Paywear Banner Desktop
Paywear Banner Desktop

चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने, सतर्क हुन आग्रह

काठमाडौँ । बंगालको खाडीमा विकसित भइरहेको ‘अर्णव’ नामक चक्रवातको प्रभावले नेपालका विभिन्न प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी बिहीबारदेखि शनिबारसम्म विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार बंगालको खाडीमा रहेको चक्रवात क्रमशः शक्तिशाली बन्दै जाने र पछि अति शक्तिशाली चक्रवातमा विकसित हुने सम्भावना छ ।

उक्त चक्रवात उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै बुधबार आन्ध्र प्रदेश र विशाखापट्टनमको बीचमा पर्ने यानम नजिकको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

चक्रवातको प्रभावका कारण बिहीबारदेखि मौसममा बदलाव आउने र विशेषगरी शुक्रबार तथा शनिबार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

शुक्रबारदेखि शनिबारसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । लुम्बिनी प्रदेशका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको अनुमान छ ।

वर्षाको सम्भावनालाई ध्यानमा राख्दै विभागले पहाडी तथा तराई क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । धानबाली भित्र्याउनेलगायत कृषि कार्यमा संलग्न किसानलाई मौसमको पूर्वानुमान हेरेर काम गर्न र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

यस अवधिमा पर्यटकलाई उच्च हिमाली भूभागमा नजान तथा गन्तव्यमा पुगिसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन विभागले आग्रह गरेको छ। चिसो बढ्न सक्ने र जोखिमयुक्त स्थानमा पहिरो जान सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि भनिएको छ ।

भारी वर्षाका कारण सडक तथा हवाई यातायात, दैनिक जनजीवन र अन्य गतिविधि प्रभावित हुन सक्ने भएकाले पूर्वतयारी गर्न विभागले सर्वसाधारण तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

मौसमसम्बन्धी थप जानकारी तथा अद्यावधिक पूर्वानुमानका लागि विभागले नियमित रूपमा जारी गर्ने सूचनामा ध्यान दिन पनि विभागले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!