काठमाडौँ । प्रधानमन्त्री बालेन शाह आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । उच्च स्रोतले कोलिग्राम पोस्टलाई दिएको जानकारीअनुसार, भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री शाहले आधा घण्टा एक्लाएक्लै वार्ता गर्नेछन् ।
मोदीको निम्तोमा नयाँ दिल्ली जान लागेका प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक घोषणा भने हुन बाँकी छ । भ्रमणमा नेपालले लामो समयदेखि उठाउँदै आएको भारतीय आकाश हुँदै हवाई रुट उपलब्ध गराउनेसहितका विभिन्न विषयमा सहमति जुट्ने अपेक्षा गरिएको छ ।
भ्रमण तालिकाअनुसार प्रधानमन्त्री शाहको भारत भ्रमण दुई दिनको हुनेछ । शाह आफ्नो प्रतिनिधिमण्डलसहित मंसिर ६ मा दिल्ली पुग्नेछन् र भ्रमण पूरा गरेर भोलिपल्ट स्वदेश फर्कनेछन् ।
स्रोतका अनुसार, प्रतिनिधिमण्डलस्तरीय वार्तापछि शाह र मोदीबीच आधा घण्टा एक्लाएक्लै भेटवार्ता हुनेछ । त्यसपछि दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुने जनाइएको छ ।
यसअघि केपी शर्मा ओलीले सन् २०१६ र २०१८ मा दुईपटक भारतको राजकीय भ्रमण गरेका थिए । त्यसैगरी पुष्पकमल दाहाल र शेरबहादुर देउवाले क्रमशः सन् २०१६ र २०१७ मा एक–एकपटक राजकीय भ्रमण गरेका थिए ।