Paywear Banner Desktop
Paywear Banner Desktop

प्रधानमन्त्रीको सचिवालयमा जिम्मेवारी हेरफेर : कसको थपियो, कसको घट्यो ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सचिवालय सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । सहसचिव सरहका सचिवालय सदस्यको जिम्मेवारी हेरफेर गरिएको हो । ५ जनालाई विभिन्न क्षेत्रका संयोजक र पाँच जनालाई उपसंयोजक तोकिएको छ । यसअघि भने संयोजक र उपसंयोजक तोकिएको थिएन ।

सन्जिव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजकको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई विकास परियोजना हेर्ने जिम्मेवारी दिइएको थियो ।

सन्तोष गिरीलाई अन्तर निकाय समन्वय संयोजकको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई कार्यक्रम तथा भ्रमण संयोजकको जिम्मेवारी दिइएको थियो ।

विशाल अधिकारीलाई सरकारी मामिला तथा योजना समन्वय संयोजकको जिम्मेवारी दिइएको छ । उनको सचिवालयमा बढुवा भएको हो । यसअघि उपसचिव सरहको सचिवालय सदस्यका रूपमा कार्यरत उनलाई सहसचिव सरहको सचिवालय सदस्य बनाएर संयोजकको जिम्मेवगारी दिइएको हो ।

दीपा दाहाललाई मिडिया व्यवस्थापन संयोजकको जिम्मेवारी तोकिएको छ । यसअघि प्रेस तथा अनुसन्धान विज्ञको जिम्मेवारी पाएकी दाहाललाई मिडिया व्यवस्थापन संयोजक बनाइएको हो । यसपटक अनुसन्धान विज्ञ कसैलाई तोकिएको छैन भने दाहाललाई पनि उक्त जिम्मेवारी दिइएको छैन ।

विश्व राईलाई सामाजिक विकास समन्वय संयोजकको जिम्मेवारी दिइएको छ । यसअघि उनले प्रधानमन्त्रीको सचिवालयमा सामाजिक विकाससम्बन्धी विषय हेर्दै आएका थिए ।

पाँच जनालाई उपसचिव सरहको सेवा सुविधा पाउने गरी विभिन्न क्षेत्रका उपसंयोजकको जिम्मेवारी तोकिएको छ । सुमन गौतमलाई नागरिक उड्डयन समन्वय, रविकिरण अधिकारी सामाजिक विकास समन्वय, प्रकृति ढकाल स्वास्थ्य समन्वय, विनय शाक्य संस्कृति तथा सम्पदा समन्वय र दिपकप्रसाद ओली नीति मस्यौदा अध्ययन उपसंयोजक बनेका छन् ।

यसअघि सूचना प्रविधि विज्ञका रूपमा सहसचिव सरहको सेवा सुविधा पाउने गरी नियुक्त गरिएका सचिवालय सदस्य माधव खनाललाई भने हटाइएको छ । उनको नाम प्रधानमन्त्रीको सचिवालय सदस्यको सूचीमा छैन ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार हालसम्मको कामको समीक्षा गरेर जिम्मेवारी हेरफेर गरिएको हो । ‘प्रधानमन्त्रीको जिम्मेवारी लिनुभएयताको सचिवालयका सदस्यहरूको पर्फर्मेन्सको आधारमा नयाँ जिम्मेवारी तोकिएको हो । यसमा ठूलो परिवर्तन छैन, केहीलाई जिम्मेवारी थपेर बढुवा गरिएको छ भने केहीलाई बढी भएको जिम्मेवारीबाट मुक्त गरिएको छ’, ती सदस्यले भने, ‘सचिवालयमा कामका आधारमा जिम्मेवारी हेरफेर सामान्य हो ।’

प्रधानमन्त्रीको मुख्य सल्लाहकार कुमार व्यञ्जनकार ‘बेन’ नै कायम छन् । उनी मन्त्री सहरको सल्लाहकार भए पनि अवैतनिक हुन् । राजनीतिक सल्लाहकारमा असिम शाह यथावत छन् । त्यस्तै, मन्त्री सरहकै स्वास्थ्य सल्लाहकारमा प्राडा जगदीशप्रसाद अग्रवाल कार्यरत छन् । उनी पनि अवैतनिक हुन् ।

राज्यमन्त्रीसरहको सल्लाहकारमा सुदीप ढकाल र विवेक मिश्र छन् । उनीहरू क्रमशः नीति, प्रशासन तथा सुशासन सल्लाहकार र सूचना तथा सञ्‍चार प्रविधि सल्लाहकार हुन् । प्रमुख स्वकीय सचिवमा सुवास शर्मा र स्वकीय सचिवमा नवीन भण्डारी यथावत छन् ।

चार जनालाई सचिवालयमा अधिकृत सरहको पदमा राखिएको छ । जसमा सुरेन्द्र बजगाईं प्रेस सहजकर्ता, रोशन तामाङ ग्राफिक्स डिजाइनर, बेदानन्द जोशी मिडिया व्यवस्थापन र हेमनारायण चौधरीलाई कृषि क्षेत्र समन्वयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्रीको सचिवालयमा नायब सुब्बा सरहको जिम्मेवारीमा अनुप थापामगर, ऋषि थापा, अमृत पाण्डे, राजकुमार गौतम र बेनिस कार्की रहेका छन् ।

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधिअनुसार प्रधानमन्त्रीले सचिवालयमा ४८ जनासम्म नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ । तर हाल प्रधानमन्त्री शाहको सचिवालयमा २६ जना मात्र कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!