काठमाडौं । निरुता सिंह र उत्तम प्रधानको पुनरागमन सुखद देखिएको छ । यी दुईको शीर्ष भूमिका रहेको फिल्म ‘सारथी हेरेका दर्शकले सकारात्मक प्रतिक्रिया दिएको अभिनेता गिरी विश्वकर्माले कोलिग्राम पोस्टलाई जानकारी दिए ।
रिलिजको बेला शोज संख्या कम भएपनि फिल्म हेरेका दर्शकले उत्साहजनक प्रतिक्रिया दिएको जानकारी उनले दिए । ‘शोज संख्या कम भएपनि भएका शोजमा फिल्म हेरेका दर्शकले पजेटिभ फिडब्याक दिनुभएको छ’ उनले भने ।
पहिलो सप्ताहन्तलाई लिएर आफूहरू उत्साहित रहेको जानकारी पनि उनले दिए । रिलिज भएदेखि नै कलाकार र क्रूलाई दर्शकमाझ भलाकुसारी गर्ने र प्रतिक्रिया लिने चटारो छ ।
अभिनेता गिरीसहित अभिनेत्री निरुता सिंह, उत्तम प्रधान, अभिनेत्री गायत्री जोशीसहित अन्य क्रू हल हलमा पुगेर दर्शकलाई भेटिरहेका छन् । शनिबार बिहान ललितपुरको क्यूएफएक्स हल लबिममा पुगेर कलाकारले दर्शकको प्रतिक्रिया बुझेका थिए ।
कुमार गुजरेल निर्देशित फिल्मले आमा छोराको मर्मस्पर्शी त्याग, समर्पण र प्रेमको कथा भन्छ । यो फिल्मबाट निरुता र उत्तम दुई दशकपछि एकसाथ फर्किएका हुन् । गिरी र गायत्रीको यो डेब्यू फिल्म हो ।
गुर्जामा विशेष प्रदर्शन गरिने
यो फिल्मलाई म्याग्दीको गुर्जा गाउँमा विशेष प्रदर्शन गरिने भएको छ । यो फिल्मको लगभग अधिकांश छायांकन उक्त थलोमा गरिएको हो भने अधिकांश स्थानीय बासिन्दाले पनि अभिनय गरेका छन् ।
गिरी सोही गाउँका बासिन्दा हुन् । उनका अनुसार, चाँडै यो फिल्मलाई गाउँमा प्रदर्शन गरिने भएको छ । ‘जतिसक्दो चाँडो गुर्जा गाउँमा प्रदर्शन तयारी छ’ उनले भने ।
गुर्जाकै कथा र परिवेश भएकाले पनि यो फिल्म स्थानीय बासिन्दाका लागि महत्वपूर्ण हुने पक्का छ । साथै, फिल्मले त्यहाँको फिल्म पर्यटनमा प्रवर्धन हुने अपेक्षा छ ।