Paywear Banner Desktop
Paywear Banner Desktop

स्थानीय निर्वाचनमा दलगत प्रभाव हटाउन उज्यालो नेपालको माग

काठमाडौं । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सञ्चालन गर्नुपर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेको छ ।

पार्टी अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गर्दै नागरिक सेवा, सुशासन र स्थानीय विकासमा केन्द्रित गर्न गैरदलीय निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने माग गरे ।

ज्ञापनपत्रमा स्थानीय तहको नेतृत्व चयन गर्दा दलगत प्रभावभन्दा उम्मेदवारको योग्यता, इमानदारी, कार्यक्षमता, कार्ययोजना र नागरिकप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने उल्लेख छ ।

पार्टीले गैरदलीय स्थानीय निर्वाचनको अवधारणा दलीय प्रणालीको विरोध नभएको स्पष्ट पारेको छ। स्थानीय सरकारको मुख्य जिम्मेवारी नागरिकप्रति उत्तरदायी भएर विकास निर्माण र जनसेवा गर्नु भएकाले त्यसलाई प्रभावकारी बनाउन गैरदलीय निर्वाचन प्रणाली उपयुक्त हुने पार्टीको धारणा छ ।

ज्ञापनपत्रमा स्थानीय तहको निर्वाचनमा दलीय प्रतिस्पर्धाका कारण स्थानीय मुद्दा ओझेलमा पर्न सक्ने, राजनीतिक ध्रुवीकरण बढ्न सक्ने तथा निर्वाचन खर्च र आर्थिक चलखेलको जोखिम बढ्न सक्ने उल्लेख छ । त्यसैले गैरदलीय निर्वाचन प्रणालीको सम्भाव्यता अध्ययन गरी आवश्यक नीतिगत तथा कानुनी सुधार अघि बढाउन निर्वाचन आयोगसँग आग्रह गरिएको छ ।

उज्यालो नेपालले गैरदलीय निर्वाचनको उद्देश्य नागरिकको राजनीतिक स्वतन्त्रता सीमित गर्नु नभई स्थानीय नेतृत्व चयनमा दलगत प्रभाव कम गर्दै सक्षम, इमानदार र जवाफदेही नेतृत्व स्थापित गर्नु रहेको जनाएको छ ।

पार्टीले वैदेशिक रोजगारी, अध्ययन, व्यवसायलगायत प्रयोजनका लागि विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्नसमेत माग गरेको छ ।

यसका लागि मतदाता नामावलीमा दर्ता तथा अद्यावधिक, सुरक्षित र विश्वसनीय मतदान विधि तथा आवश्यक कानुनी, प्राविधिक र संस्थागत पूर्वाधारको तयारी तत्काल अघि बढाउनुपर्ने पार्टीको माग छ ।

ज्ञापनपत्रमा गैरदलीय स्थानीय निर्वाचनको विषय सार्वजनिक बहस र राजनीतिक प्रतिबद्धताका रूपमा अघि आइसकेको भन्दै त्यसलाई अब नीतिगत निर्णय र कार्यान्वयनको प्रक्रियामा लैजानुपर्नेमा जोड दिइएको छ ।

संविधानको धारा २४६ अन्तर्गत निर्वाचन आयोगलाई प्राप्त संवैधानिक जिम्मेवारीलाई समेत ध्यानमा राख्दै निर्वाचन प्रणाली सुधार तथा विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न आयोगले आवश्यक अध्ययन, सरोकारवालासँग परामर्श, सम्बन्धित निकायसँग समन्वय र नीतिगत सिफारिस गर्नुपर्ने पार्टीको माग छ ।

उज्यालो नेपालले आगामी स्थानीय तहको निर्वाचनअघि नै गैरदलीय निर्वाचन प्रणालीसम्बन्धी आवश्यक अध्ययन, कानुनी संशोधन र कार्यान्वयनका लागि समयबद्ध कार्ययोजना बनाउन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!