Paywear Banner Desktop
Paywear Banner Mobile

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघद्वारा रास्वपा कार्यालयमा धर्ना

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताको रक्षा तथा सञ्चारमाध्यममाथि भइरहेका हस्तक्षेप रोक्न माग गर्दै देशव्यापी रूपमा राजनीतिक दलका कार्यालयमा धर्ना कार्यक्रम सुरु गरेको छ ।

महासंघले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलनअन्तर्गत पहिलो दिन आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा धर्ना दिएको हो । महासंघले बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म धर्ना दिएको थियो ।

महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयमा महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा केन्द्रीय समितिको टोली धर्नाका लागि पुगेको थियो । तर, प्रहरीको अवरोधका कारण टोलीले पार्टी कार्यालय परिसरमा पुग्न नपाई सडकबाहिरै धर्ना दिनुपरेको थियो ।

उनले भने, ‘हामी आज रास्वपाको केन्द्रीय कार्यालयमा धर्ना दिन पुगेका थियौँ। तर प्रहरीको अवरोधका कारण कार्यालय परिसरमा पुग्न नपाएपछि सडकबाहिरै धर्ना दिनुपर्‍यो । हाम्रो मुख्य माग भनेको समाचार कक्षभित्र प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, लोककल्याणकारी विज्ञापन प्रेस काउन्सिलको सिफारिसअनुसार वितरण गर्नुपर्ने र सञ्चारमाध्यममाथिको आक्रमण रोक्नुपर्ने हो । त्यसैगरी, प्रेस काउन्सिलसम्बन्धी अध्यादेश फिर्ता गरी संसद्बाट छलफल गरेर मिडिया काउन्सिल विधेयक ल्याउनुपर्ने हाम्रो माग छ ।’

महासंघले समाचार कक्षभित्रै प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने, लोककल्याणकारी विज्ञापन प्रेस काउन्सिलको सिफारिसअनुसार वितरण गर्नुपर्ने, सञ्चारमाध्यममाथिको आक्रमण रोक्नुपर्ने तथा मिडियाप्रति सरकारले देखाएको अनुदार व्यवहार अन्त्य गर्नुपर्ने माग राखेको छ ।

त्यस्तै, प्रेस काउन्सिलसम्बन्धी अध्यादेश जारी नगर्न तथा मिडिया काउन्सिलसम्बन्धी विधेयक संसद्मा छलफल गरेर अघि बढाउनुपर्ने महासंघको माग छ ।

महासंघका महासचिव दाहालले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका केन्द्रीय तथा जिल्ला कार्यालयमा धर्ना कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

उनले भने, ‘सरकारले हाम्रा माग सम्बोधन नगरेपछि राजनीतिक दलहरूको ध्यानाकर्षण गराउन देशव्यापी रूपमा धर्ना कार्यक्रम सुरु गरेका हौँ । संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका केन्द्रीय तथा जिल्ला कार्यालयमा पुगेर धर्ना दिने कार्यक्रम छ ।’

महासंघले प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता जनाउँदै आफ्नो आन्दोलनमा ऐक्यबद्धता व्यक्त गर्ने राजनीतिक दलका कार्यालयमा भने धर्ना कार्यक्रम रोक्ने जनाएको छ ।

केही जिल्लामा राजनीतिक दलका स्थानीय नेतृत्वले प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता जनाउँदै महासंघका शाखालाई पत्राचारसमेत गरिसकेको दाहालले बताए ।

उनले महासंघको आन्दोलनलाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिनुपर्ने बताउँदै माग सम्बोधन नभएसम्म संसदमा प्रतिनिधित्व गर्ने दलका कार्यालयमा धर्ना कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।

पत्रकार महासंघले भोली नेपाली कांग्रेसको कार्यालयमा र पर्सि नेकपा एमालेको कार्यालयमा गएर धर्ना दिने कार्यक्रम रहेको महासचिव दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!