एएफपी । म्यानमारमा सेनाले शनिबार गरेको तीनवटा हवाई आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। यससँगै तीन दिनमा भएका हवाई आक्रमणमा ज्यान गुमाउनेको संख्या ६० भन्दा बढी पुगेको छ।
अन्तर्राष्ट्रिय अदालतले म्यानमारले नरसंहार गरेको ठहर गरेको एक सातापछि यी आक्रमण भएका हुन्।
उत्तरपूर्वी म्यानमारको मोए बाइ क्षेत्रमा विवाह समारोह आयोजना गरिएको स्थलमा गरिएको हवाई आक्रमणमा करिब २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। त्यस्तै, पश्चिमी रखाइन राज्यमा भएका दुई छुट्टाछुट्टै बम आक्रमणमा पनि धेरै मानिसको ज्यान गएको छ।
निर्वासनमा रहेको स्वघोषित ‘राष्ट्रिय एकता सरकार’ (एनयूजी) ले पनि मध्य म्यानमारमा बिहीबार भएको आक्रमणमा २९ जनाको मृत्यु भएको जनाएको छ।
सन् २०२१ मा आङ सान सुकी नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता कब्जा गरेपछि सुरु भएको हिंसात्मक गृहयुद्धमा पछिल्लो आक्रमण ठूलो मानवीय क्षति हुने घटनामध्ये एक हो।
द्वन्द्व अनुगमन गर्ने संस्था एसीएलईडीका अनुसार म्यानमारको द्वन्द्वमा सबै पक्षबाट गरी एक लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
मोए बाइ सहर सेनाको नियन्त्रणमा रहे पनि त्यसबाहिरको क्षेत्रमा विपक्षी सशस्त्र समूह सक्रिय छन्। यो क्षेत्र शान र कायाह राज्यको सीमामा पर्छ। यहाँ आन्तरिक रूपमा विस्थापित भएका मानिसको संख्या पनि ठूलो छ।
विवाह समारोहस्थलमा भएको आक्रमणपछि घाइतेहरूलाई उपचारका लागि लैजाँदै गरेको रगताम्य दृश्यसहितका भिडियो प्रत्यक्षदर्शीले उपलब्ध गराएका छन्। तर, एएफपीले ती भिडियोको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
एक उद्धार संस्थाका प्रमुखले उक्त आक्रमणमा पाँच बालबालिकासहित २१ जनाको मृत्यु भएको बताएका छन्।
नाम सार्वजनिक नगर्ने सर्तमा एएफपीसँग कुरा गरेका एक प्रत्यक्षदर्शीले विवाह समारोहको तयारी भइरहेको स्थानमाथि बम खस्नुअघि विमान उडिरहेको आवाज सुनेको बताए। उक्त समारोहमा विस्थापित भएका दुई व्यक्तिको विवाह गर्ने तयारी भइरहेको थियो।
आक्रमणपछि घटनास्थल पुगेका उनले भने, ‘मैले १७ वटा शव भेटेँ र धेरै मानिस घाइते भएका थिए। म स्तब्ध भएँ र सबैभन्दा पहिले कसलाई उद्धार गर्ने भन्ने नै थाहा पाइनँ।’
उनले आफ्नी भतिजीसहित केही मानिस अझै बेपत्ता रहेको बताए। ‘मैले उनलाई अहिलेसम्म फेला पार्न सकेको छैन,’ उनले भने।
तीनवटै आक्रमणबारे प्रतिक्रिया लिन म्यानमारको सेनासँग सम्पर्क गर्न सम्भव नभएको एएफपीले जनाएको छ।
‘मेरा आमाबुबा कहाँ हुनुहुन्छ ?’
