काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममार्फत प्रवर्द्धन गर्ने उद्देश्यले सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आएका छन्। नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा आएका उनीहरूले पोखरा, चितवन र बर्दियाका पर्यटकीय गन्तव्यको भ्रमण गरी भिडियो तथा डिजिटल सामग्री निर्माण गर्नेछन्।
फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (यूएई), बंगलादेश र श्रीलंकाका क्रिएटरलाई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि र पर्यटनका विविध अनुभव अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्यले नेपाल बोलाइएको हो।
यूएई र ट्युनिसियाका तीन जना क्रिएटर फ्लाई दुबईको विमानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। उनीहरूलाई नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेल, वरिष्ठ प्रबन्धक सूर्य थपलिया, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल र नाटा गण्डकीका अध्यक्ष संगिता पौडेललगायतले स्वागत गरेका थिए।
अन्य क्रिएटरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोर्डका वरिष्ठ अधिकृतद्वय कुन्दन शर्मा र सरोज महर्जनले स्वागत गरेका थिए।
यस कार्यक्रमअन्तर्गत क्रिएटरहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गर्नेछन्। उनीहरूले त्यहाँका पर्यटकीय आकर्षण, स्थानीय जीवनशैली, संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटन गतिविधिसम्बन्धी सामग्री उत्पादन गरी टिकटकसहितका सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नेछन्।
बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यसबाट नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एनटीबी र टिकटकबीच नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०२५ अगस्ट १९ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। उक्त सहकार्यअन्तर्गत सुरु गरिएको अभियानले नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई टिकटकका छोटा भिडियोमार्फत विश्वभरका दर्शकमाझ पुर्याउने लक्ष्य राखेको छ।
वरिष्ठ प्रबन्धक थपलियाले अभियानमा अन्तर्राष्ट्रिय तथा नेपाली कन्टेन्ट क्रिएटरलाई सहभागी गराउने र उनीहरूलाई नेपालका विभिन्न गन्तव्यको अनुभव गराएर सामग्री उत्पादन गर्न प्रोत्साहित गरिने बताए। उनले त्यस्ता सामग्री टिकटकमार्फत प्रवर्द्धन गरिने जानकारी दिए।

यस सहकार्यलाई निरन्तरता दिँदै सन् २०२६ मा पनि डिजिटल पर्यटन प्रवर्द्धनका गतिविधि सञ्चालन गरिएको बोर्डले जनाएको छ। यसअघि जुन २४ देखि २६ सम्म काठमाडौंमा बोर्ड र टिकटकको संयुक्त आयोजनामा तीनदिने ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला सम्पन्न भएको थियो।
कार्यशालामा पर्यटन व्यवसायी, डिजिटल क्रिएटर, पदयात्रा व्यवसायी, पर्वतारोही तथा पर्यटन क्षेत्रका सरोकारवालालाई डिजिटल स्टोरीटेलिङ, भिडियो निर्माण र सामाजिक सञ्जालमार्फत पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने विषयमा प्रशिक्षण दिइएको थियो।
यसपटकको भ्रमणमा सहभागी क्रिएटरमध्ये बंगलादेशका अनिर्बान कैसर, श्रीलंकाका कसुन सम्पथ देगोडा गमागे, ट्युनिसियाका बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी तथा यूएईका मोहम्मद नाबिलले पोखराका पर्यटकीय आकर्षणलाई प्राथमिकतामा राखेर सामग्री निर्माण गर्नेछन्।
फ्रान्सका जेरेमी ब्युडेटले चितवन पुगेर त्यहाँको वन्यजन्तु, निकुञ्ज, थारू संस्कृति र प्रकृतिमा आधारित पर्यटन अनुभवलाई समेट्नेछन्। त्यसैगरी पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्ग्यु लीले बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु तथा समुदायमा आधारित पर्यटनका सम्भावनालाई आफ्ना सामग्रीमार्फत प्रस्तुत गर्नेछन्।
भ्रमणका क्रममा क्रिएटरहरूले प्राकृतिक तथा सांस्कृतिक विशेषतासँगै स्थानीय पर्यटन व्यवसाय, आतिथ्य सेवा, खानपान, साहसिक गतिविधि र पर्यटकले लिन सक्ने मौलिक अनुभवलाई समेत सामग्रीमा समेट्ने थपलियाले बताए।
डिजिटल माध्यमबाट पर्यटकीय गन्तव्यको प्रचार गर्दा वास्तविक यात्रा अनुभव, दृश्य र व्यक्तिगत कथामार्फत सम्भावित पर्यटकलाई आकर्षित गर्न सकिने अपेक्षा गरिएको छ। विशेषगरी युवा पुस्तामाझ लोकप्रिय टिकटकका छोटा भिडियोले नयाँ गन्तव्यको पहिचान विस्तार गर्न र यात्राको योजना बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय कन्टेन्ट क्रिएटरसँगको सहकार्यलाई नेपालको पर्यटन कथा विश्व बजारमा पुर्याउने माध्यमका रूपमा अघि बढाएको छ। यसबाट पोखरा, चितवन र बर्दियाको अन्तर्राष्ट्रिय प्रवर्द्धनका साथै स्थानीय पर्यटन व्यवसाय र समुदायलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ।