशामा अघि बढाउने दाबी गरेका छन्।
उनका अनुसार अमेरिकाका धेरै व्यापारिक साझेदारले दशकौंदेखि उत्पादन क्षेत्रलाई लक्षित गर्ने औद्योगिक रणनीति अपनाएका छन्। त्यस्ता रणनीतिमा उत्पादन, ज्याला तथा श्रमको लागत दबाउने नीतिका साथै व्यापार सन्तुलन आफ्नो पक्षमा पार्ने र अमेरिकी उत्पादन आधार कमजोर बनाउने बजारलाई प्रभावित गर्ने अभ्यास समावेश रहेको उनको आरोप छ।
तर, अर्थशास्त्रीहरूले भन्सार शुल्कले मुद्रास्फीति बढाउन र उपभोक्ताका लागि वस्तुको मूल्य महँगो बनाउन सक्ने चेतावनी दिएका छन्। आयातमा लाग्ने अतिरिक्त लागत व्यवसायीले उपभोक्तामाथि सार्न सक्ने उनीहरूको भनाइ छ। यसले विश्व व्यापारसमेत सुस्त बनाउन सक्छ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा पटकपटक भन्सार शुल्क लगाउने चेतावनी दिँदै आएका छन् र केही शुल्क कार्यान्वयनसमेत गरेका छन्। अमेरिकी उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने उनको दाबी छ।
मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कमजोर नतिजा हासिल गरे पनि ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाइरहेका छन्।
अमेरिकाले व्यापार घाटा घटाउने लक्ष्यसमेत राखेको छ। व्यापार घाटा भन्नाले अन्य देशबाट अमेरिकाले खरिद गर्ने वस्तुको मूल्य र ती देशलाई अमेरिकाले बिक्री गर्ने वस्तुको मूल्यबीचको अन्तर हो।
तर, क्यापिटल इकोनोमिक्सका प्रमुख उत्तर अमेरिका अर्थशास्त्री स्टेफन ब्राउनले पछिल्लो शुल्क घोषणा देखिएजति चिन्ताजनक नभएको बताएका छन्। उनका अनुसार नयाँ शुल्कले गर्मीयाममा घोषणा गरिएका पुराना शुल्कलाई मूलतः प्रतिस्थापन गर्ने भएकाले यसको वास्तविक प्रभाव सीमित हुन सक्छ।
उनले एक विश्लेषणात्मक टिप्पणीमा भनेका छन्, ‘प्रभावकारी भन्सार शुल्क दरमा हुने वृद्धि हाम्रो पूर्वानुमानभन्दा केही कम हुने देखिन्छ। यद्यपि, नयाँ शुल्कले वस्तुको मूल्यमा सामान्य वृद्धि गराउनेछ।’
उनले थपेका छन्, ‘मुख्य कुरा अतिरिक्त भन्सार शुल्कको भार सानो हुने सम्भावना छ, विशेषगरी विभिन्न वस्तुहरू पनि यी नयाँ शुल्कको दायरामा नपर्ने भएकाले।’
नयाँ घोषणाले विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको तनाव थप बढाउन सक्ने सम्भावना छ। यी दुई देश व्यापार विवादसँगै कृत्रिम बुद्धिमत्ता ९एआई० प्रविधिको प्रतिस्पर्धामा पनि छन्।
दुवै देशबीच एकअर्काविरुद्ध भन्सार शुल्क लगाउने प्रतिस्पर्धा जारी रहे पनि अहिले त्यसलाई अस्थायी रूपमा रोकिएको छ।
गत साता ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भए पनि व्यापार युद्धमा गरिएको अस्थायी विरामबारे दुवै पक्षले कुनै नयाँ घोषणा गरेनन्। उक्त सहमतिको अवधि आगामी जनवरी १० मा समाप्त हुँदैछ।
यसैबीच, युरोपेली आयोगले अमेरिकाको नयाँ भन्सार शुल्क प्रस्ताव अस्वीकार गरेको छ। आयोगले शुल्क लगाउनुको अमेरिकी कारणबारे अनुसन्धान गर्ने जनाएको छ। उसले यसअघि सहमति भएको १५ प्रतिशतको सीमाभित्रै शुल्क रहनुपर्ने पनि स्मरण गराएको छ।