काठमाडौं । अभिनेत्री निरुता सिंहलाई फरक अवतारमा प्रस्तुत गर्दै फिल्म ‘सारथी’ को ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनले सोमबार ट्रेलर दर्शकमाझ ल्याएको हो ।
बच्चाको रोदनको आवाजसँगै सुरु भएको ट्रेलरमा अभिनेत्री सिंहलाई काखमा दुधे बालक बोकेको अवस्थामा देख्न सकिन्छ । गम्भीर मुद्रामा प्रस्तुत निरुताको पैतालाबाट रगत बगिरहेको दृश्यले दृश्यलाई थप रहस्यमय र भावुक बनाएको छ ।
यसले यसअघिका भूमिकाभन्दा फरक अवतारमा देखिएकी निरुताको प्रस्तुतिले सिनेमाको कथावस्तुबारे दर्शकमाझ कौतुहलता बढाउने देखिन्छ ।
निरुतासँगै कलाकार उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीको अभिनय पनि छ ।
संकल्प भुजेलले छायांकन गरेको यो फिल्म म्याग्दीको गुर्जामा छायांकन गरिएको छ । सिनेमा किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् ।
मंसिर ११ गतेदेखि प्रदर्शन हुने फिल्मलाई कुमार गजुरेलले निर्देशन गरेका हुन् । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् ।
सिनमाका सह-निर्मातामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा छन् भने अमीर केसीले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन् ।
राजु खतिवडा मुख्य सहायक निर्देशक रहेका फिल्ममा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकका रूपमा छन् । बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको सिनेमा आरआर फिल्म्सले वितरण गर्नेछ ।