Paywear Banner Desktop
Paywear Banner Mobile

सन् २०२६ का सबैभन्दा कमजोर २०० पासवर्ड सार्वजनिक, ‘१२३४५६’ पहिलो स्थानमा

काठमाडौं । इन्टरनेटमा विभिन्न सेवा प्रयोग गर्न हामीले अनेकौँ खाता र पासवर्ड बनाएका हुन्छौँ। तर, तीमध्ये धेरै पासवर्ड पर्याप्त सुरक्षित नहुन सक्छन्। कतिपयले अझै पनि सजिलै अनुमान गर्न सकिने सामान्य शब्द र अंकलाई पासवर्डका रूपमा प्रयोग गरिरहेका छन्।

सन् २०२६ मा सार्वजनिक भएको विश्वका सबैभन्दा कमजोर पासवर्डको सूचीले पनि यही तथ्य देखाएको छ।

पासवर्ड व्यवस्थापन सेवा नर्डपासले विश्वभर सबैभन्दा धेरै प्रयोग हुने २०० पासवर्डको सूची सार्वजनिक गरेको छ। सामान्यतया धेरै प्रयोग हुने पासवर्ड नै सजिलै अनुमान गर्न सकिने भएकाले यी पासवर्डलाई सबैभन्दा कमजोर पासवर्डका रूपमा पनि हेरिएको छ।

सूचीमा बारम्बार दोहोरिएको एउटा शब्द हो, ‘पासवर्ड’। अंग्रेजीको ‘password’ मात्र होइन, फ्रान्सेली भाषाको ‘motdepasse’ र स्पेनी भाषाको ‘contraseña’ समेत सूचीमा परेका छन्।

अंग्रेजी शब्द ‘password’ सूचीको सातौँ स्थानमा छ। विभिन्न देशबाट एक लाख होइन, १० लाखभन्दा बढी पटक यो पासवर्ड प्रयोग भएको पाइएको छ।

सूचीको पहिलो स्थानमा भने ‘123456’ रहेको छ। विश्वभर यो पासवर्ड ७२ लाख पटक प्रयोग भएको पाइएको छ। दोस्रो तथा तेस्रोदेखि छैटौँ स्थानसम्म पनि क्रमिक रूपमा राखिएका अंकहरू नै रहेका छन्।

अस्ट्रेलियामा पनि ‘123456’ सबैभन्दा कमजोर तथा धेरै प्रयोग भएको पासवर्डका रूपमा देखिएको छ। त्यहाँ कम्तीमा १४ हजार पटक यो पासवर्ड प्रयोग भएको पाइएको छ। सानो अक्षरबाट सुरु हुने ‘password’ र ठूलो अक्षरबाट सुरु हुने ‘Password’ पनि अस्ट्रेलियामा सबैभन्दा बढी प्रयोग हुने पाँच पासवर्डभित्र परेका छन्।

विश्वभरका प्रयोगकर्ताले पासवर्डलाई केही सुरक्षित बनाउन ‘a’ को सट्टा ‘@’ र ‘o’ को सट्टा ‘0’ प्रयोग गर्ने गरेका छन्। विगतमा यस्ता परिवर्तनले पासवर्ड सुरक्षामा केही सुधार ल्याउन सक्ने मानिए पनि यसले मात्रै पर्याप्त सुरक्षा प्रदान गर्दैन।

पासवर्ड किन कमजोर भइरहेका छन् ?

समयसँगै पासवर्ड सुरक्षासम्बन्धी मापदण्ड परिवर्तन भएका छन्। अहिले पहिलेभन्दा लामो र जटिल पासवर्ड प्रयोग गर्नुपर्ने आवश्यकता छ। तर, यस्ता पासवर्ड सम्झन कठिन हुन्छ।

धेरै अनलाइन खाता भएका कारण प्रत्येकका लागि फरक पासवर्ड सम्झनु पनि चुनौतीपूर्ण हुन्छ। त्यसैले कतिपय प्रयोगकर्ताले थोरै पासवर्डलाई विभिन्न खातामा दोहोर्‍याएर प्रयोग गर्ने गरेका छन्।

तर, प्रत्येक सेवा र खाताका लागि छुट्टाछुट्टै पासवर्ड प्रयोग गर्नु आवश्यक हुन्छ। कुनै एउटा सेवा वा खाता ह्याक भएमा एउटै पासवर्ड प्रयोग गरिएका अन्य खातासमेत जोखिममा पर्न सक्छन्। पछिल्लो समय यस्ता सुरक्षा घटना बारम्बार भइरहेका छन्।
पासवर्ड सुरक्षित राख्ने उपाय के हुन् ?

पासवर्डलाई सुरक्षित बनाउन पासवर्ड म्यानेजर प्रयोग गर्न सकिन्छ। यसले जटिल पासवर्ड तयार गर्ने र सुरक्षित रूपमा भण्डारण गर्ने सुविधा दिन्छ।

आईफोन प्रयोगकर्ताले आफ्नो फोनमा रहेको ‘Passwords’ एप प्रयोग गर्न सक्छन्। यो एप म्याक र आईप्याडसँग पनि जोडिएर काम गर्छ।

एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि पासवर्ड व्यवस्थापन गर्ने आफ्नै प्रणाली उपलब्ध छ। यो विन्डोज र म्याकमा प्रयोग हुने क्रोम ब्राउजरसँग जोडिएर काम गर्छ।

पासवर्ड म्यानेजर प्रयोग गर्न असहज लाग्नेहरूका लागि अर्को उपाय पनि छ। एउटा जटिल पासवर्ड बनाएर त्यसमा सम्बन्धित सेवा वा खाताको पहिचान खुल्ने अक्षर थप्न सकिन्छ। यसरी प्रत्येक खाताका लागि फरक पासवर्ड बनाउन सकिन्छ।

पासवर्डभन्दा अगाडिको अर्को सुरक्षा प्रविधि ‘पासकी’ पनि हो। तर, सबै अनलाइन सेवा र प्लेटफर्मले यो प्रविधिलाई समर्थन गरिसकेका छैनन्।

त्यसैगरी, मल्टिफ्याक्टर अथेन्टिकेसन (बहु-तह प्रमाणीकरण) उपलब्ध भएका सबै खाता तथा सेवामा यसलाई सक्रिय राख्न सुझाव दिइएको छ। यसले पासवर्ड थाहा पाएको व्यक्तिलाई पनि थप प्रमाणीकरणबिना खातामा प्रवेश गर्न कठिन बनाउँछ।

बलियो पासवर्डको विकल्प नभए पनि बहु(तह प्रमाणीकरणले थप सुरक्षा प्रदान गर्छ। आफ्ना सबै पासवर्ड परिवर्तन गर्न समय लाग्ने अवस्थामा यसले खातालाई अतिरिक्त सुरक्षा दिन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!