काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहिबार भेटवार्ता भएको हो ।
भेटमा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा-भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री दिनुका साथै उद्धार टोली खटाएर पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।
प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालले विपद्को सामना गरिरहेका बेला फोनमार्फत सहयोगको ऐक्यवद्धता जनाएकोमा समेत आभार व्यक्त गरेका थिए । नेपालको खेलकुदको विकासका लागि भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि प्रधानमन्त्री शाहले चासो राखेको जनाइएको छ ।
भेटमा विदेशसचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित जानकारी गराएका थिए । उनले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल हुने गरी आफूहरुले तयारी गरिरहेको बताएका थिए ।
साथै, भारतीय विदेश सचिव मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार-पारवहन र उड्डयनसम्बन्धी नेपाल र भारतका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको बताएका थिए ।
भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पुगेको समेत उनले प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए । आजै यो मार्गमा रेल परीक्षण सञ्चालन समेत भएको जानकारी उनले प्रधानमन्त्री शाहलाई गराएका थिए ।