काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी पुस २० गते (४ जनवरी २०२७) मा काठमाडौंमा ‘प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन’ आयोजना गर्ने भएको छ ।
‘महिला सशक्तिकरणको आधारः रोजगारी, उद्यम र व्यापार’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सम्मेलन नेपाल सरकारसँगको सहकार्यमा सम्पन्न गरिने विहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो ।
सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघको दुई दशकभन्दा लामो इतिहासमा महिला नेतृत्व, उद्यमशीलता तथा आर्थिक सशक्तिकरणलाई केन्द्रमा राखेर विश्वस्तरीय सम्मेलन आयोजना गर्न लागिएको यो पहिलो पटक हो ।
विश्वका ९० देशमा रहेका गैरआवासीय नेपाली महिला तथा स्वदेशका विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूलाई एउटै मञ्चमा जोड्दै अनुभव, ज्ञान र सीप आदानप्रदान गर्ने सम्मेलनको प्रमुख उद्देश्य रहेको छ ।
साथै, महिला सशक्तिकरणका क्षेत्रमा विद्यमान नीतिगत, कानुनी तथा व्यवहारिक चुनौतीहरूको पहिचान गरी तिनको समाधानका लागि आवश्यक पहल र कार्यदिशा तय गर्ने लक्ष्य राखिएको छ।
सम्मेलनमा महिला सशक्तिकरणसँग प्रत्यक्ष सरोकार राख्ने चारवटा प्रमुख विषयगत क्षेत्रमा केन्द्रित रहेर बृहत् छलफल, कार्यपत्र प्रस्तुति तथा अन्तरक्रिया सञ्चालन गरिनेछ। महिला सशक्तिकरणसँग सम्बन्धित विद्यमान ऐन, निर्देशिका, नीति तथा संस्थागत संरचनाको समीक्षा गर्दै तिनमा रहेका चुनौती र सुधारका सम्भावित क्षेत्रबारे छलफल गरिनेछ। विशेषगरी डायस्पोरा समुदायका महिलाका अधिकार, अवसर तथा आवश्यक कानुनी सुधारका विषयलाई प्राथमिकताका साथ उठाइनेछ ।
वैदेशिक रोजगारीमा जानुअघिको तयारी, गन्तव्य मुलुकमा महिलाको सुरक्षा, अधिकार तथा मानसिक स्वास्थ्यका सवाल र स्वदेश फर्किएपछि सम्मानजनक पुनःएकीकरणका विषयमा छलफल गरिनेछ । यस प्रक्रियामा गैरआवासीय नेपाली संघको भूमिका र आवश्यक सहकार्यका क्षेत्रसमेत पहिचान गरिने एनआरएनएका उपाध्यक्ष राधिका गुरुङ (टीका)ले जानकारी दिइन् ।
उनले भनिन्, ‘स्वदेश तथा विदेशमा रहेका नेपाली महिला उद्यमीबीच व्यवसायिक साझेदारी र सहकार्य विस्तार, वित्तीय स्रोत तथा प्रविधिमा पहुँच अभिवृद्धि र महिला उद्यमशीलताको विकासका विषयमा छलफल गरिनेछ। साथै, नेपाली मौलिक उत्पादनको उत्पादन, प्रवद्र्धन, बजारीकरण तथा अन्तर्राष्ट्रिय निर्यातमा महिलाको सहभागिता विस्तार गर्ने सम्भावनाबारे विमर्श हुनेछ ।’
साथै उनले रसुवा–भोटेकोशी बाढीलगायतका प्राकृतिक विपद् तथा जलवायु परिवर्तनले महिला र बालबालिकामा पारेका प्रभाव, जलवायु न्याय तथा विपद् व्यवस्थापनमा महिलाको भूमिकाबारे छलफल गरिने बताइन् ।
उनका अनुसार सम्मेलनमा लैङ्गिक हिंसा तथा मानव बेचबिखनविरुद्ध महिला र बालबालिकाको सुरक्षा एवं संरक्षणका विषयलाई समेत प्राथमिकता दिइनेछ ।
महिला सशक्तिकरणबिना राष्ट्रको दिगो तथा समावेशी समृद्धि सम्भव नहुने मान्यतासहित आयोजना हुन लागेको सम्मेलनले स्वदेश तथा विदेशका विभिन्न क्षेत्रमा सफलता हासिल गरेका नेपाली महिलाका प्रेरणादायी अनुभव र सफलताका कथालाई उजागर गर्ने अपेक्षा गरिएको छ।
साथै, नेपालका सातै प्रदेश तथा स्थानीय तहमा क्रियाशील महिला उद्यमीहरूलाई पुँजी, सीप, प्रविधि र बजारसँग जोड्ने महत्वपूर्ण सेतुका रूपमा सम्मेलनले भूमिका निर्वाह गर्ने विश्वास लिईएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
सम्मेलनमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले अनलाइनमार्फत सम्बोधन गरेका थिए ।