प्रत्यक्षदर्शीले एएफपीलाई उपलब्ध गराएका ६ वटा भिडियोमध्ये एउटामा अधिकांश घाइते महिला र बालबालिका रहेको उनले बताएका छन्।
अर्को भिडियोमा उनले रगताम्य अवस्थामा रोइरहेकी एक बालिकालाई बोकेका छन्।
ती बालिकाले उनलाई सोध्छिन्, ‘मेरा आमाबुबा कहाँ हुनुहुन्छ ? उहाँहरूलाई केही भएको हो ? उहाँहरू कहाँ हुनुहुन्छ ? कृपया मेरी आमालाई फोन गरिदिनुहोस्।’
उनले जवाफ दिन्छन्, ‘चिन्ता नगर, म तिम्री आमालाई फोन गरिदिन्छु। तर पहिले उपचारका लागि क्लिनिक जाऔँ।’
बालिकाले भनिन्, ‘मेरा आमाबुबासँग पैसा छैन।’
विस्थापित मानिसलाई शिविरमा सहयोग गर्दै आएको न्वे ऊ याउङ ची फाउन्डेसनका प्रमुखले पाँच बालबालिकासहित २१ जनाको मृत्यु भएको र ४० जनाभन्दा बढी घाइते भएको पुष्टि गरेका छन्।
उद्धारकर्मी घटनास्थल पुगेपछि दोस्रो बमसमेत खसालिएको उनले बताए। उनले आफ्नो नाम सार्वजनिक गर्न अस्वीकार गरेका छन्।
बजारमा बम खस्दा नौ जनाको मृत्यु
शनिबार पश्चिमी रखाइन राज्यको म्राउक-यूस्थित एक बजारमा पनि छुट्टै हवाई आक्रमण भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
स्थानीय अन्त्येष्टि व्यवस्थापन संस्थाका प्रमुख ह्ला माउङ ऊका अनुसार उक्त आक्रमणमा नौ जनाको मृत्यु भएको छ।
घटनास्थलबाट एएफपीले खिचेको दृश्यमा मानिसहरू भग्नावशेषबीच हिँडिरहेका देखिन्छन्। अर्को स्थानमा राखिएका शवमाथि आफन्तहरू विलाप गरिरहेका थिए।
विस्थापित ६२ वर्षीय ह्ला थान आङले भग्नावशेषबाट आफ्नी १७ वर्षीया छोरीलाई निकाले पनि अस्पताल पुर्याउनुअघि नै उनको मृत्यु भएको बताए।
उनले भने, ‘छोरीलाई बोकेर दौडिँदा मेरो मनमा एउटै कुरा थियो, उनको ज्यान बचाउनु।’
उनले थपे, ‘अब उनी रहिनन्। म अझै जीवित छु भन्ने कुराको पनि खासै अर्थ छैन।’
प्रत्यक्षदर्शीका अनुसार शनिबार राति सोही क्षेत्रमा दोस्रो हवाई आक्रमणसमेत भएको थियो। अपुष्ट तस्बिरहरूमा त्यस आक्रमणमा पनि केही मानिसको मृत्यु भएको देखिएको छ।
विद्यालयमा भएको आक्रमणमा २९ जनाको मृत्यु
शनिबारका आक्रमण अन्तर्राष्ट्रिय न्यायालयले नोभेम्बर १९ मा म्यानमारले रोहिंग्या अल्पसंख्यक समुदायमाथि नरसंहार गरेको ठहर गरेको एक सातापछि भएका हुन्।
सन् २०१७ मा रखाइन राज्यमा गरिएको सैन्य कारबाहीका क्रममा मुख्यतः मुस्लिम रोहिंग्या समुदायका नागरिकको योजनाबद्ध रूपमा हत्या, बलात्कार र सम्पत्ति नष्ट गरिएको अदालतको ठहर थियो।
सन् २०२१ को सैनिक विद्रोह गराएका म्यानमारका नेता मिन आङ ह्लाइङ यसै वर्ष व्यापक आलोचनाबीच भएको निर्वाचनपछि नागरिक राष्ट्रपति बनेका छन्। उनले अदालतको फैसलाका ‘अनुचित’ पक्ष कार्यान्वयन नगर्ने बताएका थिए। राज्य सञ्चारमाध्यमले बिहीबार उनको भनाइ सार्वजनिक गरेको थियो।
एनयूजीका अनुसार बिहीबार मध्य म्यानमारको मग्वे क्षेत्रमा विद्यालय र गुम्बालाई केन्द्र बनाएर गरिएको बम, तोप र ड्रोन आक्रमणमा महिला तथा बालबालिकासहित २० जना सर्वसाधारण र जनरक्षा बल (पीडीएफ) का नौ सदस्यको मृत्यु भएको थियो।
पीडीएफ सन् २०२१ को सैनिक विद्रोहपछि लोकतन्त्रको पक्षमा हतियार उठाएका विद्रोही समूह हुन्। उनीहरूले म्यानमारका विभिन्न क्षेत्रमा सक्रिय जातीय सशस्त्र संगठनसँग सहकार्य गर्दै आएका छन्।
पीडीएफका सदस्यहरू सर्वसाधारणको सुरक्षा गर्ने प्रयासमा संलग्न रहेको एनयूजीले जनाएको छ। तर, उक्त घटनामा उनीहरू कसरी मारिए भन्नेबारे विस्तृत विवरण दिएको छैन।
सेनासमर्थक एक टेलिग्राम च्यानलले भने शुक्रबार पीडीएफका सदस्यहरूले तालिमपछि समारोह आयोजना गरिरहेको सूचना पाएपछि आक्रमण गरिएको दाबी गरेको थियो।
विद्यालयका एक शिक्षकले विमान आएको सुनेपछि आफ्ना बालबालिका लिन अभिभावकहरू जम्मा भएको स्थानमै बम खसेको एएफपीलाई बताए।
उनले भने, ‘मारिनेहरूको भाग्य निकै खराब रहेछ।’