काठमाडौं । विश्व बैंकको एक नयाँ प्रतिवेदनले नेपालको तापक्रम अन्य दक्षिण एसियाली मुलुकभन्दा तीव्ररुपमा वृद्धि भैरहेको जनाएको छ ।
विश्व बैंकको सन् २०२६ को प्रतिवेदन ‘अ लाइभेबल फ्युचरः प्रोटेक्टिङ जब्स एन्ड ग्रोथ फ्रम एक्सट्रिम हिट इन साउथ एसियाज सिटिज’ ले दक्षिण एसियामा अन्य मुलुकको दाँजोमा नेपालको तापक्रम तीव्र गतिमा बढिरहेको जनाएको हो ।
उक्त प्रतिवेदनका अनुसार नेपालको औसत तापक्रम पूर्वऔद्योगिककाल (सन् १८५०-१९००) को दाँजोमा १.२६ डिग्री सेल्सियसले बढिसकेको छ ।
बढ्दो गर्मीले नेपाललाई यस क्षेत्रकै तीव्र गतिमा तात्दै गएका मुलुकहरूको सूचीमा उभ्याएको उल्लेख छ । अवस्था यस्तै कायम रहेमा यो शताब्दीको अन्त्यसम्ममा यहाँको तापक्रम थप २.८ डिग्री सेल्सियसले बढ्ने प्रक्षेपण गरिएको छ ।
तापक्रम वृद्धिको यो असर विशेष गरी हिमालयन क्षेत्र र तल्लो पहाडी भेगमा अझ बढी देखिनेछ । उकालो लाग्दो तापक्रमले क्षेत्रीय मौसमी चक्रमा हेरफेर ल्याउने, हावामा आद्रता बढाउने र सिन्धु-गंगाको मैदानी भूभागमा अत्यधिक गर्मी बढाउने अपेक्षा गरिएको छ ।
अहिलेसम्म तराईको तुलनामा काठमाडौंमा थोरै दिनमात्रै अत्यधिक गर्मी हुने गर्छ । तर दक्षिण एसियाका उच्च उचाइमा रहेका सहरहरूले पनि भविष्यमा खतरनाक स्तरको तातो लहर (हिट स्ट्रेस) को सामना गर्नुपर्ने चेतावनी प्रतिवेदनले दिएको छ ।
विश्व बैंकका अनुसार अत्यधिक गर्मीले विशेषगरी निर्माण, कृषि र अनौपचारिक क्षेत्रमा शारीरिक श्रम गर्ने श्रमिकहरूको कार्यक्षमता घटाउँदै लगेको छ । जसले नेपालको आर्थिक उत्पादकत्वमा क्रमशः ह्रास ल्याइरहेको छ । बढ्दो तापक्रमले बिजुलीको माग बढाउनुका साथै भवनहरू तताउने र यातायात प्रणालीमा समेत अवरोध पुर्याइरहेको छ ।
प्रतिवेदनको अनुमानअनुसार भारत, बंगलादेश र नेपालका ७० करोडभन्दा बढी मानिस यस्ता क्षेत्रमा बसोबास गर्छन्, जहाँ वर्षमा कम्तीमा एक दिन बाहिरी वातावरणको तातो लहर शरीरले सहनै नसक्ने सीमामा पुग्छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार मानव शरीरको भित्री तापक्रम करिब ३७ डिग्री सेल्सियस हुन्छ । शारीरिक गतिविधिले शरीरमा गर्मी उत्पन्न गर्छ भने पसिना आउने र छालानजिकका नशाहरू फैलिने प्रक्रियाले शरीरलाई चिसो राख्न सघाउँछ । तर उच्च तापक्रम भएको हावा, अत्यधिक आद्रता र घाम वा तातो सतहमा हुने लामो समयसम्मको सम्पर्कले शरीरको तापक्रम ताप विसर्जन गर्ने क्षमतालाई कमजोर बनाउँछ ।
प्रतिवेदनअनुसार सन् २०७० सम्ममा दक्षिण एसियाका करिब ५२ करोड मानिसले प्रत्येक वर्ष कम्तीमा एक महिना भयावह गर्मीको सामना गर्नेछन् । यसको अधिकांश प्रभाव सहरहरूमा केन्द्रित हुनेछ । हिमालय र तिनका फेदीहरूमा पनि तीव्र गतिमा तापक्रम बढ्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, प्रतिवेदनले चरम गर्मीको समयमा ग्रिडको स्तरोन्नति, ब्याट्री स्टोरेजसहितको नवीकरणीय ऊर्जा वितरण, अति आवश्यक सेवाहरूका लागि उच्च प्राथमिकतामा राखेर विद्युत् आपूर्ति सुनिश्चितलगायत कार्यमार्फत् नेपालको विद्युत् सञ्जाललाई थप बलियो बनाउन पनि सिफारिस गरेको छ ।
तराई र काठमाडौं उपत्यकामा ओत लाग्न मिल्ने बस स्टपहरू, चिसो फुटपाथहरू, रूखले घेरिएका सडकहरू तथा पैदलयात्री र साइकल चालकका लागि सुधारिएको पूर्वाधारजस्ता कम लागतका उपायहरू अपनाएर पनि गर्मीको जोखिम कम गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।