काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भएका सहमति, समझदारी तथा निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय र निकायसँग समन्वय सुरु गरेको जनाएको छ ।
प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भ्रमणका क्रममा जारी भएको नेपाल-भारत संयुक्त दृष्टिकोणपत्र (जोइन्ट भिजन डकुमेन्ट) लगायतका सहमति कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको जानकारी दिए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा भएका सहमति, समझदारी तथा निर्णयहरू कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालयले काम अगाडि बढाइसकेको छ । संयुक्त दृष्टिकोणपत्रमा उल्लेख भएका विषयहरूलाई कार्यान्वयनमा लैजान सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग पत्राचार र समन्वय सुरु भइसकेको छ । यसको प्रगतिको विषयमा पनि समय-समयमा जानकारी गराउँदै जानेछौँ ।’
उनका अनुसार संयुक्त पत्रमा समेटिएका विषयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाले सम्बन्धित निकायहरूसँग पत्राचार तथा समन्वय सुरु गरिसकेको छ । सहमति र समझदारीको कार्यान्वयनको प्रगतिको नियमित अनुगमनसमेत गरिने उनले बताए ।
यसैगरी, साउदी अरबमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा परी घाइते भएका चार नेपालीमध्ये एक जनाको मृत्यु भएको, एकजना उपचारपछि अस्पतालबाट फर्किएको र दुई जना उपचाररत रहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।
मृतकको शव नेपाल ल्याउन रियादस्थित नेपाली राजदूतावासले आवश्यक प्रक्रिया अघि बढाएको उनले बताए ।
पत्रकार सम्मेलनमा नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ, नेपाल–फिनल्यान्ड द्विपक्षीय परामर्श संयन्त्रको बैठक, नेपाल–चीन व्यापार तथा सीमा नाकाको सहज आवागमन, आर्थिक कूटनीति र क्षेत्रीय सहकार्यका विषयमा समेत जानकारी गराइएको थियो ।
नेपाल-चीन व्यापारका सम्बन्धमा रसुवागढी नाका अवरुद्ध भएपछि तातोपानी-झाङ्मु नाकाबाट ठूला मालवाहक ट्रक तथा कन्टेनर सञ्चालन सहज बनाउने विषयमा चीन सरकार र सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
उनले भने, ‘रसुवागढी नाका अवरुद्ध भएपछि नेपाल-चीन व्यापारलाई सहज बनाउन तातोपानी-झाङ्मु नाकाबाट ठूला मालवाहक ट्रक तथा कन्टेनर सञ्चालनका लागि आवश्यक समन्वय भइरहेको छ । यसका लागि सम्बन्धित निकायहरू र मित्रराष्ट्र चीन सरकारसँग छलफल तथा समन्वयलाई अघि बढाइएको छ । यस विषयमा हुने प्रगतिबारे पनि मन्त्रालयले जानकारी गराउँदै जानेछ ।’
त्यस्तै, नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्ने अपेक्षा गरिएको प्रवक्ता क्षेत्रीले बताए । नेपाल-भारत सीमा समस्याको समाधानका लागि दुवै देशका स्थापित संयन्त्रमार्फत कूटनीतिक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त भएको उनको भनाइ थियो ।