काठमाडौँ । सहकारी ठगी र संगठित अपराधको कसुरमा फरार रहेका जीबी राई ‘स्वदेश फर्किन चाहेको’ प्रेस विज्ञप्ति र अडियो सन्देश सार्वजनिक भएको छ ।
सेतोपाटी अनलाइनले शनिबार सार्वजनिक गरेको अडियोमा राईले ‘सेयरधनी, बचतकर्ता, ऋणी र सरकार’ लाई सम्बोधन गर्दै सहकारी संस्था, कम्पनी र अन्य विषयवस्तुबारे जानकारी गराएका छन् । राईको भनिएको विज्ञप्तिमा विगतमा ‘तत्कालीन सरकारबाट सहयोग र सहकार्यको अपेक्षा गरिएको’ तर सहयोगको सट्टा बचतकर्ताहरूलाई मुद्दा हाल्न प्रेरित गरिएको उल्लेख छ ।
‘विभिन्न शीर्षक तयार पारेर अनेक ठाउँमा मुद्दा दर्ता गरियो । परिस्थिति यति जटिल बन्यो कि ज्यान मार्ने धम्कीसम्म आउन थालेपछि बाध्य भएर भूमिगत हुनुपर्ने अवस्था सिर्जना भयो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि अन्तर्राष्ट्रिय माध्यमबाट समेत खोजी गर्ने काम भयो । म आज एउटा प्रश्न गर्न चाहन्छु, के मेरो पक्राउ नै यो सम्पूर्ण समस्याको समाधान हो ?’
पक्राउ नै समाधान हो भने आफैं उपस्थित हुने तर त्यसो गर्दा लाखौं बचतकर्ताको अर्बौं रकम फिर्ता नआउने उनले बताएका छन् । उनले भनेका छन्, ‘सरकारलाई मेरो आग्रह छ, मेरो खोजीमा संयुक्त रूपमा शक्ति प्रयोग गर्नुपर्दैन । म बचतकर्ताहरूको रकम निश्चित समयभित्र विभिन्न वैकल्पिक उपाय अवलम्बन गरी व्यवस्थापन गर्न प्रतिबद्ध छु ।’
राईका जेठान ज्ञानबहादुर बमजनले सेतोपाटीलाई प्राप्त अडियो सुनेर त्यो आवाज उनकै भएको बताएका छन् । ‘हामीले फरेन्सिक ल्याबमा परीक्षण गरेर राईको अडियो पुष्टि गरेका छैनौं,’ सेतोपाटीले भनेको छ ।
राईको भनिएको अडियो सार्वजनिक भएपछि प्रहरी अधिकारीहरूले अडियोको सत्यता परीक्षण गर्ने तयारी गरिएको बताएका छन् । ‘सञ्चारमाध्यममा अडियो आएको थाहा पायौं । त्यो सत्य हो कि होइन भन्ने भेरिफाई गर्न खोजिरहेका छौं,’ एक अधिकारीले भनेका छन् ।
राईविरुद्ध पोखराको सूर्यदर्शन, चितवनको साहारा, वीरगन्जको सानो पाइला, बुटवलको सुप्रिम, नेपालगन्जको समानता र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा रहेको हजारौं सर्वसाधारणको बचत रकम हिनामिना गरेको अभियोग छ ।