काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
त्यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार भोलि बिहान उपत्यका तथा खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। देशका बाँकी तराई भूभागका थोरै स्थानमा समेत हुस्सु र कुहिरो लाग्न सक्ने अनुमान गरिएको छ।
हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।