Paywear Banner Desktop
Paywear Banner Desktop

दैनिक नुहाउनु आवश्यक छ ? बिहान कि बेलुका नुहाउने ?

नुहाउनु हाम्रो दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा हो। कतिपय मानिस बिहान नुहाएर ताजगी र ऊर्जाका साथ दिनको सुरुवात गर्न रुचाउँछन् भने कतिपय दिनभरको थकान, पसिना र तनावबाट राहत पाउन बेलुका नुहाउँछन्।

सन् २०१९ मा ‘स्लिप मेडिसिन रिभ्युज’मा प्रकाशित एक व्यवस्थित समीक्षा तथा मेटा-विश्लेषणअनुसार, सुत्नुभन्दा १ देखि २ घण्टाअघि मनतातो पानीले नुहाउँदा निद्राको गुणस्तर सुधार हुन सक्छ। बिहान नुहाउँदा भने शरीरमा ताजगी महसुस हुन्छ।

त्यसो भए स्वास्थ्यका दृष्टिले बिहान नुहाउनु राम्रो कि बेलुका ? के हरेक दिन नुहाउनु आवश्यक छ ? चिसो पानीले नुहाउने कि मनतातो पानीले ? नुहाउँदा कस्ता गल्तीबाट बच्नुपर्छ ?

यी विषयमा दिल्लीका वरिष्ठ फिजिसियन डा. बोबी दिवानसँग गरिएको कुराकानीका आधारमा नुहाउने सही तरिकाबारे जानकारी लिऔँ।

नुहाउनु र राम्रो स्वास्थ्यबीच के सम्बन्ध छ ?

नुहाउनु शरीरको सफाइका लागि मात्र नभई स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण छ। नियमित नुहाउँदा छालामा जम्मा भएका धुलो, माटो, पसिना र एलर्जी गराउन सक्ने कणहरू सफा हुन्छन्।

यसका अतिरिक्त नुहाउँदा शरीरमा ताजगी महसुस हुन्छ, तनाव कम हुन्छ र छालामा फोहोर जम्मा हुँदा उत्पन्न हुन सक्ने समस्याको जोखिम घट्छ।

यद्यपि, राम्रो स्वास्थ्यका लागि नुहाउनुका साथै सन्तुलित खानपान, पर्याप्त निद्रा र नियमित व्यायाम पनि आवश्यक हुन्छ।

के दैनिक नुहाउनु आवश्यक छ ?

यो मौसम, शारीरिक गतिविधि, पसिना आउने अवस्था र छालाको प्रकृतिमा निर्भर गर्छ।

गर्मीमा धेरै पसिना आउने वा व्यायाम गर्ने मानिसका लागि दैनिक नुहाउनु राम्रो हुन्छ। चिसो मौसममा पसिना कम आउने भएकाले नुहाउने आवश्यकता फरक हुन सक्छ।

यद्यपि, शरीरका ती भाग नियमित सफा गर्नुपर्छ, जहाँ पसिना र फोहोर बढी जम्मा हुन्छ।

बिहान नुहाउनु राम्रो कि बेलुका ?

विशेषज्ञहरू सबैका लागि एउटै समयलाई नुहाउन उपयुक्त मान्दैनन्। यो व्यक्तिको दैनिक तालिका, मौसम, काम र स्वास्थ्यमा निर्भर गर्छ।

त्यसैले आफ्नो आवश्यकता र सुविधाअनुसार नुहाउने समय निर्धारण गर्न सकिन्छ।

चिसो पानीले नुहाउनु राम्रो कि मनतातो पानीले ?

दुवैका आ-आफ्नै फाइदा छन्। मनतातो पानीले नुहाउँदा मांसपेशीलाई आराम मिल्न सक्छ र निद्राको गुणस्तर सुधार हुन सक्छ।

चिसो पानीले गर्मीमा राहत दिनुका साथै शरीरमा ताजगी महसुस गराउँछ। तर, धेरै तातो पानीले नुहाउँदा छाला सुख्खा हुन सक्छ। त्यसैले मौसम र आफ्नो शरीरले सहन सक्ने क्षमताअनुसार पानीको तापक्रम छनोट गर्नुपर्छ।

चिकित्सक र विशेषज्ञले कुन समयमा नुहाउन सुझाव दिन्छन्र ?

