Paywear Banner Desktop
Paywear Banner Desktop

प्रधानमन्त्रीको भारत भ्रमण : औपचारिकताभन्दा ठोस नतिजाको अपेक्षा

आम प्रतीक्षालाई थाती राख्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह अन्ततः भारत भ्रमणतर्फ जाने निश्चित भएको छ । प्रधानमन्त्री बालेन लामो राजनीतिक प्रतीक्षा, कूटनीतिक उतारचढाव र उच्चस्तरीय तयारीपछि मंसिर ६ गते भारतको दुईदिने राजकीय भ्रमणामा जाँदै छन् ।

गत चैतमा सरकारको नेतृत्व सम्हालेयता उनको यो पहिलो भारत भ्रमण हो । उनी ७ गते स्वदेश फिर्ताको कार्यक्रम छ । विगतका प्रधानमन्त्रीको तुलनामा निकै छोटो अर्थात् करिब साढे २५ घण्टाको भारत बसाइलाई तामझाम र औपचारिकताभन्दा माथि उठेर ‘कामकाजी र परिणाममुखी कूटनीति’ को नयाँ प्रयोगका रूपमा हेरिएको छ ।

लामो समयपछि नेपालका कार्यकारी प्रमुखले गर्न लागेको भारतको यो भ्रमणलाई निकै महत्वपूर्ण मानिएको छ । यो भ्रमणका क्रममा नेपालले कस्ता एजेण्डा उठाउने र कस्तो समझदारी गर्ने भन्ने कुरा आमचासोको विषय बनेको छ । समग्रमा अघिपछिको तुलनामा यो भ्रमणलाई फलदायी बनाउनुपर्ने कुरामा जानकारहरुको जोड छ । यतिमात्र होइन नेपालको इतिहासमा मुलुकको कार्यकारी प्रमुख बन्ने अवसर पाएका प्रथम मधेशी हुन अहिलेका प्रधानमन्त्री ।

यस्तोमा यो भ्रमण समग्र नेपालका साथै मधेशका लागि पनि उपलक्धिमूलक हुने कुरामा मधेशवादी आशावादी देखिएका छन् । मधेश मामिलाका जानकारहरुले विगतमा नेपाली प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा मधेशका मुद्दा खासै नउठाउने गरिएको टिप्पणी गर्छन । उनीहरुको दृष्टिकोण छ- मधेशलाई हेर्ने काठमाडौको दृष्टि नै दोषपूर्ण रहँदै आएको अवस्थामा हालका प्रधानमन्त्रीको आसन्न भारत भ्रमणले केही आशा त जगाएको छ । प्रधानमन्त्रीको तराई क्षेत्रसँगको निकटतालाई समेत भारतसँगको सम्बन्ध विस्तारका लागि अवसरका रूपमा व्याख्या गर्न सकिन्छ ।

नेपालको आधाभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने तराई क्षेत्र भारतसँग खुला सिमानाले जोडिएको छ । सीमावर्ती क्षेत्रमा उद्योग, व्यापार र रोजगारीका अवसर विस्तार गर्नु आजको आवश्यकता हो । सीमावर्ती क्षेत्रमा भारतका औद्योगिक समूहलाई लगानीका लागि आकर्षित गर्न सके रोजगारी सिर्जना, औद्योगिक विकास र व्यापार विस्तारमा निश्चय पनि सहयोग पुग्न सक्छ ।

कुनै दुई मत छैन नेपाल र भारतबीच खुला सिमाना, गहिरो सांस्कृतिक सामिप्य र विशाल आर्थिक निर्भरता छ । मधेश यसको प्रत्यक्ष साक्षी रहँदै आएको छ । नेपालको दक्षीणी भू-भाग र भारतको उत्तरी भू-भाग राजनीतिक दृष्टिले फरक रहे पनि इतिहास र संस्कृतिले दुबै भूगोललाई जोडेको यथार्थ विर्सन मिल्दैन । तर पछिल्लो समय केही राजनीतिक तथा सीमासम्बन्धी विषयले दुई देशबीचको संवादमा केही चिसोपन देखिएको सबैका सामु स्पष्ट छ ।

यस्तोमा आपसमा विश्वासको वातावरण निर्माण, आवश्यक छ । पछिल्लो निर्वाचनबाट नेपालमा सत्ता परिवर्तन मात्रै नभई राजनीतिक नेतृत्व र पुस्तामै ठूलो परिवर्तन आएको छ । निश्चय पनि यस पटकको भारतसँगको उच्चस्तरीय भेटवार्ताले आपसी सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्नेछ । भारतको ‘छिमेकी पहिलो’ नीतिका साथै नेपालसँगको ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत सम्बन्धका कारण नेपालको नयाँ राजनीतिक नेतृत्वप्रति भारतको चासोलाई स्वाभाविक मान्नुपर्ने हुन्छ ।

यो भ्रमणका क्रममा केही यस्ता पक्ष छन जसका बारेमा सम्बोधन हुने अपेक्षा गरिएको छ । नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै सरकारको नेतृत्वमा पुगेका प्रधानमन्त्री शाहको यो भ्रमणले दुई देशको शीर्ष नेतृत्वबीच सिधा संवाद र आपसी विश्वासको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गर्नु अस्वाभाविक हुँदैन ।

प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपालमा आएको राजनीतिक तथा पुस्तागत परिवर्तनबारे भारतीय नेतृत्वलाई बुझाउने र दुई देशबीचको विश्वास अभिवृद्धि गर्ने अवसरका रूपमा लिइनु उपयुक्त हुन्छ र भारतले पनि यो कुरा बुझ्नु जरुरी छ ।

