काठमाडौं । नेपाल राइजिङ स्टार्स एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै अलआउट भयो । नेपालका लागि मयन यादवले सर्वाधिक ४१ र बसिर अहमदले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानका मोहम्मद हस्नेन र सुफ्या मोकिमले ३–३ विकेट लिए ।
त्यसअघि रासिद खानले पाँच विकेट लिएपछि पाकिस्तान ४२ ओभरमा १६८ रनमा समेटिएको थियो । पाकिस्तानका रोहेल नाजिरले अविजित ६४ र हसन नवाजले २८ रन बनाए ।
नेपालले पहिलो खेलमा भारतसँग ३०६ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा यूएईलाई पराजित गरेको थियो ।
समूह ‘बी’ का तीनवटै खेल जितेको पाकिस्तान समूह विजेता र भारत उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।