Paywear Banner Desktop
Paywear Banner Desktop

एक लाख ३० हजार यात्रुले लिए दशैंको अग्रिम टिकट, उपत्यका छाड्नेको घुइँचो (तस्वीर)

घटस्थापना सुरु भएदेखि हालसम्म सार्वजनिक सवारीसाधनको प्रयोग गरेर एक लाख ८७ हजार ७७४ यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

काठमाडौँ । नेपालीको महान् पर्व बडादशैं नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् ।

काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किनेक्रम बढेको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले दसैँ मनाउनका लागि काठमाडौँका विभिन्न नाका हुँदै मङ्गलबार बिहानदेखि आज बिहानसम्म २४ घण्टामा ७८ हजार १३८ यात्रु बाहिरिएको जानकारी दिए ।

घटस्थापना सुरु भएदेखि हालसम्म सार्वजनिक सवारीसाधनको प्रयोग गरेर एक लाख ८७ हजार ७७४ यात्रु उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९ यात्रु बाहिरिएका छन् ।

काठमाडौँबाट दशैं मनाउनका लागि फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै यात्रु बाहिरिएका हुन् ।

दशैंका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सडक बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भइरहेको बताए ।

“दशैंको मुखमा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुग्न तथा काठमाडौँ आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ”, उनले भने ।

असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भाँसिदा सवारीसाधन आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमा रोकिँदा समस्या भएको थियो ।

हालसम्म एक लाख ३० हजार १२९ यात्रुले दसैँका लागि अग्रिम टिकट बुकिङ लिएका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७ र असोज २७ गते १५ हजार ५५३ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् ।

यातायात महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ ।

दशैंले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस चाडपर्व मनाउन घर फर्किनेक्रम हरेक वर्ष बढ्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!