नुहाउने समय व्यक्तिको दैनिक तालिका, काम र आवश्यकतामा निर्भर गर्छ। चिकित्सकहरूले सबैलाई एउटै समयमा नुहाउन सुझाव दिँदैनन्। (दिनको सुरुवात ताजगीका साथ गर्न चाहनेले बिहान नुहाउन सक्छन्। दिनभर धुलो, पसिना र प्रदूषणको सम्पर्कमा रहनेले बेलुका नुहाउनु राम्रो हुन्छ।)

बिहान नुहाउँदा शरीरलाई के फाइदा हुन्छ ?

बिहान नुहाउँदा शरीरमा ताजगी महसुस हुन्छ र अल्छीपन कम हुन्छ। यसका सबै फाइदा ग्राफिक्समा हेर्न सकिन्छ।

बिहान चिसो पानीले नुहाउँदा के फाइदा हुन्छ ?

बिहान चिसो पानीले नुहाउँदा ताजगी महसुस हुन्छ। निद्रा र अल्छीपन कम हुन्छ। गर्मीमा चिसो पानीले राहत दिनुका साथै सतर्कता बढाउन सक्छ।

यद्यपि, अत्यधिक चिसो पानीले नुहाउनु सबैका लागि उपयुक्त हुँदैन। विशेषगरी मुटुसम्बन्धी रोग भएका व्यक्तिले सावधानी अपनाउनुपर्छ।

के बिहान नुहाउँदा छाला बढी सुख्खा हुन सक्छ ?

सामान्यतया त्यसो हुँदैन। तर, धेरै तातो पानीले नुहाउने, लामो समयसम्म सावरमा बस्ने वा अत्यधिक साबुन प्रयोग गर्ने गर्दा छालाको प्राकृतिक चिल्लो पदार्थ कम हुन सक्छ। यसले छाला सुख्खा बनाउन सक्छ।

त्यसैले छाला पहिलेदेखि नै सुख्खा छ भने नुहाइसकेपछि मोइस्चराइजर लगाउनु राम्रो हुन्छ।

बेलुका नुहाउँदा के फाइदा हुन्छ ?

बेलुका नुहाउँदा दिनभर शरीरमा जम्मा भएका पसिना, धुलोमाटो र प्रदूषणका कणहरू सफा हुन्छन्। यसका सबै फाइदा ग्राफिक्समा हेर्न सकिन्छ।

कुन मानिसका लागि बिहान नुहाउनु बढी फाइदाजनक हुन्छ ?

उत्तर : बिहान चाँडै उठ्ने तथा कार्यालय वा विद्यालय जाने मानिसका लागि बिहान नुहाउनु उपयुक्त हुन्छ।

कुन मानिसका लागि बेलुका नुहाउनु राम्रो विकल्प हो ?

दिनभर घरबाहिर रहने, धेरै शारीरिक परिश्रम गर्ने वा धुलो र प्रदूषणको सम्पर्कमा रहने मानिसका लागि बेलुका नुहाउनु राम्रो विकल्प हो।

के पटकपटक नुहाउँदा छालालाई हानि पुग्छ ?

उत्तर : हो, धेरै पटक नुहाउँदा छालाको प्राकृतिक चिल्लो पदार्थ कम हुन सक्छ। यसले छाला सुख्खा हुने र जलन हुने समस्या निम्त्याउन सक्छ।

मौसम परिवर्तन हुँदा नुहाउने बानी पनि परिवर्तन गर्नुपर्छ ?

