Paywear Banner Desktop
Paywear Banner Mobile

बेलायतका ७ लाख महिलामाथि एआईमार्फत स्तन क्यान्सर छिटो पत्ता लगाउन परीक्षण हुँदै

काठमाडौं । स्तन क्यान्सरको प्रारम्भिक पहिचानमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग कति प्रभावकारी हुन्छ भन्ने परीक्षण गर्न बेलायतमा विश्वकै ठूलो अध्ययन सुरु भएको छ।

बेलायतभरका करिब ७ लाख महिलालाई सहभागी गराउने लक्ष्यसहित सुरु गरिएको परीक्षणमा स्तनको एक्सरे (म्यामोग्राम) परीक्षणका तस्बिर विश्लेषण गर्न एआई प्रयोग गरिनेछ। यसबाट क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाउन सकिन्छ कि सकिँदैन र स्वास्थ्यकर्मीको कार्यभार घटाउन मद्दत पुग्छ कि पुग्दैन भन्ने अध्ययन गरिनेछ। साथै, आवश्यकताभन्दा बढी क्यान्सर पहिचान हुने समस्या (ओभरडायग्नोसिस) नहोस् भन्नेमा पनि अनुसन्धानकर्ताले ध्यान दिएका छन्।

ईडीआईटीएच नाम दिइएको यो परीक्षणका लागि क्याम्ब्रिज युनिभर्सिटी हस्पिटल्समा सहभागी छनोट सुरु भइसकेको छ। यो बेलायतभरका ३० परीक्षणस्थलमध्ये पहिलो हो।

बेलायतमा ५० देखि ७१ वर्ष उमेर समूहका महिलालाई प्रत्येक तीन वर्षमा नियमित स्तन क्यान्सर परीक्षणका लागि बोलाइन्छ। हरेक वर्ष २० लाखभन्दा बढी महिला यस्तो परीक्षणमा सहभागी हुन्छन्।

हाल एनएचएसका दुई विशेषज्ञले प्रत्येक म्यामोग्राम तस्बिरको अध्ययन गर्छन्। तर, नयाँ परीक्षणमा दुईमध्ये एक विशेषज्ञको स्थान एआईले लिनेछ।

यसअघि गरिएका केही साना अध्ययनले एआईको प्रयोगबाट स्तन क्यान्सर पहिचान दर बढाउन सकिने देखाएका छन्। तर, यसले अनावश्यक रूपमा महिलालाई थप परीक्षणका लागि बोलाउने वा हानि पुर्‍याउने जोखिम छ कि छैन भन्ने सुनिश्चित गर्न आवश्यक रहेको अनुसन्धानकर्ताहरूको भनाइ छ।

वारविक विश्वविद्यालयकी जनस्वास्थ्य विषयकी प्राध्यापक तथा परीक्षणकी सहप्रमुख अनुसन्धानकर्ता सियान टेलर(फिलिप्सले एआईको सहयोगबाट क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाउन सकिने सम्भावना रहेको बताइन्।

उनले भनिन्, ‘एआई सहयोगी प्रविधिले क्यान्सरको प्रारम्भिक पहिचान सुधार्न मद्दत गर्न सक्छ। तर, कहिल्यै लक्षण नदेखिने हल्का प्रकृतिको रोगलाई पनि क्यान्सरका रूपमा पहिचान गर्ने अवस्थाबाट बच्न चाहन्छौं।’

बेलायतमा महिलामा देखिने क्यान्सरमध्ये स्तन क्यान्सर सबैभन्दा सामान्य हो। त्यहाँ हरेक वर्ष करिब ५९ हजार महिलामा स्तन क्यान्सर पहिचान हुने गरेको छ।

क्याम्ब्रिज विश्वविद्यालयको रेडियोलोजी विभागकी प्राध्यापक, एडेनब्रुक्स अस्पतालकी मानार्थ परामर्शदाता तथा परीक्षणकी सहप्रमुख अनुसन्धानकर्ता फियोना गिल्बर्टले हरेक वर्ष लाखौं महिलाको म्यामोग्राम गरिने र तीमध्ये एक प्रतिशतभन्दा कममा मात्रै क्यान्सर देखिने बताइन्।

उनले भनिन्, ‘प्रविधिको प्रयोगले यी तस्बिरको समीक्षा अझ प्रभावकारी बनाउन सक्छ। यसबाट स्तन रेडियोलोजी विशेषज्ञले क्यान्सर भएका बिरामीको हेरचाहमा बढी समय दिन पाउनेछन्। यसले छिटो निदान र प्रारम्भिक उपचारमा सहयोग पुर्‍याउन सक्छ।’

बीबीसीसँगको कुराकानीमा गिल्बर्टले रेडियोलोजिस्टको ठूलो अभाव रहेको र इमेजिङ परीक्षणको संख्या हरेक वर्ष आठ प्रतिशतले बढिरहेको बताइन्।
नियमित परीक्षणले बचायो ज्यान
क्याम्ब्रिजसायरकी ७० वर्षीया शर्ली एसेक्सलाई एक वर्षअघि नियमित स्तन क्यान्सर परीक्षणका क्रममा प्रारम्भिक चरणको क्यान्सर पहिचान भएको थियो।