यो भ्रमण विपद्पछिको पुनर्निर्माणका दृष्टिले पनि महत्वपूर्ण हुन सक्ने विश्वास गरिएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएकोे विनाशकारी बाढीले पुर्‍याएको क्षतिपछि नेपाललाई ठूलो आर्थिक तथा प्राविधिक सहयोग आवश्यक छ ।

यस बाढीका कारण रसुवा, नुवाकोट, धादिंगलगायतका जिल्लामा जनधनको ठूलो क्षति भएको कसैबाट लुकेको छैन । छिमेकीको नाताले भारतबाट पुनर्निर्माणका लागि ठोस प्याकेज सुनिश्चित गर्न यो भ्रमण उपलब्धिमूलक हुने अपेक्षा गरिनु अन्यथा हुने छैन ।

यस भ्रमणका सन्दर्भमा प्रधानमन्त्रीका स्तरबाट नेपालले भारतसमक्ष आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राख्दै व्यावहारिक र कार्यान्वयनयोग्य एजेन्डाहरू प्रष्टसँग राख्नु वाञ्छनीय छ ।

यस क्रममा हवाई मार्ग (एयर रुट) को सहज उपलब्धताको सन्दर्भ निकै महत्वपूर्ण छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन र यसको एउटा कारण हवाई मार्गको सहज उपलब्धताको अभावलाई पनि मानिएको छ । प्रधानमन्त्रीको यस पटकको भ्रमणका क्रममा नेपालले यस विषयमा ठोस सहमति जुटाउने प्रयास गरेर उपलब्धि प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

यस्तै ऊर्जा व्यापार र प्रसारण लाइनको मुद्दा पनि महत्वपूर्ण मानिएको छ । पछिल्लो समयमा नेपालको जलविद्युत उत्पादन बढ्दै गएको छ । विगतमा विद्युतको आयात गर्नुपर्ने अवस्थामा रहेको नेपाल हाल सन्दर्भमविद्युत निर्यात गर्न सकिने सुखद अवस्थामा पुगिरहेको छ । यस सन्दर्भमा भारतीय बजारमा विद्युत निर्यातको दीर्घकालीन सुनिश्चितता र अन्तरदेशीय प्रसारण लाइनहरूको तीव्र विस्तार नेपालको भविष्यको मुख्य आर्थिक आधार हुने निश्चित छ ।

यस्तै नेपाल र भारतबीचको छलफलको अर्को विषय भनेको व्यापार घाटा न्यूनीकरण र गैर-भन्सार अवरोधको सुनिश्चितता हो । भारतसँगको चुलिँदो व्यापार घाटा कम गर्न नेपाली कृषि तथा औद्योगिक उत्पादनले भारतीय बजारमा भोग्नुपरेका विविध समस्या र गैर-भन्सार अवरोधहरू हटाउन दुबै देशबीच स्पष्ट सहमति आवश्यक छ ।

यसै गरी अलपत्र आयोजनाको तीव्रता र ‘कनेक्टिभिटी’का सन्दर्भमा पनि छलफलले सकारात्मक निष्कर्ष प्राप्त गर्नु अपरिहार्य छ । जनकपुर-अयोध्या रेल सेवाको औपचारिक सुरुवात हुने भनिएको त छ तर यसको भविष्यबारे थप सुनिश्चित हुनु आवश्यक छ । अहिले साताको एक दिन सञ्चालन हुने भनिएको यो सेवाको दीगोपनाका बारेमा थप निर्णय हुनुपर्ने जनकपुरवासीको चासोलाई अस्वभाविक मान्न मिल्दैन । यससँगै जयनगर-बर्दिबास रेल विस्तार, रक्सौल-काठमाडौं रेलमार्ग र वर्षौंदेखि रोकिएका पञ्चेश्वरलगायतका पूर्वाधार परियोजनामा समयसीमा तोकेर काम अघि बढाउनुपर्र्ने विषय पनि प्रधानमन्त्रीको भ्रमणको एजेण्डा बन्न सक्नुपर्छ ।

भ्रमणका क्रममा सीमा र सन्धि-सम्झौतामा परिपक्व संवादको अपेक्षा पनि गरिएको छ । लिपुलेकलगायतका सीमा विवाद र १९५० को सन्धि पुनरावलोकनजस्ता संवेदनशील विषयलाई अब पनि कति पन्छाइरहने रु निश्चय पनि यी मुद्दाको कूटनीतिक संयन्त्रमार्फत समाधान खोज्ने प्रयास आवश्यक छ ।

यस पृष्ठभूमीमा भ्रमणलाई सफल र फलदायी बनाउन प्रधानमन्त्री स्तरबाट केही गम्भीर पहल आवश्यक छ । सबैलाई थाहै छ, विगतका भ्रमणहरूमा दर्जनौँ सम्झौता हुने तर कार्यान्वयन नहुने रोग कायम छ । यस्तो अवस्थामा नयाँ आश्वासनमा रुमल्लिनुभन्दा विगतमा सम्झौता भइसकेका परियोजनाको कार्यान्वयन तालिकामा सहमति कायम गर्नु उचित हुनेछ ।

समग्रमा भन्ने हो भने प्रधानमन्त्री शाहको यो भारत भ्रमण केवल एक नियमित कूटनीतिक औपचारिकतामात्र होइन, नेपालको बदलिँदो राजनीतिक नेतृत्वको कूटनीतिक परिपक्वताको परीक्षा पनि हो भन्दा गलत ठहर्दैन ।

नेपाल न्यूज बैंकबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!