काठमाडौँ । विपद् प्रतिकार्य क्षमता सुदृढ बनाउन अमेरिकाले नेपाललाई १५ करोड डलरभन्दा बढी मूल्यका हेलिकप्टर, ड्रोन र नदीमा चल्ने डुङ्गा उपलब्ध गराउने भएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार यी उपकरणको आपूर्ति आगामी वर्षदेखि सुरु हुनेछ।
नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख मिसन मेगन बोल्डिनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी नेपाल-अमेरिका साझेदारी र पछिल्लो बाढीपछि नेपालको पुनःस्थापनामा सहयोग पुर्याउन जारी अमेरिकी विपद् तयारी तथा प्रतिकार्य सहायताबारे छलफल गरेकी हुन्।
दूतावासले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार, बोल्डिनले विपद्मा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै बेपत्ता नेपाली सैनिकका परिवारप्रति समवेदना प्रकट गरेकी थिइन्।
अमेरिकाले उपलब्ध गराउने उपकरणले नेपालमा खोज तथा उद्धार, बिरामीको हवाई उद्धार र आपत्कालीन प्रतिकार्य क्षमता सुदृढ बनाउन सहयोग पुग्ने दूतावासले जनाएको छ।
दूतावासका अनुसार, गत वर्ष अमेरिकाले नेपाललाई ३ करोड ८० लाख डलर मूल्यका एम२८ स्काइट्रक विमान उपलब्ध गराएको थियो। ती विमान राहत तथा उद्धार कार्यमा प्रयोग हुँदै आएका छन्।