Paywear Banner Desktop
Paywear Banner Mobile

डिसेम्बर १६ मा स्वदेश फर्कने हसिनाको घोषणा, फर्किए हत्कडी लगाउने सरकारको चेतावनी

ढाका, (एपी) । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गरेकी छन् । तर, मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी उनी फर्किएमा पक्राउ पर्ने र जेल चलान हुने सम्भावना छ ।

विद्यार्थी नेतृत्वको जनविद्रोहले १५ वर्ष लामो शासन अन्त्य गरेपछि हसिना सन् २०२४ अगस्ट ५ मा भारत पुगेकी थिइन् । उनीमाथि प्रदर्शनका क्रममा सयौँ मानिस मारिएको घटनामा संलग्न रहेको आरोपमा मुद्दा चलाइएको थियो । अदालतको फैसलालाई अस्वीकार गर्दै उनले स्वदेश फर्किएपछि कानूनी लडाइँ लड्ने बताउँदै आएकी छन् ।

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानका प्रेस सचिव अबु अब्दुल्लाह एम सालेहले हसिनालाई दोषी ठहर गरिएको र उनको सुपुर्दगीका लागि सरकारले भारतसँग माग गरिसकेको बताएका छन् । सरकारले आफ्नो अडान परिवर्तन नगर्ने उनको भनाइ छ ।

हसिनाले मङ्गलबार डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गर्दै प्रधानमन्त्री रहमानलाई राष्ट्रिय ध्वजावाहक विमानमार्फत दिल्लीबाट ढाका फर्कने व्यवस्था मिलाउन आग्रह गरेकी छन् । उनका प्रवक्ता सैयद मोजाम्मेल अलीले हसिना सन् २०२४ अगस्ट ५ मा बङ्गलादेशी विमानबाट भारत गएकाले स्वदेश फर्कने यात्राको व्यवस्था पनि सरकारले गर्नुपर्ने बताएका छन् ।

डिसेम्बर १६ बङ्गलादेशको विजय दिवस हो । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि स्वतन्त्र भएको स्मरणमा यो दिवस मनाइन्छ । हसिनाका सहयोगी अबु ओबैदा अरिनले उनले आफ्ना पिता तथा बङ्गलादेशका संस्थापक नेता शेख मुजीबुर रहमानको नेतृत्वमा हासिल भएको ऐतिहासिक विजयको सम्मान गर्दै यही दिन स्वदेश फर्कन चाहेको बताएका छन् । उनले हसिनाको पुनरागमनपछि देश शान्ति, स्थिरता र समृद्धितर्फ अघि बढ्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

यस महिनाको सुरुमा एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा हसिनाले कुनै पनि मूल्यमा डिसेम्बरमै स्वदेश फर्कने र मृत्युसमेतले आफूलाई घर फर्कनबाट रोक्न नसक्ने बताएकी थिइन् ।

हसिनाले मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्न पाउने समयसीमा गुमाइसकेको र सजाय रोक्ने कानूनी आधार नरहेको एक अभियोजकले यसअघि बताएका थिए । बङ्गलादेशमा राष्ट्रपतिबाट क्षमादान पाउने व्यवस्था भए पनि हसिनाले त्यस्तो आग्रह गरेकी छैनन् । उनले अदालतको फैसलालाई स्पष्ट रूपमा अस्वीकार गर्दै आएकी छन् ।

हसिनाको सत्ता पतन भएको तीन दिनपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व सम्हालेका थिए । उनको नेतृत्वमा रहेको सरकारले हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाएको थियो र फेब्रुअरीमा भएको निर्वाचनमा सहभागी हुन दिएको थिएन । त्यसपछि तारिक रहमान नेतृत्वको निर्वाचित सरकारले सत्ता सम्हालेको हो ।

सन् १९७१ को स्वतन्त्रता युद्धमा पाकिस्तानी सैन्य नेतृत्वको पक्षमा रहेको जमात-ए-इस्लामी पार्टी भने फेब्रुअरीको निर्वाचनमा पुनः राजनीतिमा फर्किएको थियो । अहिले उक्त पार्टी बङ्गलादेशको प्रमुख प्रतिपक्षी दल बनेको छ । हसिनाको शासनकालमा यस पार्टीका कैयौँ शीर्ष नेताहरूलाई युद्ध अपराधको आरोपमा मृत्युदण्ड दिइएको थियो ।

हसिनाका पिता शेख मुजीबुर रहमानले पाकिस्तानविरुद्धको स्वतन्त्रता आन्दोलनको नेतृत्व गरेका थिए । सन् १९७५ मा सैन्य ‘कू’ का क्रममा उनी र परिवारका अधिकांश सदस्यको हत्या भएको थियो । त्यसबेला देशबाहिर रहेकी हसिना र उनकी कान्छी बहिनी भने बाँचेका थिए ।

हसिनाको स्वदेश फिर्ती अस्वीकार

बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजनालाई अस्वीकार गर्दै उनी फर्किए पक्राउ गरिने स्पष्ट पारेको छ । सरकारले उनको पुनरागमनलाई स्वीकार नगर्ने सङ्केत दिँदै सीमाक्षेत्रमा सुरक्षा सतर्कतासमेत बढाएको छ ।

हसिनाले भारतको राजधानी नयाँदिल्लीबाट राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्समार्फत ढाका फर्कने व्यवस्था मिलाउन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन सरकारसँग आग्रह गरेकी थिइन् । तर, विदेश राज्यमन्त्री हुमायूँ कबिरले ढाकामा विदेशी कूटनीतिज्ञहरूलाई सरकारको धारणा स्पष्ट पार्दै उनी सामान्य यात्रु नभएको र दोषी ठहर भइसकेकाले फर्किए पक्राउ गरिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!