जनकपुरधाम । सीताको नगरी जनकपुरधामदेखि भगवान रामको जन्मस्थल अयोध्यासम्म सञ्चालन हुने ‘सरयू–कमला एक्सप्रेस’ रेल शनिबारदेखि व्यावसायिक रूपमा चल्ने भएको छ ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत सोमबार संयुक्त रूपमा भिडियो कन्फ्रेन्सबाट हरियो झण्डा देखाएर शुभारम्भ गरेको उक्त रेल शनिबारदेखि नियमित व्यावसायिक सेवामा आउन लागेको हो ।
भारतीय रेल्वेले जनकपुरधाम-अयोध्या यात्राका लागि टिकट बुकिङ खुला गरिसकेको छ । साप्ताहिक रूपमा चल्ने यो रेल हरेक शनिबार जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ भने सोमबार अयोध्याबाट जनकपुरधाम फर्किनेछ ।
भारतीय रेल्वेले विभिन्न श्रेणीअनुसार भाडादर निर्धारण गरेको छ । जसअनुसार शयनयान श्रेणी (स्लिपर) को ३६५ भारतीय रुपैयाँ, वातानुकूलित तृतीय इकोनोमी श्रेणीको ८८५ भारतीय रुपैयाँ, वातानुकूलित तृतीय श्रेणीको ९६५ भारतीय रुपैयाँ र वातानुकूलित द्वितीय श्रेणीको १ हजार ३६० भारतीय रुपैयाँ तोकिएको छ ।
यता नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले बिहान ९ देखि १० बजेभित्र नेपाली रुपैयाँमा भाडादर सार्वजनिक गरिने जानकारी दिएका छन् ।
यात्रुहरूले भारतीय रेल्वेको अनलाइन पोर्टल आईआरसीटीसीको वेबसाइट, मोबाइल एप वा सम्बन्धित रेल्वे स्टेसनमा पुगेर भौतिक रूपमै टिकट काट्न सक्नेछन् । भारतीय रेल्वेका अनुसार यस रेलमा नेपाली र भारतीय नागरिकले मात्र यात्रा गर्न पाउने व्यवस्था गरिएको छ ।
कुल १७ वटा डिब्बा रहने यस साप्ताहिक एक्सप्रेस रेलमा शयनयान श्रेणीका ७ वटा, वातानुकूलित तृतीय इकोनोमी श्रेणीका ३ वटा, वातानुकूलित तृतीय श्रेणीका ३ वटा, वातानुकूलित द्वितीय श्रेणीका २ वटा र एसएलआरका २ वटा डिब्बा जडान गरिएका छन् ।