Paywear Banner Desktop
Paywear Banner Desktop

अमेरिकी निर्वाचनमा ४४६ मिलियन डलर खर्च गरेका मस्कले भने- ‘मूर्खतापूर्ण भयो’

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवारलाई समर्थन गर्न कीर्तिमानी ४४६ मिलियन डलर खर्च गरेका अर्बपति एलन मस्कले आफ्नो खर्चलाई ‘निकै मूर्खतापूर्ण’ निर्णय भनेका छन्।

बुधबार न्युयोर्क टाइम्सको वार्षिक ‘डिलबुक समिट’मा भर्चुअल माध्यमबाट सहभागी हुँदै मस्कले अमेरिकी मध्यावधि निर्वाचनमा खर्च गरेको रकमबारे यस्तो टिप्पणी गरेका हुन्। निर्वाचनमा रिपब्लिकन पार्टीले व्यापक पराजय बेहोरेपछि उनको यो प्रतिक्रिया आएको हो।

टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी मस्क उक्त निर्वाचनका सबैभन्दा ठूला व्यक्तिगत चन्दादाता थिए। उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीलाई समर्थन गर्न ४४६ मिलियन डलर खर्च गरेका थिए। विशेषगरी मस्कका धेरै कम्पनीका आधार रहेका टेक्सासमा उनले ठूलो रकम लगानी गरेका थिए।

यसअघि ट्रम्पको दोस्रो कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवारीलाई समर्थन गरेका मस्कले आफू ‘मागा’ (मेक अमेरिका ग्रेट अगेन) आन्दोलनको समर्थक नभएको पनि बताएका छन्।

‘म मागा होइन,’ उनले भने।

रिपब्लिकन पार्टीको दक्षिणपन्थी राजनीतिक आन्दोलनलाई संकेत गर्दै उनले थपे, ‘मागाको अर्थ के हो भन्नेमा म निश्चित छैन। यदि यसको अर्थ रिपब्लिकन पार्टीका नीतिहरूप्रति आँखा चिम्लेर समर्थन गर्नु हो भने म त्यसो गर्दिनँ।’

मस्कको यो अभिव्यक्तिलाई उनको यसअघिको राजनीतिक प्रस्तुतिबाट आएको ठूलो परिवर्तनका रूपमा हेरिएको छ। सन् २०२४ मा ट्रम्पको चुनावी सभामा मागा लेखिएको टोपी लगाएका उनले आफूलाई ‘मागा मात्र होइन, डार्क, गोथिक मागा’ समेत भनेका थिए।

ट्रम्पको दोस्रो कार्यकालको सुरुवाती केही महिना मस्कले अवैतनिक ‘विशेष सरकारी कर्मचारी’ र राष्ट्रपतिका वरिष्ठ सल्लाहकारका रूपमा काम गरेका थिए। उनले सरकारी खर्च कटौती गर्ने उद्देश्यले स्थापना गरिएको सरकारी दक्षता विभाग (डज) को नेतृत्वसमेत गरेका थिए।

सन् २०२६ अक्टोबरमा पेन्टागनले भविष्यको युद्धसम्बन्धी अध्ययन परियोजना ‘प्रोजेक्ट मेरिडियन’को सहनेताका रूपमा मस्कलाई नियुक्त गरेको थियो। यसबीच उनी ट्रम्पसँगको यात्रामा सहभागी हुँदै उनलाई सल्लाहसमेत दिइरहेका थिए।

मस्कले रिपब्लिकन उम्मेदवारहरूको चुनावी अभियानमा खर्च गरेको ठूलो रकमबाट आफूले खासै उपलब्धि हासिल भएको नदेखेको बताए। यद्यपि, उक्त रकम खर्च नगरिएको भए उम्मेदवारहरूको प्रदर्शन अझ कमजोर हुन सक्ने उनको भनाइ थियो।

निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको ठूलो पराजयले मस्क र उनका कम्पनीहरूलाई समेत प्रभाव पार्न सक्ने देखिएको छ।

अमेरिकी संसद्का दुवै सदन सिनेट र प्रतिनिधिसभामा डेमोक्र्याटको नियन्त्रण स्थापित भएपछि प्रविधि कम्पनीहरूमाथि निगरानी र अनुसन्धान बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। विवादास्पद डाटा सेन्टर निर्माणसम्बन्धी विषय पनि त्यसको प्राथमिकतामा छ।

स्पेसएक्सका डाटा सेन्टर सञ्चालन रहेका जर्जियामा निर्वाचित डेमोक्र्याट गभर्नरले विशाल डाटा सेन्टरहरूको विस्तार सीमित गर्ने प्रतिबद्धता जनाएका छन्। प्रविधि कम्पनीहरूले यस्ता संरचना निर्माण गर्दा प्राप्त गर्ने कर छुटमा समेत नियन्त्रण गर्ने उनको योजना छ।

डेमोक्र्याट सांसदहरूले ट्रम्प पुनः निर्वाचित भएपछि सरकारी ठेक्काबाट अनुमानित १० अर्ब डलर थप प्राप्त गरेको स्पेसएक्समाथि अनुसन्धान हुनुपर्ने मागसमेत गरेका छन्।

मध्यावधि निर्वाचनमा सबैभन्दा उल्लेखनीय जितमध्ये एक टेक्सासमा डेमोक्र्याट उम्मेदवार जेम्स टालारिकोको रह्यो। उनले अमेरिकी सिनेटको सिटका लागि भएको प्रतिस्पर्धामा रिपब्लिकन उम्मेदवार केन प्याक्सटनलाई पराजित गरेका थिए।

बीबीसीको विश्लेषणअनुसार मस्कले प्याक्सटनको समर्थनमा कम्तीमा ४५ मिलियन डलर खर्च गरेका थिए।  टेक्सासमै मस्कको विद्युतीय सवारी कम्पनी टेस्ला र रकेट तथा प्रविधि कम्पनी स्पेसएक्सका महत्त्वपूर्ण सञ्चालन केन्द्रहरू छन्।

बुधबारको कार्यक्रममा मस्कले टेक्सासकी नवनिर्वाचित गभर्नर डेमोक्र्याट जिना हिनोजोसा निकै मध्यमार्गी हुने विश्वास व्यक्त गरे। हिनोजोसाले रिपब्लिकन गभर्नर ग्रेग एबटलाई पराजित गर्दै तीन दशकभन्दा लामो समयदेखि राज्यमा कायम रिपब्लिकन पार्टीको शासन अन्त्य गरेकी छन्।

मस्कले भने, ‘मलाई लाग्दैन, उनी अतिवामपन्थी गभर्नर हुन्। उनीबारे मैले सुनेका सबै कुराका आधारमा जिना गभर्नर हुँदा टेक्सासमा सबै कुरा ठीक हुनेछ भन्ने मलाई लाग्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!