हो, मौसमअनुसार नुहाउने समय र पानीको तापक्रम परिवर्तन गर्नु राम्रो हुन्छ।

गर्मीमा नुहाउने सबैभन्दा उपयुक्त समय कुन हो ?

गर्मीमा बिहान नुहाउनु राम्रो मानिन्छ। दिनभर धेरै पसिना आउने वा बाहिरबाट फर्किएपछि शरीर चिपचिप भएको महसुस हुने अवस्थामा बेलुका पनि नुहाउन सकिन्छ।

कुन मानिसले दिनमा दुई पटक नुहाउनुपर्छ ?

धुलोमाटो वा प्रदूषित क्षेत्रमा काम गर्ने मानिसले दिनमा दुई पटक नुहाउनुपर्छ। यससम्बन्धी विस्तृत जानकारी ग्राफिक्समा हेर्न सकिन्छ।

नुहाउँदा कस्ता गल्ती गर्नु हुँदैन ?

लामो समयसम्म सावरमा नुहाउँदा र आवश्यकताभन्दा बढी साबुन प्रयोग गर्दा छाला सुख्खा हुन सक्छ। त्यसैले नुहाउँदा यस्ता गल्तीबाट बच्नुपर्छ।

राति नुहाएपछि भिजेको कपालमै सुत्दा हानि हुन्छ ?

हो, भिजेको कपालमै सुत्दा कपाल टुट्ने र अल्झिने समस्या हुन सक्छ। टाउकोको छालासम्बन्धी केही समस्या पनि उत्पन्न हुन सक्छन्। त्यसैले कपाल राम्ररी सुकाएर मात्र सुत्नुपर्छ।

खाना खाएलगत्तै नुहाउनु ठीक हो ?

होइन, खाना खाएलगत्तै नुहाउनु हुँदैन। खाना खाएको केही समयपछि मात्र नुहाउनु राम्रो हुन्छ।

व्यायाम गरेलगत्तै नुहाउनु ठीक हो ?

होइन, व्यायामपछि केही समय पर्खनुपर्छ। शरीरको तापक्रम र श्वासप्रश्वास सामान्य भएपछि मात्र नुहाउनुपर्छ।

पसिना आएलगत्तै चिसो पानीले नुहाउनु ठीक हो ?

होइन, पसिना आएलगत्तै चिसो पानीले नुहाउनु हुँदैन। पहिले केही मिनेट शरीरलाई सामान्य अवस्थामा आउन दिनुपर्छ। त्यसपछि नुहाउन सकिन्छ।

ज्वरो आएको बेला नुहाउनु हुन्छ ?

हुन्छ, तर धेरै चिसो वा धेरै तातो पानीले नुहाउनु हुँदैन।

जाडोमा नुहाउने सबैभन्दा उपयुक्त समय कुन हो ?

घाम लागेपछि नुहाउनु उपयुक्त हुन्छ।

के जाडोमा पनि दैनिक नुहाउनु आवश्यक छ ?

यो व्यक्तिको आवश्यकता र अवस्थामाथि निर्भर गर्छ।

के बालबालिकालाई दैनिक नुहाउनुपर्छ ?

पर्दैन। साना बालबालिकालाई सातामा दुईदेखि तीन पटक नुहाउनु पर्याप्त हुन्छ।

बालबालिकालाई कुन समयमा नुहाउनु राम्रो हुन्छ ?

मौसम शरीरका लागि अनुकूल हुने समयमा बालबालिकालाई नुहाउनुपर्छ।

गर्भवती महिलाले कुन समयमा नुहाउनु उपयुक्त हुन्छ ?

यसका लागि कुनै निश्चित समय छैन। गर्भवती महिलाले आफ्नो सुविधा र दैनिक तालिकाअनुसार नुहाउन सक्छन्।

बिरामी हुँदा पनि दैनिक नुहाउनुपर्छ ?

यो रोग र व्यक्तिको स्वास्थ्य अवस्थामाथि निर्भर गर्छ। शरीरले साथ दिएको अवस्थामा नुहाउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!