Paywear Banner Desktop
Paywear Banner Desktop

अमेरिकाद्वारा नेपालका पुरातात्विक तथा धार्मिक कलाकृति आयातमा प्रतिबन्ध

वासिङ्टन डीसी । अमेरिकाले नेपालका पुरातात्विक तथा मानवशास्त्रीय सामग्रीको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सांस्कृतिक सम्पदाको चोरी, तस्करी र लुटपाट नियन्त्रण गर्ने उद्देश्यले यो कदम चालिएको अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) ले बुधबार यस्तो घोषणा गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले पनि यसबारे जानकारी गराएको छ ।

अगस्ट १२ देखि लागू भएको यो प्रतिबन्धले ईसापूर्व करिब ३२,००० देखि १७७० ईस्वीसम्मका पुरातात्विक सामग्री र १३ औं शताब्दीदेखि १९५० सम्मका मानवशास्त्रीय वस्तुहरू समेटेको छ। यो नियम अमेरिका र नेपालबीच जनवरी ८ मा भएको द्विपक्षीय सांस्कृतिक-सम्पदा सम्झौतापछि आएको हो । नवीकरण नगरिएसम्म जनवरी ८, २०३१ सम्म लागू रहनेछ ।

यस नियमअन्तर्गत, आयातकर्ताले सङ्घीय सांस्कृतिक सम्पदा कानुन र सीबीपी नियमहरूअन्तर्गतका कागजी प्रक्रिया र अन्य भन्सार आवश्यकता पूरा नगरेसम्म तोकिएका वस्तुलाई अमेरिका लैजान पाउने छैनन्। सीबीपीले आफ्नो नियमावली संशोधन गर्दै सांस्कृतिक सम्पदा आयातमा प्रतिबन्ध लगाउने द्विपक्षीय सम्झौता भएका देशहरूको सूचीमा नेपाललाई थपेको छ।

यो कारबाही सांस्कृतिक सम्पदाको अवैध आयात, निर्यात र स्वामित्व हस्तान्तरण रोक्ने १९७० को युनेस्को अभिसन्धिलाई कार्यान्वयन गर्ने अमेरिकी कानुन ‘सांस्कृतिक सम्पदा कार्यान्वयन ऐन’ अन्तर्गत गरिएको हो।

प्रतिबन्धित सूचीमा ढुङ्गा, माटोका भाँडा (सिरामिक्स), धातु, काठ, काँच, हात्तीको दाँत, हड्डी, छाला, कागज र अन्य जैविक सामग्रीबाट बनेका पुरातात्विक वस्तु समावेश छन्। यसबाहेक नियोजित रूपमा परिमार्जन गरिएका वा सांस्कृतिक तथा ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिएका मानव अवशेषलाई पनि यसमा समेटिएको छ।

सूचीकृत वस्तुहरूमा प्राचीन तथा ऐतिहासिक मूर्तिहरू, धार्मिक प्रतिमाहरू, सिक्का, हतियार, औजार, वास्तुकलाका टुक्राहरू, अनुष्ठानका भाँडाहरू, पाण्डुलिपिहरू, चित्रकला, गहना र दाहसंस्कारसँग सम्बन्धित सामग्री छन्।

नेपालका हिन्दू र बौद्ध परम्परासँग सम्बन्धित वस्तुलाई विशेष रूपमा पहिचान गरेको छ। जसमा पौभा, थ्याङ्का, ढुङ्गा र धातुका मूर्ति, मन्दिरका गहना, पूजाका सामान, धार्मिक ग्रन्थहरू र काठका कुँदिएका वास्तुकलाका संरचना समावेश छन्।

यसमा नेपालका विशिष्ट सांस्कृतिक वस्तुहरू जस्तै ढुङ्गेधारा, तोरण, ढोका र टुँडाल अड्याउन प्रयोग गरिने काठका कुँदिएका थाम पनि समावेश छन्।

मानवशास्त्रीय वस्तुको सूचीले गैर(औद्योगिक वा हातले बनाइएका धार्मिक वास्तुकलाका तत्त्वहरू, धार्मिक तथा सांस्कृतिक वस्तुहरू र १३ औं शताब्दीदेखि १९५० सम्मका पाण्डुलिपिहरूमा जोड दिएको छ।

मन्त्रालयको निष्कर्षअनुसार नेपालको सांस्कृतिक सम्पदा चोरी र लुटपाटको जोखिममा थियो । नेपालले आफ्नो सम्पदा संरक्षणका लागि युनेस्को अभिसन्धिअनुरूप कदम चालेको थियो । अमेरिकी आयात प्रतिबन्धले गम्भीर लुटपाट रोक्न ठूलो सहयोग पुर्याउनेछ र यी प्रतिबन्ध वैज्ञानिक, सांस्कृतिक तथा शैक्षिक उद्देश्यका लागि हुने अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान अनुकूल छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!