काठमाडौं । सत्तारुढ दल रास्वपाको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी छ । बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी छ । बैठकमा एक केन्द्रीय सदस्यले पार्टी विधानको नयाँ व्यवस्था राखिएकोबारे सभापति रवि लामिछानेलाई प्रश्न सोधेका थिए ।
प्रश्नकर्ता केन्द्रीय सदस्यले सभापतिले संसदीय दलको नेता हटाउन सक्ने व्यवस्थाबारे चासो राखेपछि सभापति लामिछानेले आश्वस्त पार्ने कोशिस गरेका छन् । जवाफमा रविले भने, ‘यो पाँच वर्ष मात्रै होइन । अर्को पाँच वर्ष पनि त्याग गर्न तयार छु ।’
रास्वपाको संसदीय दलको नेता बालेन शाह छन् । उनी आजमात्रै वरिष्ठ नेता मनोनित भएका छन् । रास्वपा विधानअनुसार संसदीय दलको नेता चयन भएपछि मात्रै प्रधानमन्त्री बन्न पाइन्छ ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार विधानको उक्त व्यवस्था खराब मनसायले नराखिएको स्पष्ट पार्न रविले उक्त कुरा भनेका थिए। पार्टीको वरिष्ठ नेतामा शाहलाई मनोनित गर्नु बाहेक अन्य पदमा आज मनोनित गरिएन ।
आजको बैठकमा सभापति लामिछानेले थप मनोनित अर्को बैठकबाट हुने जानकारी गराए । साथै उनले मनोनित पद सबैमा एकैपटक मनोनित नहुने पनि बताएका थिए ।
समावेशिताको आधारमा रिक्त पदमा मनोनित गर्दै जाने जानकारी उनले गराएका थिए।
