Paywear Banner Desktop
Paywear Banner Mobile

‘ककाकिकी’ ले जित्यो प्रिमियरमा दर्शकको मन, कथावस्तु र प्रस्तुतिकरणको प्रशंसा

काठमाडौं । नेपाली हास्यप्रधान चलचित्र ‘ककाकिकी’ को भव्य प्रिमियर सम्पन्न भएको छ। बिग मुभिजमा आयोजित प्रिमियरमा चलचित्रका कलाकार तथा निर्माण टिमसँगै चलचित्र क्षेत्रका थुप्रै चर्चित कलाकार, निर्देशक, निर्माता र चलचित्रकर्मीको उपस्थिति थियो।

चलचित्र हेरिसकेपछि अधिकांशले यसको प्रस्तुतिकरण, कथावस्तु र मनोरञ्जनात्मक पक्षको प्रशंसा गरेका थिए। विशेषगरी निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले चलचित्रमा प्रस्तुत गरेको फरकपन र मिहेनतको तारिफ भएको थियो।

कमेडी जनरामा निर्माण भएको चलचित्र हेर्दा हलमा दर्शकको हाँसोका फोहोरा छुटेका थिए। चलचित्रका विभिन्न दृश्यमा उपस्थित चलचित्रकर्मी समेत हाँसेर रमाएका थिए। चलचित्रकर्मी कथालाई प्रस्तुत गरिएको शैली र कलाकारहरूको अभिनयलाई रुचाउँदै चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका थिए।

प्रिमियरमा सहभागी वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, बसुन्धरा भुसाल, चैत्यदेवी, राजाराम पौडेल, किरण केसी, निर्देशक तथा निर्माता मिलन चाम्स, आकाश अधिकारी, अशोक शर्मा, शोभित बस्नेत, कलाकार जयकिशन बस्नेत, विल्सन विक्रम राई तथा गायक शिव परियारलगायतले चलचित्रप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए।

निर्देशक अग्रवालले चलचित्रकर्मीबाट प्राप्त प्रतिक्रियाले आफूहरूलाई खुसी मिलेको बताए। आफ्नो टिमले चलचित्र निर्माणमा निकै मेहनत गरेको उल्लेख गर्दै उनले अब चलचित्र दर्शकको हातमा सुम्पिने समय आएको बताए। आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्रलाई दर्शकले दिने प्रतिक्रियालाई आफूहरूले सहर्ष स्वीकार गर्ने उनको भनाइ थियो।

त्यस्तै, कलाकार तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा र महेश त्रिपाठीलगायतले पनि प्रिमियरमा चलचित्रकर्मीबाट प्राप्त प्रतिक्रियाले उत्साहित बनाएको बताए। अब आफूहरू दर्शकको प्रतिक्रियाको प्रतीक्षामा रहेको उनीहरूको भनाइ थियो।

पायो युनिभर्सल सर्टिफिकेट

चलचित्र ‘ककाकिकी’लाई केन्द्रीय चलचित्र जाँच समिति (फिल्म एक्जामिनेसन बोर्ड)ले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ। योसँगै अब चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। हास्यप्रधान विषयवस्तुमा निर्माण भएको चलचित्रलाई परिवारका सबै सदस्यले एकसाथ बसेर हेर्न सक्नेछन्।

निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्। कन्सेप्ट सुमन अग्रवालको हो भने कथा तथा पटकथा बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले लेखेका हुन्।

छायांकन सुदीप बरालले गरेका हुन्। मुख्य सहायक निर्देशक अनिश बुढाथोकी र सहायक निर्देशक विशाल राई हुन्। मेकअपमा अनिश तामाङ, कस्ट्युम डिजाइनमा सुमन परियार र प्रोडक्सन हेडमा अरुण रेग्मी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!