उनको शल्यक्रिया र रेडियोथेरापी गरिएको थियो। तर, केमोथेरापी गर्नुपर्ने अवस्था आएन।

बीबीसीसँग कुरा गर्दै उनले नियमित म्यामोग्रामले आफ्नो ज्यान बचाएको बताइन्।

उनले भनिन्, ‘मलाई कुनै लक्षण थिएन। त्यसैले क्यान्सर भएको थाहा पाउँदा म निकै अचम्मित भएकी थिएँ।’

शर्ली यो अध्ययनमा सहभागी छैनन्। तर, उनी नियमित परीक्षणको महत्त्वबारे सचेत गराउँदै आएकी छन्।

उनले भनिन्, ‘मेरो क्यान्सर समयमै पत्ता लागेकामा आफूलाई भाग्यमानी ठान्छु। त्यो मेरो अन्तिम नियमित म्यामोग्राम थियो। यदि म परीक्षणमा नगएको भए क्यान्सर बढ्दै जाने थियो।’

कसरी काम गर्नेछ एआईले ?

नियमित स्तन क्यान्सर परीक्षणका लागि निमन्त्रणा पाउँदा महिलालाई यो अध्ययनबारे जानकारी दिइनेछ। तर, अध्ययनमा सहभागी हुन उनीहरू बाध्य हुने छैनन्।

यस परीक्षणले स्तन क्यान्सर परीक्षणका क्रममा हुने प्रक्रियामा कुनै परिवर्तन गर्ने छैन। बरु, म्यामोग्रामका तस्बिर अध्ययन गर्ने दुईमध्ये एक मानव विशेषज्ञको स्थान एआईले लिन सक्छ कि सक्दैन भन्ने परीक्षण गरिनेछ।

अनुसन्धानकर्ताका अनुसार मेसिन लर्निङ सफ्टवेयरलाई विगतका लाखौं तस्बिरबाट तालिम दिन सकिन्छ। त्यसले तस्बिरमा रहेका ढाँचाको विश्लेषण गरेर मानव आँखाले छुटाउन सक्ने स्तनको तन्तुमा भएका सूक्ष्म परिवर्तनसमेत पहिचान गर्न सक्ने सम्भावना छ।

परीक्षणको एउटा समूहमा एआईले तस्बिरलाई वर्गीकरण गरेपछि एनएचएसका विशेषज्ञकहाँ पठाइनेछ। अर्को समूहमा भने विशेषज्ञले तस्बिर हेरेपछि एआईले त्यसको समीक्षा गर्नेछ।

एक करोड १० लाख पाउन्ड ९११ मिलियन पाउन्ड० लागतको यो परीक्षणलाई नेसनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर रिसर्च ९एनआईएचआर० ले आर्थिक सहयोग गरेको छ।

वारविक विश्वविद्यालय, क्याम्ब्रिज विश्वविद्यालय र क्याम्ब्रिज युनिभर्सिटी हस्पिटल्स एनएचएस फाउन्डेसन ट्रस्टको नेतृत्वमा एनएचएस इंग्ल्यान्डसँगको सहकार्यमा यो अध्ययन भइरहेको छ।

एआईमा ठूलो सम्भावना : बेलायती स्वास्थ्यमन्त्री

एडेनब्रुक्स अस्पतालको स्तन क्यान्सर परीक्षण इकाइको भ्रमणका क्रममा बेलायतकी स्वास्थ्यमन्त्री यभेट कुपरले एआईबाट उपचार प्रणालीमा सुधार ल्याउन ठूलो सम्भावना रहेको बताइन्।

उनले बीबीसीसँग भनिन्, ‘उपचारमा सुधार ल्याउन एआईमा ठूलो सम्भावना छ। त्यसैले यसको प्रभावकारी प्रयोग र उचित सुरक्षा सुनिश्चित गर्न यस्ता परीक्षण आवश्यक छन्।’

एनएचएस इंग्ल्यान्डका क्यान्सरसम्बन्धी राष्ट्रिय क्लिनिकल निर्देशक प्राध्यापक पिटर जोन्सनले पनि स्तन क्यान्सर परीक्षणले ज्यान बचाउने बताउँदै अध्ययनमा सहभागी हुन निमन्त्रणा पाउने सबै महिलालाई आग्रह गरेका छन्।

उनले भने, ‘हरेक स्क्यान विशेषज्ञले हेर्नेछन्। परीक्षण प्रभावकारी प्रमाणित भएमा महिलाले आवश्यक निदान र उपचार अझ छिटो पाउन सक्नेछन्।’

यो परीक्षणमा चारवटा एआई कम्पनी सहभागी छन्। करिब तीन वर्षसम्म चल्ने अपेक्षा गरिएको यस अध्ययनले स्तन क्यान्सर पहिचानमा एआईको प्रभावकारिता र सुरक्षाबारे निष्कर्ष निकाल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!